संक्षेपमा
- एभियन र भोसलाई पछि पार्दै भेल्लामो बन्यो विश्वकै उत्कृष्ट पानी।
- हेइनोलाको मुहानबाट निकालिएको १० हजार वर्ष पुरानो पानी।
- प्रतिलिटर मूल्य ५ देखि १० युरोसम्म।
नेपालमा हिमालयको र त्यसमा पनि सगरमाथाको पानी ब्रान्डिङ्ग गरेर बेच्ने भन्ने कुरा त सायद तपाईंले सुन्नुभएकै होला। यता फिनल्यान्डमा भने १० हजार वर्षभन्दा पुरानो हिमयुगको पानीको त्यस्तै सफलतापूर्वक ब्रान्डिङ गरिएको छ।
त्यतिमात्र हैन फिनल्यान्डको लक्जरी पानी ब्रान्ड भेल्लामोको स्पार्क्लिङ (ग्यासयुक्त) पानी विश्वकै उत्कृष्ट छानिएको छ।
टेस्टिङबुकले गरेको ‘ब्लाइन्ड टेस्ट’मा भेल्लामोले पहिलो स्थान हासिल गरेको हो।
फिनल्यान्डको हेइनोलास्थित भिकिनाइनेनमा रहेको प्राकृतिक मिनरल वाटरको मुहानबाट यो पानी निकालिन्छ। यही फिनिस पानीले विश्वप्रसिद्ध पानी ब्रान्डहरू एभियन, भोस र सान पेलेग्रिनोलाई पछि पारेको हो।
जम्मा १४ वटा प्रिमियम पानी समावेश उक्त परीक्षणमा जर्मनीको नेभास वाटर दोस्रो भयो। त्यसैगरी नर्वेको भोसले तेस्रो स्थान हासिल गर्यो।
कस्तो पानी हो भेल्लामो?
आइस एज वाटर कम्पनीको उत्पादन भेल्लामो पानी १० हजार वर्षभन्दा पुरानो हिमयुगको भएको बताइएको छ। पानीको स्वाद नरम र उत्कृष्ट हुनुका साथै यसको सिसाको बोतलको डिजाइनले पनि निर्णायकहरूको मन जितेको हो।
भेल्लामो पानी विशेषगरी अन्तर्राष्ट्रिय लक्जरी बजारलाई लक्षित गरी उत्पादन गरिन्छ। यो अमेरिका, एसिया र मध्यपूर्वका देशहरूमा निकै लोकप्रिय छ। यो पानी अमेरिकामा मात्रै वार्षिक करिव ४० लाख बोतल निर्यात गरिन्छ।
गत वर्षदेखि यसले फर्मुला वान टोली हाससँग बहुवर्षीय सम्झौता पनि गरेको छ। फिनल्यान्डमा भने यो पानी के-मार्केट र अल्कोजस्ता केही सीमित पसलहरूमा मात्र पाइन्छ।
फिनल्यान्डमा यसको मूल्य प्रतिलिटर सामान्यतया ५ देखि १० युरोसम्म पर्छ। तर अन्तर्राष्ट्रिय लक्जरी रेस्टुरेन्ट र होटलहरूमा भने यसको मूल्य १० युरोभन्दा बढी पर्ने गर्छ।
फिनल्यान्डको पानी विश्वकै सबैभन्दा सफा र शुद्धमध्ये एक मानिन्छ। यहाँ धाराको पानी सिधै पिउन योग्य हुन्छ र यसको गुणस्तर बोतलको पानीभन्दा पनि राम्रो मानिन्छ। त्यसैले फिनल्यान्डमा बस्ने धेरैजसो मानिसहरू दैनिक प्रयोजनका लागि बोतलको पानी किन्दैनन्।
भेल्लामो जस्ता ब्रान्डहरूले फिनल्यान्डको यही प्राकृतिक शुद्धतालाई ‘लक्जरी’ उत्पादनको रूपमा विश्व बजारमा सफलतापूर्वक चिनाइरहेका छन्।
अनि, सगरमाथाको पानी यसैगरि संसारकै उत्कृष्ट कहिले बन्ला है!








