विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

दक्षिण युरोपमा तातो हावाको ताण्डव, एक सातामै १३ सयभन्दा धेरैले गुमाए ज्यान

अत्यधिक गर्मीका कारण युरोपभर ठूलो मानवीय क्षति भएपछि WHO ले सचेत गराएको छ।

संक्षेपमा


  • तातो हावाका कारण दक्षिण युरोपमा १,३०० भन्दा बढीको मृत्यु।
  • फ्रान्समा मात्रै १,००० भन्दा बढी मानिसको ज्यान गएको पुष्टि।
  • जलवायु परिवर्तनका कारण विश्वमै सबैभन्दा तीव्र गतिमा तातिरहेको छ युरोप।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार युरोपमा चलिरहेको अभूतपूर्व तातो हावाको लहर (हिट वेभ) का कारण अहिलेसम्म १,३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले जुन २१ देखि यता यति धेरै संख्यामा मानिसको ज्यान गएको जानकारी दिएका हुन्।

गर्मीको यो तनावलाई प्रायः ‘मौन हत्यारा’ भनिन्छ। युरोपका अधिकांश घर, कार्यस्थल र विद्यालयहरू यस्तो अत्यधिक तापक्रम धान्न सक्ने गरी बनाइएका छैनन्।

फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ गत बुधबारदेखि गर्मीकै कारण करिब १,००० भन्दा धेरै मानिसको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा अधिकांश ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू रहेका छन्।

टेड्रोसका अनुसार युरोप पृथ्वीकै सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो। यो विश्वको औसतभन्दा दोब्बर गतिमा तातिरहेको छ।

अहिले युरोपका १५ करोड मानिस अत्यधिक गर्मीमा बस्न बाध्य छन्। गर्मीकै कारण विद्यालयहरू बन्द गरिएका छन् भने विद्युत आपूर्तिमा अवरोध आएको छ।

विज्ञापन
विज्ञापन सकियो

जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण पहिले ‘एक पुस्तामा एक पटक’ आउने यस्तो गर्मी अहिले हरेक वर्ष देखिन थालेको छ।

डब्लुएचओले अहिले अत्यधिक गर्मीबाट हुने स्वास्थ्य जोखिमहरू कम गर्न र प्रभावकारी स्वास्थ्य प्रणाली बनाउन काम गरिरहेको जनाएको छ।

महानिर्देशक टेड्रोसले युरोपेली देशहरूलाई गर्मी केन्द्रित स्वास्थ्य कार्ययोजना बनाउन आग्रह गरेका छन्। जलवायु परिवर्तनबाट स्वास्थ्य जोगाउन यस्तो योजना आवश्यक रहेको उनको भनाइ छ।

युरोपमा तान्डव मच्चाइरहेको तातो हावा फिनल्यान्ड छिरेको र यहाँको पनि तापक्रम ३० डिग्रीको आसपासमा पुग्ने मौसमविद्हरुले जनाएका छन्। दक्षिण युरोपमा जस्तो ४० डिग्री भन्दा माथिको गर्मी भने यहाँ हुने छैन।

फिनल्यान्ड सहितका उत्तरी युरोपेली देशहरूमा सामान्यतया घरहरू चिसो रैथाने मौसम अनुकूल बनाइएका हुन्छन्। यहाँका भवनहरूमा तापक्रम जोगाउने (इन्सुलेशन) प्रविधि राम्रो भए पनि अत्यधिक गर्मी हुँदा हावा ओहोरदोहोर हुने आधुनिक शीतलन (कुलिङ) प्रणालीको अभाव देखिन्छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप