संक्षेपमा
- सुरपेल्तोमा २ लाख युरोको लागतमा क्रिकेट मैदान निर्माण हुने।
- दक्षिण एसियाली मूलका आप्रवासीहरूको खेलप्रतिको रुचि सम्बोधन।
- आगामी १० वर्षका लागि अस्थायी व्यवस्था, स्थायी ठाउँको खोजी सुरु।
फिनल्यान्डको एस्पो सहरले आप्रवासी समुदायको बढ्दो संख्या र क्रिकेटको लोकप्रियतालाई ध्यानमा राख्दै सुरपेल्तो (Suurpelto) क्षेत्रमा एउटा पूर्ण आकारको अस्थायी क्रिकेट मैदान निर्माण गर्ने भएको छ।
यो योजनाले खासगरी दक्षिण एसियाली देशहरूका बासिन्दालाई खेलकुदको माध्यमबाट स्थानीय समाजमा घुलमिल हुन मद्दत पुग्ने लक्ष्य राखेको छ।
यो निर्णय सार्वजनिक भएसँगै फिनल्यान्डको राजधानी क्षेत्रमा बस्ने नेपाली क्रिकेटप्रेमी युवाहरू उत्साहित भएका छन्।
नेपालीलाइनेनसँग छोटो कुराकानी गरेका दुई क्रिकेटप्रेमी युवाले आफूहरू हेलसिन्कीको बासिन्दा भएपनि एस्पोमा समेत नयाँ क्रिकेट मैदान बन्ने खबरले खुसि र उत्साहित भएको बताए।
यस्तो बन्नेछ मैदान
मैदान भविष्यमा आवास निर्माणका लागि सुरक्षित गरिएको जग्गामा बनाइनेछ। यसको निर्माण लागत करिब २ लाख युरो अनुमान गरिएको छ।
आवास परियोजना सुरु हुन अझै केही वर्ष लाग्ने हुनाले यो समयमा क्रिकेट खेल्न सकिने नगरपालिकाले बताएको छ। यो अस्थायी मैदान आगामी १० वर्षसम्म प्रयोगमा आउने अपेक्षा छ।
क्रिकेट विशेषगरी नेपाल, भारत, पाकिस्तान र बंगलादेश जस्ता दक्षिण एसियाली मुलुकका बासिन्दाहरूमा निकै लोकप्रिय छ। फिनिस क्रिकेट संघका अनुसार एस्पोमा मात्रै ४ सय लाइसेन्स प्राप्त खेलाडी छन्।
यद्यपि, कहिलेकाही रमाइलोका लागि क्रिकेट खेल्नेहरूको संख्या भने हजारौँ रहेको अनुमान छ। एस्पोका खेलकुद निर्देशक मार्त्ती मेल्लाले सहरका खेलकुद सुविधाहरूले यहाँको बढ्दो विविधतालाई झल्काउनुपर्ने फिनल्यान्डको सार्वजनिक प्रसारक YLE लाई दिएको प्रतिक्रियामा बताएका छन्।
उनका अनुसार आप्रवासीहरूका लागि परिचित खेल र रुचिहरूको उपलब्धताले उनीहरूलाई फिनल्यान्डमा घरकै जस्तो महसुस गराउन मद्दत गर्छ।
“क्रिकेट मैदान बनेकै भरमा कोही एस्पो सर्दैनन्, तर यहाँ बसिरहेकाहरूले सुविधा पाएमा उनीहरू यहीँ बसिरहनेछन्,” मेल्लाले भनेका छन्।
अहिले एस्पोमा क्रिकेट मुख्यतया फुटबल मैदानहरूमा खेलिन्छ, जुन क्रिकेटका लागि सानो मानिन्छ। मापदण्ड पुगेको क्रिकेट मैदान फुटबल मैदानभन्दा झन्डै दोब्बर ठूलो हुन्छ।
सुरपेल्तोमा मैदान निर्माण भएपछि खेलाडीहरूले ठूलो र उपयुक्त स्थान पाउनेछन्। यसैबीच एस्पो नगरपालिकाले क्रिकेटका लागि स्थायी स्थानको खोजी पनि जारी राख्ने बताएको छ।
नगरपालिकाले क्रिकेट बाहेक फुटबल, बास्केटबल र इनडोर मार्सल आर्ट्सका क्षेत्रमा पनि थप लगानी गर्ने योजना बनाएको छ। यी खेलहरू पनि आप्रवासी समुदायमा निकै लोकप्रिय मानिन्छन्।
फिनल्यान्डमा क्रिकेटको लोकप्रियता पछिल्लो दशकमा तीव्र रूपमा बढेको छ। मुख्यतया दक्षिण एसियाली आप्रवासीहरूको आगमनसँगै यो खेलको विकास भएको हो।
अहिले हेलसिन्की, भान्ता र एस्पो जस्ता सहरहरूमा दर्जनौँ क्रिकेट क्लबहरू सक्रिय छन्। फिनल्यान्डको राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा समेत सहभागिता जनाउँदै आएको छ।
फिनल्यान्डमा नेपाली युवाहरुका पनि विभिन्न क्रिकेट क्लबहरू रहेका छन्। हेलसिन्की, भान्ता, केराभा, र सिपो लगायतका सहरमा क्रिकेट मैदान रहेपनि एस्पोमा भने थिएन।








