विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा मिड-समरको रौनक सुरुः मौसम न्यानो र घमाइलो, हेलसिन्की छाड्नेको चाप उच्च

यो वर्षको मिड-समर अर्थात् युहान्नुस न्यानो र घमाइलो हुने मौसमी पूर्वानुमान छ भने हेलसिन्कीबाट बाहिरिने सवारी साधनको चाप आज दिउँसो उच्च रहनेछ।

संक्षेपमा


  • सप्ताहान्तमा तापक्रम २५ डिग्रीसम्म पुग्ने अनुमान।
  • हेलसिन्कीबाट बाहिरिने सडकमा आज दिउँसो जामको सम्भावना।
  • सडक र जलमार्ग दुवैमा प्रहरीको कडा निगरानी।

फिनल्यान्डमा यो वर्षको मिड-समर अर्थात् युहान्नुस पर्वको रौनक सुरु भैसकेको छ। बिदा मनाउन जानेहरुको भिडले आज राजमार्गहरुमा सवारी साधनको ठूलो चाप रहने अधिकारीहरुले बताएका छन्।

मिड-समरको मौसम पनि निकै न्यानो र घमाइलो हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म फिनल्यान्डका अधिकांश भागमा मौसम सफा रहनेछ। सप्ताहान्तमा कतिपय स्थानमा तापक्रम २५ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ।

दिउँसोको अधिकतम तापक्रम सामान्यतया २० डिग्रीको आसपास रहनेछ। तर उत्तरी ल्यापल्यान्डमा भने तापक्रम १५ डिग्रीको हाराहारीमा हुनेछ।

हालैको वर्षाका कारण जंगलमा आगलागीको जोखिम रहने चेतावनी हटाइएको छ। तर दक्षिणी र पश्चिमी भागमा भने सूर्यको विकिरण (UV) कडा हुन सक्नेछ।

विज्ञापन
विज्ञापन सकियो

राजमार्गमा सवारी चाप उच्च

फिन-ट्राफिकका अनुसार मिड-समर मनाउन जानेहरुको सबैभन्दा धेरै चाप आज (बिहीबार) रहनेछ। दक्षिणी फिनल्यान्डमा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म ट्राफिक सबैभन्दा व्यस्त हुनेछ।

उत्तरी फिनल्यान्डमा भने राति अबेरसम्म नै सडकमा चाप कायम रहनेछ। भोली शुक्रबार बिहान पनि केही चाप हुनेछ तर दिउँसोदेखि सडकहरु शान्त हुनेछन्।

हेलसिन्की क्षेत्रमा भोली शुक्रबार सार्वजनिक यातायात शनिवारको सेड्युल अनुसार चल्नेछ भने मिड-समरको दिन आइतबारको सेड्युल अनुसार चल्नेछ।

हेलसिन्कीबाट बाहिरिने सडकहरुमा सबैभन्दा धेरै जाम हुने सम्भावना छ। व्यस्त सडकहरुमा गाडीको गति प्रतिघण्टा २० देखि ३० किलोमिटरसम्म घट्न सक्ने बताइएको छ।

सम्भावित दुर्घटना रोक्न प्रहरीले सडक र जलमार्ग दुवैतिर कडा निगरानी गर्दैछ। बिदा सकेर फर्किनेहरुको ट्राफिक आइतबारदेखि सुरु हुनेछ, यद्यपि यो आजको तुलनामा कम हुनेछ।

मिड-समर फिनल्यान्डको प्रमुख चाड/उत्सव मध्ये एक हो। यो वर्षको सबैभन्दा लामो/उज्यालो दिन हो। मिड-समरमा धेरैजसो मानिसहरु सहर छाडेर आफ्ना समर कटेज जाने गर्छन्। नयाँ आलु, माछा लगायतका विभिन्न परिकार खाएर यो पर्व मनाउने गरिन्छ।

साथै आगलागीको जोखिम नभएको अवस्थामा ताल वा समुद्रको किनारमा ‘कोक्को’ नामक ठूलो आगो बालेर यो पर्व मनाउने परम्परा रहेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप