विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

कारको डिकीमा साइकल, सिटमा बेल्ट नलगाई बच्चा: हेलसिन्की प्रहरीले तिरायो चर्को जरिवाना

गाडीको पछाडि बसेका बच्चालाई पनि उचित सिट र सुरक्षा बेल्टबिना राखिएको थियो।

गाडीको डिकीमा असुरक्षित तरिकाले साइकल बोक्नु र बच्चालाई गाडीमा बिना बेल्ट यात्रा गराउनु हेलसिन्कीका एक चालकका लागि निकै महँगो साबित भएको छ।

हेलसिन्की प्रहरी विभागले ट्राफिक सुरक्षालाई गम्भीर रूपमा खतरामा पारेको भन्दै चालकलाई उनको २० दिनको आम्दानी बराबरको जरिवाना गरेको छ, जुन व्यक्तिको आम्दानीअनुसार हजारौं युरो हुनसक्ने जनाइएको छ।

हेलसिन्की प्रहरी विभागका वरिष्ठ प्रहरी निरीक्षक डेनिस पास्टरस्टाइनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत यो घटना सार्वजनिक गरेका हुन्।

“चालकले साइकललाई गाडीको डिकी र पछाडिको सिटमाथि राखेका थिए, जसलाई कुनै पनि तरिकाले बाँधिएको थिएन।” उनले घटनाको भिडियोसमेत पोस्ट गर्दै भनेका छन्।

घटनाको सबैभन्दा गम्भीर पक्ष भनेको गाडीको पछाडि एक बच्चालाई पनि उचित सिट र सुरक्षा बेल्टबिना राखिएको थियो। साइकललाई गाडीमा अट्याउन पछाडिको सिट सम्याइएको थियो र बच्चालाई सोही असुरक्षित ठाउँमा राखिएको थियो। प्रहरीले उक्त कार्यलाई ‘ट्राफिक सुरक्षामा गम्भीर खतरा’ मानेको छ।

विज्ञापन
विज्ञापन सकियो

फिनल्यान्डको कानूनमा ‘डे-फाइन’ (päiväsakko) प्रणाली अनुसार जरिवाना निर्धारण गरिन्छ, जुन व्यक्तिको मासिक आम्दानीमा आधारित हुन्छ। ‘डे-फाइन’को न्यूनतम रकम ६ युरो हुन्छ, तर आम्दानी बढ्दै जाँदा जरिवानाको रकम पनि बढ्छ।

उदाहरणका लागि यदि कुनै व्यक्तिको मासिक आम्दानी ३,५०० युरो छ भने, २० ‘डे-फाइन’ को जरिवाना कुल १,०८० युरो (झण्डै १ लाख ५० हजार नेपाली रुपैयाँ) हुन आउँछ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप