अमेरिका र इजरायलले इरानका आणविक केन्द्रहरूमा गरेको आक्रमणको प्रतिक्रियामा फिनल्यान्डका नेताहरूले मिश्रित धारणा व्यक्त गरेका छन्। अमेरिका–इजरायलले इरानका आणविक स्थलहरूमा गरेको हमलापछि राष्ट्रपति एलेकज्यान्डर स्टबले इरानलाई आणविक हतियार प्राप्त गर्न दिनु नहुने बताए। उनले मध्यपूर्वमा प्रतिशोधको चक्र तोड्नुपर्ने, कूटनीति, संवाद र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री पेत्तेरी ओर्पोले पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै परिस्थितीलाई थप नबिगार्न आग्रह गरेका छन्। उनले यो विषयमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँग कुराकानी गरेको र थप छलफलका लागि युरोपेली विदेशमन्त्रीहरूको बैठक सोमबार हुने बताए। उनले पनि इरानले आणविक हतियार विकास गर्न नहुने र विश्वलाई आणविक हतियार भएको नयाँ मुलुक नचाहिएको कुरामा जोड दिए।
फिनल्यान्डको संसदका विपक्षी सांसदहरूले भने अमेरिकी नेतृत्वको हमलालाई गैरकानुनी भन्दै आलोचना गरेका छन्। पूर्व विदेशमन्त्री एर्की तुओमियोयाले हमलालाई “इरानमाथिको गैरकानुनी सैन्य हमला” भनेर प्रश्न उठाएका छन् भने बामपन्थि सांसद भेरोनिका होन्कासालोले यसलाई विश्व शान्तिमाथिको खतरा र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भनेकि छिन्। बामपन्थी र ग्रिन पार्टीका अन्य नेताहरुले पनि हमलाको बिरोध गरेका छन्।
नागरिकलाई देश छाड्न आग्रह
फिनल्यान्डले इजरायल र इरानमा रहेका आफ्ना नागरिकलाई देश छाड्न आग्रह गरेको छ। मध्यपूर्वमा तनाव बढेपछि फिनल्यान्डको परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका आफ्ना नागरिकलाई फिनल्यान्ड फर्कन सुझाव दिएको हो। इरानको तेहरानस्थित फिनिस दूतावास खुला रहे पनि सुरक्षा स्थिति बिग्रँदै गएको भन्दै आफ्ना नागरिकलाई टर्की वा आर्मेनियामार्फत भिसा बिना फर्कन र इन्धन, खाना तथा पानीको पर्याप्त भण्डार राख्न फिनल्यान्डले सुझाएको छ। इजरायलमा रहेको फिनल्यान्डको दूतावासले टेल अभिभ भन्दा टाढै बसेर काम गरिरहेको जनाइएको छ। इजरायलमा करिब २७० फिनिस नागरिक रहेको अनुमान छ। केही फिनिस नागरिकहरुले भने इजिप्ट र जोर्डनको स्थलमार्गबाट इजरायल छोडिसकेको बताइएको छ।
नेपालका लागि फिनल्यान्डले तोक्यो नयाँ राजदूत
फिनल्यान्डले नेपालका लागि आफ्नो नयाँ राजदूतमा परराष्ट्र मामिला सल्लाहकार पेत्री पुहाक्कालाई नियुक्त गरेको छ। फिनल्यान्डको परराष्ट्र मन्त्रालयले जनाए अनुसार आगामी अगस्ट १ देखि उनले आफ्नो कार्यभार समाल्नेछन्। पुहाक्का हाल अपाङ्गता समावेशीकरण दूतको रूपमा कार्यरत छन्। नेपालका लागि फिनल्याण्डकी वर्तमान राजदूत रीना-रिक्का हेक्काले नेपालमा तीन वर्षे कार्यकाल पुरा गरी बिदा भएकी छिन्। हेक्काको कार्यकालमा फिनल्याण्ड र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास भएको थियो। फिनल्याण्ड र नेपालबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा फिनल्यान्डका अन्तर्राष्ट्रिय विकास मन्त्री भिल्ले ताभियोको नेपाल भ्रमण, नयाँ विकास परियोजनाहरूको सुरुवात र आर्थिक सहयोगका लागि नयाँ वित्तीय उपकरणको हस्ताक्षर जस्ता कामहरू हेक्काको कार्यकालमा सम्पन्न भएका थिए।
मिडसमरमा एक व्यक्तिको डुबेर मृत्यु
फिनल्यान्डमा यस वर्षको मिडसमरमा केवल एक व्यक्तिको डुबेर मृत्यु भएको छ। फिनिस स्विमिङ टिचिङ एन्ड लाइफसेभिङ फेडेरेसन (एफएसएल) का अनुसार उत्तर कारेलियामा गत बिहीबार साँझ एक वृद्ध पुरुषको डुबेर मृत्यु भएको थियो। सन् २०१५ देखि २०२४ सम्म मिडसमरमा औसतमा ६ जनाको डुबेर मृत्यु हुने गरेको थियो। यसरी मृत्यु हुनेमा ८० प्रतिशत पुरुष र अधिकांश घटना फिनल्यान्डको पूर्वी क्षेत्रमा हुने गरेका थिए।
फिनल्यान्डका गाडी चालकहरू तीव्र गतिमा गाडी चलाउने
हालैको एउटा अन्तर्राष्ट्रिय अध्ययनले फिनल्यान्डका गाडी चालकहरूले अन्य युरोपेली चालकहरूभन्दा धेरै तीव्र गतिमा गाडी चलाउने गरेको देखाएको छ। फिनिस रोड सेफ्टी काउन्सिलले गरेको ESRA3 सर्वेक्षणको तथ्याङ्कअनुसार फिनल्यान्डका हरेक चारमध्ये तीन जना चालकले कम्तीमा एक पटक शहरभित्र र ग्रामीण सडक दुवैमा तोकिएको गति सीमा नाघेको स्वीकार गरेका छन्। यो दर सर्वेक्षणमा सहभागी अन्य युरोपेली देशहरूको औसतभन्दा निकै बढी हो।
फिनिस–नेपाली समाजको साधारण सभा
विगत दुई दशकदेखि फिनल्यान्डमा सक्रिय सामाजिक संस्था फिनिस–नेपाली समाजले आफ्नो साधारण सभा आज बेलुका हेलसिन्कीको माल्मीमा आयोजना गर्दैछ। बेलुका ५ बजेदेखि सुरू हुने साधारण सभामा समाजले सल्लाहकार, बोर्ड सदस्य, सामान्य सदस्य र समुदायका इच्छुक व्यक्तिहरूलाई सहभागी हुनका लागि निमन्त्रणा गरेको छ। सल्लाहकार, बोर्ड सदस्य र सामान्य सदस्यहरूलाई छुट्टै निमन्त्रणा इमेल वा फेसबुक सन्देशमार्फत पठाइएको र सबै वर्तमान सदस्यहरूलाई आफ्नो सदस्यता यथाशीघ्र नवीकरण गर्न पनि फिनिस–नेपाली समाजले अनुरोध गरेको छ।
मध्यपूर्वमा थप तनाव
इरानका आणविक स्थलहरूमा अमेरिकाले गरेको हमलापछि मध्यपूर्वमा तनाव थप चर्किएको छ। सोमबार बिहानको पछिल्लो रिपोर्ट अनुसार इजरायल र इरानले एक अर्कामाथिको हमला जारी राखेका छन्।
मध्ये तेहरानका बासिन्दाहरूले ठूला हमलाहरू देखेको र सुनेको बताएका छन्। इजरायलले भने आफूमाथि भएको हमलाको प्रतिरक्षा गरिरहेको जनाएको छ। यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानमा नयाँ सरकार आउन सक्ने संकेत गरेका थिए।
रुसी विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले इरानका विभिन्न आणविक केन्द्रहरूमा गरेको हमलाको कडा निन्दा गरेको छ। यस्तै, इरानले इजरायली जासुसी संस्थाका लागि काम गरेको भन्दै आइतबार एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ।
उता सिरियाको राजधानी दमास्कसमा आइतबारको प्रार्थनाकालमा एक आत्मघाती बम हमलाकारीले भीडभाड भएको चर्चमा विस्फोट गराउँदा कम्तीमा कम्तीमा २२ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको सुरक्षा स्रोतलाई उदृत गर्दै बीबिसीले जनाएको छ।
आजको मुद्रा विनिमय दर र मौसम
आज बिहानको मुद्रा बिनिमय दर अनुसार १ युरो बराबर १५९ नेपाली रुपैया ३७ पैसा रहेको छ। युरो हिजोको तुलनमा थोरै घटेको छ। मौसम पूर्वानुमान अनुसार आज बिहानदेखि पश्चिमतिरबाट फाट्टफुट्ट पानी पर्न थाल्नेछ। फिनल्यान्डको पूर्वी भागमा भने पानी पर्न सोमबार बेलुका अबेर वा मंगलबार बिहानसम्म कुर्नुपर्ने फिनल्यान्डको मौसम विज्ञान विभागले जनाएको छ। तापक्रम १० देखि १७ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ। दक्षिण फिनल्यान्डमा आज सुर्योदय बिहानको ३ बजेर ५४ मिनेटमा भएको थियो भने सूर्यास्त राति १० बजेर ५१ मिनेटमा हुनेछ।





