विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

नक्कली ईयु नागरिक बनेर फिनल्यान्ड आएका पाँच नेपाली पक्राउ

नक्कली कागजातसहित फिनल्यान्ड हुँदै युरोप छिर्न खोज्ने पाँच नेपाली पक्राउ। एक जनालाई १ वर्ष ८ महिनाको जेल सजाय सुनाइयो।

संक्षेपमा


  • नक्कली लात्भियन कागजातमा फिनल्यान्ड आएका पाँच नेपाली पक्राउ।
  • हेलसिन्कीमा पक्राउ परेका एक नेपालीलाई जेल सजाय।
  • मानव तस्करीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेको आशंका।

फिनल्यान्डको सीमा सुरक्षा बलले पाँच नेपाली नागरिकहरू जोडिएको मानव तस्करीको प्रारम्भिक अनुसन्धान पूरा गरेको जनाएको छ। बलका अनुसार यो घटनामा नक्कली ईयु यात्रा कागजात/’ट्राभल डकुमेन्ट’ प्रयोग गरी फिनल्यान्ड हुँदै स्विडेन जान लागेका नेपालीहरू पक्राउ परेका हुन्।

पाँच जना नेपाली युरोपियन मुलुक लात्भियाको नक्कली यात्रा कागजात बोकेर नेपालबाट कतार हुँदै फिनल्यान्ड आएका थिए। उनीहरूको मुख्य उद्देश्य स्विडेन पुगेर त्यहाँबाट अन्य युरोपेली देशहरूमा जाने थियो।

सीमा सुरक्षा बलका अनुसार सबै जना एउटै उडानबाट फिनल्यान्ड आइपुगेका थिए। जसमध्ये दुई जनालाई हेलसिन्की-भान्ता विमानस्थलमा सीमा जाँचको क्रममा पक्राउ गरिएको थियो।

बाँकी तीन जना भने हेलसिन्कीको इमिग्रेसन पार गरेर स्विडेन जान सफल भएका थिए। यद्यपी उनीहरू पनि उम्कन भने पाएनन्। उनीहरूलाई सोही दिन फिनल्यान्ड र स्विडेनका अधिकारीहरुको समन्वयमा स्टकहोमको आर्लान्डा विमानस्थलमा पक्राउ गरिएको थियो।

स्विडेनमा पक्राउ परेका तीनजना स्विडेनमै छन्, फिनल्यान्डमा छन् वा नेपाल फिर्ता पठाइयो भन्ने बारे सीमा सुरक्षा बलको विज्ञप्तिमा खुलाइएको छैन

विज्ञापन
विज्ञापन सकियो

घटनाबारे जानकार एक स्रोतले नेपालीलाइनेनलाई बताए अनुसार तीन जनालाई नेपाल फिर्ता पठाइएको छ। यसको आधिकारिक पुष्टी हुन भने बाँकी छ।

परीक्षणका क्रममा उनीहरू सबैको यात्रा कागजात नक्कली भएको पुष्टि भएको थियो। हेलसिन्की-भान्तामा पक्राउ परेका मध्ये एक नेपालीलाई पूर्वी-उसिमा जिल्ला अदालतले १ वर्ष ८ महिनाको जेल सजाय सुनाइसकेको छ।

घटनाको अनुसन्धान युरोपोल र अन्य युरोपेली अधिकारीहरूसँग मिलेर गरिएको थियो। अनुसन्धानका क्रममा यो अन्तर्राष्ट्रिय संगठित अपराध भएको संकेत मिलेको छ।

अनुसन्धानको क्रममा जर्मनीका अधिकारीहरूले जर्मनीमै बस्ने एक लात्भियन नागरिकलाई पक्राउ गरेका छन्। उनी यो अपराधमा संलग्न भएको आशंका गरिएको छ र मुद्दा अघि बढाइएको छ।

यही अपराधी नेटवर्कले घटना पछिको अर्को हप्ता पनि यस्तै अवैध प्रवेश गराउने प्रयास गरेको थियो। तर सीमा रक्षा विभागले त्यसलाई सफल हुन दिएको थिएन।

युरोपमा मानव तस्करी र अवैध सीमा पार गर्ने कार्यलाई अत्यन्तै गम्भीर अपराध मानिन्छ। फिनल्यान्ड र स्विडेन जस्ता सेन्जेन क्षेत्रका देशहरूमा बलियो प्राविधिक सीमा सुरक्षा भए पनि अन्तर्राष्ट्रिय गिरोहले आप्रवासीहरूलाई ठूलो रकम असुलेर नक्कली कागजातमा युरोप छिराउने प्रयास गरिरहन्छन्।

नक्कली कागजातसहित यात्रा गर्दा पक्राउ पर्ने व्यक्तिलाई कडा जेल सजाय हुनुका साथै भविष्यमा युरोप प्रवेशमा लामो समयको प्रतिबन्ध लाग्ने गर्दछ।

थप गरिएकोः नेपाल फिर्ता गरिएको बारे स्रोतले दिएको जानकारी।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप