संक्षेपमा
- राष्ट्रिय सुरक्षामा जोखिम हुने भन्दै जग्गा खरिदमा सरकारको रोक।
- चिनियाँ कम्पनीहरूको शंकास्पद उद्देश्य रहेको रक्षामन्त्रीको दाबी।
- भारत, युक्रेन र टर्कीका नागरिकका खरिद आवेदन पनि अस्वीकृत।
फिनल्यान्डले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्ने भन्दै गत बिहीबार १४ वटा जग्गा खरिदका आवेदनहरू अस्वीकृत गरेको छ। रक्षामन्त्री अन्ती हाक्कानेनका अनुसार यीमध्ये १० वटा जग्गा चिनियाँ कम्पनीहरूको एक नेटवर्कले किन्न खोजेको थियो।
रक्षामन्त्रीका अनुसार ती चिनियाँ कम्पनीहरूको जग्गा खरिद प्रयास पछाडि “शंकास्पद उद्देश्य” लुकेको थियो। यी जग्गाहरूको खरिदलाई व्यापारिक वा आर्थिक दृष्टिकोणबाट उचित मान्न नसकिने रक्षा मन्त्रीको भनाइ छ।
किन्न खोजिएका जग्गाहरू असिक्काला, ह्युरिनसाल्मी, इमात्रा, लाउका, पोयत्या, राउत्यार्भी र रोभानिएमी क्षेत्रमा अवस्थित छन्। यस्ता स्थानका जग्गाले फिनल्यान्डको राष्ट्रिय प्रतिरक्षा, आपूर्ति व्यवस्था र महत्त्वपूर्ण पूर्वाधारमा सिधा असर पार्न सक्ने मन्त्रालयको निष्कर्ष छ।
यसअघि पनि उक्त चिनियाँ नेटवर्कले यस्तै प्रकारका जग्गा किन्न व्यक्तिगत रूपमा खोजेको थियो। तर यसपटक भने योजनाबद्ध रूपमा ठूलो स्तरमा प्रयास भएकाले कडा कदम चाल्नुपरेको मन्त्री हाक्कानेनले स्पष्ट पारे।
रोक लगाइएका १४ वटा खरिद प्रयासमा चीनका साथै युक्रेन, टर्की र भारतका नागरिक वा कम्पनीहरू पनि संलग्न थिए। राष्ट्रिय सुरक्षाको मापदण्ड पूरा गर्न नसकेपछि उनीहरूको निवेदन पनि मन्त्रालयले अस्वीकृत गरेको हो।
यसअघि रुसले पनि फिनल्यान्डमा सुरक्षाका दृष्टिकोणले संवेदनशील जग्गाहरू खरिद गर्ने प्रयास गरेको थियो। सोही कारण फिनल्यान्डले गत वर्ष गैर-आवासीय रुसी नागरिकहरूलाई जग्गा खरिदमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो।
अहिले चीनका तर्फबाट पनि यस्तै प्रकारको रणनीतिक कदम पहिलो पटक देखिएको अधिकारीहरूले बताएका छन्। यो घटनाले युरोपेली संघ बाहिरका नागरिकहरूले फिनल्यान्डमा गर्ने लगानी र सम्पत्ति खरिदमाथि सरकारले कडा निगरानी बढाइरहेको स्पष्ट संकेत देएको छ।
यो पनि पढ्नुहोस्ः








