📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- ४० मिनेटभित्रै १० भन्दा बढी क्षति नियन्त्रणका घटना।
- यात्कासारीको लिडिल र बुलेभार्डीका पसलहरूमा पस्यो पानी।
- अत्यधिक वर्षाले ढल भरिँदा हरेक वर्षजसो देखिन्छ समस्या।
फिनल्यान्डको राजधानी क्षेत्र र त्यसमा पनि दक्षिण हेलसिन्कीमा परेको भारी वर्षाले सडक र पसलहरू जलमग्न बनाएको छ। हिजो एक्कासी आएको तीव्र वर्षाका कारण विभिन्न व्यापारिक भवनहरूभित्र पानी पसेको हो।
हेलसिन्की शहरको उद्धार विभागका अग्नि नियन्त्रक पेत्री स्ट्रान्डबर्गका अनुसार दिउँसो ३ बजेतिर क्षति नियन्त्रणका लागि आएका अनुरोधहरू ह्वात्तै बढेका थिए। ४० मिनेटको अवधिमै विभागले १० भन्दा बढी ठाउँमा उद्धारको काम गर्नुपरेको थियो।
विशेषगरी हेलसिन्कीको केन्द्र, पुनाभुओरी र यात्कासारी क्षेत्रमा पानी र डुबानको बढी असर परेको छ। यात्कासारीको लिडिल पसलभित्र हावा पठाउने पाइप (एसी डक्ट) बाट पानी पसेको भन्दै YLE लगायतका स्थानीय मिडियाले लेखेका छन्।
बुलेभार्डी सडकका विभिन्न भवनका बेसमेन्टमा पनि पानी जमेको थियो। त्यहाँ रहेको एउटा रेस्टुरेन्टको भित्ताबाटै पानी भित्र छिरेको थियो।
इसो-रोबेर्तिनकातु सडकमा रहेको एउटा पसलमा पनि पानी पसेको थियो। भवनका पानी बग्ने पाइप र हावा जाने नलीहरूबाट पानी चुहिएको थियो।
स्ट्रान्डबर्गले यस्तो घटना असामान्य नभएको बताए। एकैपटक धेरै पानी पर्दा ढलको क्षमता अपुग हुने भएकाले हरेक वर्ष यस्तो समस्या आउने गरेको उनले प्रष्ट पारे।
यसअघि शनिबार पनि भारी वर्षाका कारण शहरका केही भाग डुबानमा परेका थिए। त्यो बेला भिक्की क्षेत्रको पुस्तकालय र भिक्कीको प्रिज्म सुपरमार्केटमा पानी पसेको थियो।
फिनल्यान्डमा विशेषगरी गर्मीयाममा छोटो समयमै अत्यधिक वर्षा (क्लाउडबर्स्ट) हुने गर्छ। हेलसिन्की जस्ता शहरका पुराना ढल प्रणालीहरूले एकैपटक धेरै पानी थेग्न नसक्दा सडक र भुइँतलाका पसलहरू जलमग्न हुने समस्या वर्षेनी देखिने गरेको छ।
शहरमा पक्की संरचना र कालोपत्रे सडकहरू धेरै हुँदा पानी जमिनमुनि सोसिन पाउँदैन, जसले गर्दा होचा स्थानहरूमा छिट्टै बाढीको अवस्था सिर्जना हुन्छ।








