संक्षेपमा
- हेलसिन्कीमा पहिलो पटक जनप्रतिनिधिसँग नेपालीलाइनेन अन्तर्क्रिया कार्यक्रमको आयोजना।
- हेलसिन्की नगर परिषद् सदस्य कृष्ण रेग्मी मुख्य वक्ता, सेयर गरे आफ्नो अनुभव।
- स्वास्थ्य सेवा, भिसा अवधि र स्थानीय राजनीतिका विषयमा सहभागीहरूको चासो।
नेपालीलाइनेनको अग्रसरता र संयोजनमा हिजो हेलसिन्कीमा आयोजित जनप्रतिनिधीसँग नेपालीलाइनेन अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। हेलसिन्कीस्थित राभिन्तोला हेर्कुमा साँझ ५ देखि ७:३० बजेसम्म आयोजित उक्त कार्यक्रम नेपालीलाइनेनको यस्तो प्रकारको पहिलो प्रयास हो।
कार्यक्रममा हेलसिन्की सिटी काउन्सिलर एवं आगामी संसदीय निर्वाचनका लागि एसडीपी पार्टीका उम्मेदवार कृष्ण रेग्मी मुख्य वक्ताका रूपमा उपस्थित थिए। उनले आफू राजनीतिमा लाग्नुका पछाडिको प्रेरणा, सिटी काउन्सिलको रुपमा आफ्नो एकवर्षे यात्रा र फिनल्यान्डको बदलिदो राजनैतिक र सामाजिक परिवेश लगायतका विषयमा बोलेका थिए।
रेग्मीले काउन्सिलमा HSL को भाडा घटाउने पहल र आप्रवासीहरूको फिनिस समाजमा अर्थपूर्ण एकिकरणका लागि गरेका कामहरूका बारे पनि प्रकाश पारेका थिए।
राजनीतिमा लागेका कारण आफूले सामाजिक संजालमा चिन्दै नचिनेका मान्छेबाट समेत नकारात्मक टिप्पणीहरू प्राप्त गरेको अनुभव सुनाएका उनले जस्तोसुकै चुनौती आए पनि काम भने निरन्तर अघि बढ्ने स्पष्ट पारेका थिए।
“नकारात्मक ढंगले हेर्ने र हेपाहा प्रवृत्ति भएका मान्छेहरू नभएका होइनन्,” उनले भने। “तर हामीलाइ सहयोग गर्ने, प्रेरणा दिने, र हामीहरूजस्ता मान्छेहरू राजनीतिमा आउनुपर्छ भन्नेहरू पनि थुप्रै छन्।”
“राजनीतिमा आलोचना र घृणाजन्य टिप्पणीहरू आउँछन्, तर यसकै बाबजुद पनि राजनीति निरन्तर अगाडि बढ्छ। यस्ता नकारात्मकताले हामीलाई हाम्रो लक्ष्यबाट विचलित गर्न सक्दैन,” रेग्मीले सहभागीहरूमाझ स्पष्ट पारे।
नेपालीलाइनेनका संस्थापक तथा प्रधान सम्पादक मनोज भुसालले स्वागत मन्तव्यसहित कार्यक्रमको सहजीकरण गरेका थिए।
अन्तर्क्रियामा सहभागी हुन तय भएकी अर्की काउन्सिल सदस्य निता अउस्टेरो भने स्वास्थ्य समस्याका कारण उपस्थित हुन सकिनन्। यद्यपि, उनले कार्यक्रमका लागि शुभकामना सन्देश पठाएकी थिइन् र सहभागीहरूले राखेका प्रश्नहरूको जवाफ इमेलमार्फत दिने जानकारी दिएकी थिइन्।
कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) फिनल्यान्डका अध्यक्ष योगेन्द्र संग्रौला र उपाध्यक्ष तारा प्रसाद सापकोटा सहभागी थिए। फिनिस नेपाली समाजकी अध्यक्ष रुक्मिणी भट्टराई, एनआरएनएका पूर्व अध्यक्षहरू ज्योति खरेल र श्रवण खनाल, व्यवसायी एवं फिनिस नेपाली समाजका सल्लाहकार कुलमणि भण्डारी लगायत उपस्थित थिए।
कार्यक्रममा केही गैर-नेपालीहरूको पनि उपस्थिति थियो। सोही कारण कार्यक्रम नेपाली, अंग्रेजी र फिनिस गरी तीनवटै भाषामा सञ्चालन गरिएको थियो।
कार्यक्रममा उपस्थितहरूलाई चिया, कफी, र साधारण खाजाको व्यवस्था गरिएको थियो।
कार्यक्रमको अन्त्यतिर फिनल्यान्डमा पिएचडी अध्ययनरत नेपाली अनुसन्धानकर्ता सरोज कोइरालाले आफ्नो अंग्रेजी भाषाको उपन्यास द अल्गोमिस्टका बारे सहभागीहरूलाई जानकारी दिएका थिए।
छलफलमा सहभागीहरूले फिनल्यान्डको स्थानीय राजनीति र सिटी काउन्सिलको कार्यप्रणालीबारे चासो राखेका थिए। उनीहरूले स्वास्थ्य सेवामा ढिलाइ, बेरोजगारी, स्वास्थ्य बिमाका समस्या, भिसा र पर्यटक भिसाको अवधि जस्ता विषयमा प्रश्न सोधेका थिए।
जनचासोका ज्वलन्त मुद्दाहरूमाथि बहस
छलफलमा सहभागीहरूले फिनल्यान्डको स्थानीय राजनीति र सिटी काउन्सिलको कार्यप्रणालीबारे चासो राखेका थिए। उनीहरूले स्वास्थ्य सेवामा ढिलाइ, बेरोजगारी, स्वास्थ्य बिमाका समस्या, भिसा र पर्यटक भिसाको अवधि जस्ता विषयमा प्रश्न सोधेका थिए।
सहभागीहरूले काउन्सिलरले पाउने सेवा-सुविधा र सिटी काउन्सिलमा विभिन्न दलहरुले कसरी सहकार्य गर्छन भन्ने जिज्ञासा पनि राखेका थिए।
सहभागिता जनाउने नेपाली समुदायले कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर आयोजना हुने अपेक्षा रहेको नेपालीलाइनेनलाई बताए।
फिनल्यान्डमा नेपाली आप्रवासीहरूको संख्या बढेसँगै स्थानीय राजनीतिमा पनि उनीहरूको चासो बढिरहेको छ। यस्ता कार्यक्रमहरूले नेपाली समुदायलाई फिनिस राज्यप्रणाली, नीति-निर्माण प्रक्रिया र आफ्ना अधिकारबारे प्रत्यक्ष रूपमा बुझ्न मद्दत पुर्याउने नेपालीलाइनेनको विश्वास रहेको छ।
हेर्नुहोस् कार्यक्रमका थप तस्विरहरू





















