📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Go.संक्षेपमा.
- वरिष्ठ पत्रकार तुओमो पिएतिलाइनेनलाई ४ महिना सशर्त कैदको सजाय।
- पत्रकार लाउरा हाल्मिनेनलाई उनको ८० दिनको ज्याला बराबरको जरिवाना।
- सुपरभाइजर काले सिल्फरबर्गले भने पाए सफाई।
हेलसिन्की पुनरावेदन अदालतले हेलसिन्की सानोमात समाचारपत्रका दुई पत्रकारलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य जानकारी सार्वजनिक गरेको आरोपमा दोषी ठहर गरेको छ। डिसेम्बर २०१७ मा प्रकाशित सैन्य सञ्चार केन्द्रसम्बन्धी एक लेखका कारण उनीहरूमाथि मुद्दा चलेको थियो।
अदालतले तुओमो पिएतिलाइनेनलाई चार महिनाको सशर्त कैद र लाउरा हाल्मिनेनलाई उनको ८० दिनको तलब बराबरको जरिवाना तोकेको छ। तर तेस्रा आरोपी र वरिष्ठ सम्पादक काले सिल्फरबर्गविरुद्धको मुद्दा भने खारेज गरिएको छ।
अदालतले आफ्नो फैसलामा उल्लेख गरे अनुसार प्रकाशित र प्रकाशन गर्न खोजिएका लेखहरूमा राष्ट्रिय सुरक्षाका दृष्टिले गोप्य राख्नुपर्ने जानकारीहरू समावेश थिए। अभिव्यक्ति स्वतन्त्रताको नाममा यस्ता सूचनाहरू सार्वजनिक गर्न नमिल्ने पनि अदालतको ठहर छ।
पत्रकारहरूले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्। पत्रिकाले पनि जनताको ‘जान्न पाउने अधिकार’ छ भन्दै पत्रकारहरूको पक्षमा उभिएको छ।
यो मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने प्रावधान रहेको छ।
के हो आरोप?
यो आरोप हेलसिन्की सानोमातले सन् २०१७ मा प्रकाशन गरेको एउटा आर्टिकलसंग सम्बन्धित छ।
यो मुद्दाको फैसला आइसकेपछि नेपालीलाइनेनले उक्त आर्टिकल हेरेको थियो। उक्त आर्टिकलमा सैन्य गुप्तचर विभागको कार्य प्रणालीबारे विस्तृत जानकारी समावेश गरेको देखिन्छ। युभास्कुला नजिकै रहेको एक केन्द्रमा कसरी फिनल्यान्डका सुरक्षा बलहरूले जासुसी काम गर्छन् भने विवरण दिइएको छ। अति गोप्य राख्नुपर्ने भनिएका बैठकका माइन्युटका विवरण पनि उक्त लेखमा देखिन्छ। लेखिएका धेरै विषय रुससँग सम्बन्धित छन्।
तल्लो अदालत (जिल्ला अदालत) ले गत वर्ष पिएतिलाइनेनलाई ५० दिनको जरिवाना तोकेको थियो भने हाल्मिनेनलाई दोषी ठहर गरे पनि सजाय दिइएको थिएन। तर पुनरावेदन अदालतले भने झनै कडा सजायको फैसला सुनाएको छ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा यस्ता सूचनाहरू सार्वजनिक गर्न नमिल्ने पनि अदालतको ठहर छ।
अदालतले आफ्नो फैसलामा उल्लेख गरे अनुसार लेखमा “सार्वजनिक चासोको बहस” भन्दा पनि बढी मात्रामा देशको बाह्य सुरक्षामा खतरा पुर्याउन सक्ने गोप्य जानकारीहरू समावेश थिए। साथै अदालतले अनलाइनमा प्रकाशित लेख हटाउन समेत आदेश दिएको छ।
पिएतिलाइनेन अहिले पनि हेलसिन्की सानोमातमा कार्यरत छन् भने हाल्मिनेन र सिल्फरबर्गले भने पत्रिका छाडिसकेका छन्।
नोटः पत्रिकाको खास नाम हेलसिन्गीन सानोमात अर्थात् हेलसिन्कीको खबरपत्रिका हो। त्यसको नेपालीमा उल्था गर्दा पाठक मैत्री बनाउन ‘हेलसिन्की सानोमात’ लेखिएको छ।








