विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डले आइस हक्की विश्वकप जितेपछि देशैभर खुसियाली, यस्तो छ आजको कार्यक्रम

स्वीजरल्यान्डलाई पराजित गर्दै फिनल्यान्डले ऐतिहासिक उपाधि जितेपछि हेलसिन्कीमा हजारौं समर्थकहरूले सडकमा उत्रिएर भव्य खुसीयाली मनाएका छन्।

संक्षेपमा


  • फिनल्यान्डलाई पाँचौँ पटक आइस हक्की विश्वकपको उपाधि।
  • हेलसिन्कीमा हजारौं समर्थकले सडकमै भव्य खुसीयाली मनाए।
  • सोमबार साँझ ओलम्पिक स्टेडियम अगाडि विशेष जन-उत्सवको आयोजना

फिनल्यान्डले आइतबार राति आइस हक्कीको विश्व च्याम्पियनसिपको उपाधि जितेको छ। यो ऐतिहासिक जितसँगै राजधानी हेलसिन्कीको केन्द्रमा हजारौं समर्थकहरूले मध्यरातसम्म भव्य खुसीयाली मनाएका छन्।

स्वीजरल्यान्डको जुरिचमा भएको फाइनल खेलमा फिनल्यान्डले आयोजक स्वीजरल्यान्डलाई १-० ले पराजित गर्यो। अतिरिक्त समयमा कोन्स्ता हेलेनिउसले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

खेल सकिनासाथ हेलसिन्कीको काउप्पातोरीस्थित हाभिस आमान्दा मुर्ति वरिपरि हजारौंको भिड जम्मा भएको थियो। भिड अत्यधिक बढेपछि प्रहरीले त्यस क्षेत्रको सवारी आवागमन नै बन्द गर्नुपरेको थियो। फिनल्यान्डले उल्लेख्य जीत हासिल गर्दा त्यहाँ जम्मा भएर उत्सव मनाउने परम्परा छ।

प्रहरीका अनुसार उक्त जमघट शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि समर्थकहरूबाट केही पटका/आतिशबाजीहरू जफत गरिएको थियो। साथै, बस स्टपको छाना जस्ता अग्ला ठाउँमा चढेका मानिसहरूलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो।

फिनिस आइस हक्की संघका अनुसार विजयको खुसियालीमा आज साँझ ६ बजे विशेष जन-उत्सव मनाउने कार्यक्रम छ। यो कार्यक्रम हेलसिन्कीको ओलम्पिक स्टेडियम अगाडि मान्तुमाएन केन्त्ता (Mäntymäen kenttä) मा आयोजना हुनेछ।

कार्यक्रम स्थल दिउँसो ४:३० बजे सर्वसाधारणका लागि खुल्ला गरिनेछ। विजेता टोली साँझ ७:३० बजे आइपुग्ने र उत्सव राति ९ बजे सम्पन्न हुने बताइएको छ।

फिनल्यान्डले जितेको यो पाँचौँ आइस हक्की विश्वकप उपाधि हो। यसअघि फिनल्यान्डले सन् २०२२, २०१९, २०११ र १९९५ मा यो उपाधि चुमेको थियो। सन् २०२२ मा क्यानडालाई ४-३ ले हराएर घरेलु मैदानमै उपाधि जितेको फिनल्यान्डले सोही वर्ष बेइजिङ ओलम्पिकमा पनि स्वर्ण जितेर इतिहास रचेको थियो।

अर्कोतर्फ, फाइनलमा पराजित आयोजक स्वीजरल्यान्डले विश्वकप फाइनलमा लगातार तेस्रो पटक रजत पदकमा चित्त बुझाउनु परेको छ। रोचक कुरा के छ भने यी तीनवटै फाइनल खेलहरूमा स्वीजरल्यान्डले एउटा पनि गोल गर्न सकेको छैन।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप