संक्षेपमा
- दीर्घकालीन जीवनसाथी खोज्न मद्दत गर्ने राज्य-सञ्चालित नि:शुल्क ‘डेटिङ’ सेवाको माग।
- व्यावसायिक डेटिङ एपको विकल्पमा सुरक्षित र अनुसन्धानमा आधारित सरकारी प्रणालीको प्रस्ताव।
- जन्मदर बढाउनुका साथै एक्लोपन कम गर्ने र मानवीय कल्याण बढाउने जिकिर।
फिनल्यान्डमा मानिसहरूलाई जीवनसाथी खोज्न सहज होस् भन्ने उद्देश्यले सरकारी स्तरबाटै नि:शुल्क डेटिङ सेवा सञ्चालन गर्नका लागि माग गरिएको छ।
सेन्टर पार्टीको युवा-विद्यार्थी सङ्गठन Keskustanuoret ले यस्तो सेवाले मानिसमा बढ्दो एक्लोपन हटाउन मद्दत गर्ने भन्दै उक्त माग गरेको हो।
उक्त सङ्गठनका अनुसार फिनल्यान्डको वर्तमान पारिवारिक नीति आर्थिक सहयोग र सेवामा मात्र केन्द्रित छ। सरकारी नीतिले सम्बन्धको सुरुवाती चरण अर्थात् जीवनसाथी खोज्ने कुरालाई भने पुरै बेवास्ता गरेको छ।
उपयुक्त साथी नपाउँदा बच्चा जन्माउन चाहने धेरै मानिस परिवारविहीन हुन पुगेका छन्, उक्त सङ्गठनले भनेको छ।
हालको डेटिङ बजार ‘टिन्डर’जस्ता पूर्ण रूपमा अन्तर्राष्ट्रिय व्यावसायिक एपहरूको भरमा चलेको छ।
सङ्गठनकी अध्यक्ष मिल्ला भेतेलाइनेनका अनुसार यो अवस्था राम्रो र दिगो हुँदैन।
मानिसको जीवन र समाजको भविष्यलाई व्यापारिक ’अल्गोरिदम’को भरमा छाड्न नहुने उनको भनाइ छ।
“जीवनसाथी खोज्ने कुरा कुनै कम्पनीले कति नाफा कमाउँछ भन्नेमा निर्भर हुनुहुँदैन,” विज्ञप्तिमा उनी भन्छिन्।
यसको समाधानका रूपमा सङ्गठनले सार्वजनिक लगानीमा र अनुसन्धानमा आधारित ‘डेटिङ’ र ‘ म्याचमेकेर’ सेवा सुरु गर्न सुझाव दिएको छ।
यसमा सुरक्षाका लागि बलियो प्रमाणीकरण (स्ट्रङ अथेन्टिकेसन) र अनुकूलता मापन गर्ने प्रविधि प्रयोग गरिनेछ।
यो प्रस्ताव जन्मदर बढाउन मात्र नभई मानिसहरूको एक्लोपन कम गर्न पनि लक्षित छ। परिवार बसाल्ने प्रयास गरिरहेका मानिसलाई समाजले सुरुवाती चरणमै सहयोग गर्नुपर्ने अध्यक्ष भेतेलाइनेनको जिकिर छ।
फिनल्यान्ड लगायतका नर्डिक देशहरूमा पछिल्लो समय जन्मदर निरन्तर घटिरहेको छ। यसका साथै मानिसहरूमा बढ्दो एक्लोपन नर्डिक समाजको गम्भीर समस्या बन्दै गएको छ।
हाल चलेका ‘टिन्डर’ वा ‘बम्बल’ जस्ता व्यावसायिक डेटिङ एपहरूमा मात्र भर पर्दा धेरैले सुरक्षित र भरपर्दो जीवनसाथी नभेटेको अवस्था छ। राज्यले नै सुरक्षित प्लेटफर्म दिएमा यसले युवा पुस्तालाई पारिवारिक जीवन सुरु गर्न प्रोत्साहन दिने विश्वास गरिएको छ।




![हेलसिन्कीमा नव-नाजी समूह र प्रदर्शनकारीबिच झडप, पाँच पक्राउ [भिडियो सहित]](https://nepalilainen.fi/wp-content/uploads/2026/05/sini-musta-liike-police-protests-helsinki-324x235.webp)



