विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

भोली हेलसिन्कीको ४७६ औं जन्मदिनः सहरभरि ३०० भन्दा बढी कार्यक्रम, धेरैमा निःशुल्क प्रवेश

फिनल्यान्डको राजधानी हेलसिन्कीले आफ्नो ४७६ औं वार्षिकोत्सव मनाउँदै गर्दा शहरभरि सांगीतिक प्रस्तुति, निशुल्क मनोरञ्जन र सामुदायिक उत्सवहरूको लहर छाउने छ।

संक्षेपमा


  • भोली हेलसिन्कीको ४७६ औं वार्षिकोत्सव।
  • शहरभरि ३०० भन्दा बढी कार्यक्रमहरू।
  • धेरैमा निःशुल्क प्रवेश।

भोली जुन १२ को बिहानीसँगै फिनल्यान्डको राजधानी हेलसिन्की एक विशाल उत्सवको केन्द्रमा परिणत हुनेछ।

हेलसिन्कीको ४७६ औं जन्मदिनको अवसर पारेर आयोजना गरिएको हेलसिन्की दिवस अर्थात् Helsinki-päivä ले स्थानीय र पर्यटक दुवैलाई हर्षोल्लासको वातावरण प्रदान गर्नेछ। स्थानीय कला, संस्कृति र समुदायलाई जोड्ने उद्देश्यले यो वर्ष पनि हेलसिन्की शहरभरि ३०० भन्दा बढी विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्।

यो पटक कन्सर्ट, कार्यशाला, पैदल यात्रा, प्रकृति भ्रमण, सर्कस र नाचगान जस्ता विविध गतिविधिहरू समावेश छन्। अरु बेला पैसा लाग्ने धेरै स्थानमा भोली सित्तैमा प्रवेश मिल्नेछ।

मेयरको कफी

उत्सवको सुरुवात परम्परागत रूपमा हेलसिन्कीका मेयर ड्यानियल साजोनोभको ‘मर्निङ कफी’बाट हुँदैछ। सिटी हलको कार्यक्रम स्थलमा बिहान ८:३० देखि १०:३० सम्म आयोजना हुने जमघटमा पहिलो एक हजार सहभागीलाई विशेष ‘रुबार्ब पाइ’ वितरण गरिनेछ।

हेलसिन्की दिवसको अवसरमा शहरका धेरै प्रमुख गन्तव्यहरूमा प्रवेश पूर्ण रूपमा निशुल्क गरिएको छ।

विज्ञापन
विज्ञापन सकियो

प्रख्यात मनोरञ्जन पार्क लिन्नानमाकी (Linnanmäki), स्विमिङ सेन्टर (Uimastadion) र कुम्पुला (Kumpula) का पौडी पोखरीहरूका साथै आर्ट सेन्टर (Taidehalli), कला संग्रहालय र वास्तुकला तथा डिजाइन संग्रहालयहरूको निशुल्क अवलोकन गर्न पाइने छ।

संगितमा डिस्कोदेखि स्थानीय र्‍यापसम्म

यो वर्षको मुख्य आकर्षणमध्ये एक लासिपालात्सी (Lasipalatsi) चोकमा आयोजना हुने ‘विन्डोज९५म्यान’ (Windows95man) को लन्च डिस्को हो।

बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चल्ने यो कार्यक्रम सबैका लागि खुल्ला र निशुल्क छ। सोही स्थानमा साँझ पिहलाया (Pihlaja) र एगे जुलु (Ege Zulu) को सांगीतिक प्रस्तुति पनि रहनेछ।

शहरका विभिन्न सांस्कृतिक केन्द्रहरूले आ-आफ्ना क्षेत्रमा निशुल्क सांगीतिक कार्यक्रमहरू पनि आयोजना गर्नेछन्।

आला-माल्मी चोकमा एम्मा-अवार्ड विजेता र्‍यापर ‘एफ’ (F), भुआसारीस्थित भुआतालोमा ‘स्टिग’ (Stig), र माउनुला हाउसमा हसन माइकल तथा इभिल स्टु र क्रिसो (Eevil Stöö & Kriso) जस्ता चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्।

वयस्कहरूका लागि खेल, सर्कस र सुपरतेरासी

उत्सव केवल बालबालिका वा युवाहरूमा मात्र सीमित छैन; वयस्कहरूका लागि पनि रोचक कार्यक्रमहरू तय गरिएका छन्।

काइभोपुइस्तो (Kaivopuisto) पार्कमा साँझपख वयस्कहरूका लागि ‘प्रहरी र चोर’ (Poliisi & rosvo) को बृहत् खेल आयोजना हुँदैछ।

त्यस्तै इताकेस्कुसस्थित सर्कस मजेन्टाले वयस्कहरूका लागि निशुल्क सर्कस डेट्सको व्यवस्था छ, जहाँ सहभागीहरूले जग्लिङ र सन्तुलन जस्ता सीपहरू सिक्न सक्नेछन्।

खानपान र जमघटका सौखिनहरूका लागि कासार्मेतोरी (Kasarmitori) मा ‘सुपरतेरासी’ (Superterassi) खुल्दैछ।

१७ वटा विभिन्न रेस्टुरेन्ट र पेय पदार्थ प्रदायकहरूका साथै ‘क्युरो साउना बार’ को सुविधा रहेको यो स्थान बिहान १० देखि राति ११ बजेसम्म खुला रहनेछ।

यसैबीच कोन्तुला सपिङ सेन्टरले पनि आफ्नो २० औं वार्षिकोत्सव मनाउँदै दिनभरि विभिन्न सांगीतिक ब्यान्डहरूको प्रस्तुतिसहित सांस्कृतिक उत्सव आयोजना गर्दैछ।

हेलसिन्की दिवसका सम्पूर्ण कार्यक्रमहरूको जानकारी दिवसको आधिकारिक पेजबाट लिन सकिने छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप