संक्षेपमा
- दशौँ हजारको सहभागितामा फिनल्यान्डकै ठूलो मानवअधिकारवादी परेड सम्पन्न।
- सरकारी मन्त्रीहरूद्वारा परेडमा प्रत्यक्ष ऐक्यबद्धता।
- आप्रवासीहरूको पनि उत्साहजनक उपस्थिति।
फिनल्यान्डको राजधानी हेलसिन्कीमा आज शनिबार प्राइड सप्ताहको अन्तिम दिन भव्य प्राइड परेड आयोजना गरिएको छ। समानता र मानवअधिकारको रक्षाका लागि निकालिएको यो विशाल र्यालीमा दशौँ हजार मानिस सडकमा उत्रिएका थिए।
हेलसिन्की सेन्टरको सेतो चर्च (हेलसिन्की क्याथेड्रल) अगाडिबाट दिउँसो १२ बजे प्राइड र्याली सुरु भएको थियो। विभिन्न समूहमा विभाजित सहभागीहरू रङ्गीचङ्गी पोसाक र झन्डासहित खुसी मनाउँदै नाराबाजीका साथ अघि बढेका थिए।
परेडमा ‘मानवअधिकार सबैको हो’ र ‘हामीले चाहेको समानता हो’ जस्ता नाराहरू गुन्जिएका थिए। सहभागीहरूले फासीवाद र रंगभेदका विरोधमा पनि बलियो आवाज उठाएका थिए।
परेडमा फिनिस सरकारका शिक्षामन्त्री एन्डर्स एन्डलेक्रुज, वातावरण मन्त्री सारी मुल्ताला लगायतका मन्त्रीहरू पनि देखिएका थिए।
फिनल्यान्डमा रहेका आप्रवासीहरूका साथै जर्मनी लगायतका विभिन्न देशहरूबाट आएका समूहहरूले पनि परेडमा ऐक्यबद्धता जनाएका थिए।
अत्यन्तै व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न भएको यो परेड फिनल्यान्डकै सबैभन्दा ठूलो मानवअधिकारवादी प्रदर्शनको रूपमा लिइन्छ। परेडमा स्थानीय नागरिकसँगै उल्लेख्य संख्यामा आप्रवासीहरूको पनि उपस्थिति रहेको थियो।
के हो हेलसिन्की प्राइड ?
हेलसिन्की प्राइड परेड फिनल्यान्डको सबैभन्दा ठूलो समानता र मानवअधिकार सम्बन्धी प्रदर्शन हो। यसले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (LGBTQIA+) समुदायको अधिकार र समानताको वकालत गर्दछ। साथै रंगभेदको विरोध र विश्च शान्तिको कामना गर्दछ।
प्रत्येक वर्ष जुन महिनाको अन्तिम साता मनाइने यो उत्सवले फिनिस समाजमा समावेशीता, सद्भाव र विविधताको महत्त्वलाई उजागर गर्ने गर्छ। फिनल्यान्डमा रहेका आप्रवासी समुदायका लागि पनि यो कार्यक्रम अधिकार र आत्मसम्मानको एउटा साझा मञ्च बन्दै आएको छ।
हेर्नुहोस् तस्बिरहरु, सबै तस्बिरः नेपालीलाइनेन


























