यो 'प्रिमियम' सामाग्री हाम्रा सदस्यका लागि मात्र।
यो 'प्रिमियम' सामाग्री पढ्न हाम्रो 'सहयोगी सदस्य' बन्नुहोस्।
Buy Now — 59 €/Year 4.91 €/ month · Cancel anytimeपहिले नै सदस्य हुनुहुन्छ? तलबाट लग-इन गर्नुहोस्।
हाम्रो सहयोगी सदस्य बन्दा तपाई प्रयोगका सर्तहरू र गोपनीयता नीति अनुसार आफ्नो डेटा प्रशोधन गर्न सहमत हुनुहुन्छ।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
करिब डेढ वर्षअघि नेपालबाट विद्यार्थीको रूपमा फिनल्यान्ड आएका सागर (नाम परिवर्तन) भनेजस्तो नभएपछि गत महिना नेपाल फर्किए।
“पढाई त ठिकै चलिरहेको थियो। जति प्रयास गरे पनि काम भने पाइएन। भिसा नवीकरण गर्न पनि समस्या भयो। केही सीप नलागेपछि नेपाल फर्कने निर्णय गरेँ।” हेलसिन्की विमानस्थलबाट घर फर्कने जहाज चढ्नुभन्दा दिनभन्दा केही दिन अगाडी उनले नेपालीलाइनेनसँग भनेका थिए।
“कन्ट्री त राम्रो हो, मेमोरी पनि धेरै बने। तर यहाँ बस्न लेखेको रहेनछ,” उनले थपे।
फिनल्यान्ड छाड्नु अगाडी आफू विभिन्न कानुनी प्रक्रियामा फसेको पनि उनले जानकारी दिए, तर त्यसबारे विस्तृतमा कुरा गर्न चाहेनन्।
लगातार नवौँ पटकसम्म संयुक्त राष्ट्र सङ्घको वर्ल्ड ह्याप्पिनेस रिपोर्टमा ‘संसारको सबैभन्दा खुसी देश’ को ताज पहिरिएको फिनल्यान्ड सागरका लागि मात्र हैन अहिले धेरै विदेशीहरू र आप्रवासीहरूका लागि ‘टुटेको सपना’ को विम्ब बनिरहेको छ।
फिनल्यान्ड छाडिरहेका आप्रवासीका अनुभव समेटिएका पोस्टहरू अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन्। तीमध्ये केहीलाई समेटेर नेपालीलाइनेनले यो फिचर तयार गरेको हो।
मूलतः रेडिट र फेसबुक ग्रुपहरूमा पोखिएका बिदाइ सन्देशहरूमा फिनल्यान्ड छाड्नेहरूमा थोरै आक्रोश, तर त्योभन्दा बढ्ता एउटा गहिरो प्रेम र बाध्यात्मक बिछोडको पीडा झल्केको देखिन्छ।
१२ वर्षपछि बिदा
“मैले सधैँ फिनल्यान्डलाई मेरो अन्तिम घरको रूपमा कल्पना गरेको थिएँ,” एक आप्रवासी जसले आफ्नो १२ वर्षको जवानी यहाँ बिताए, भावुक हुँदै लेख्छन्। “तर अहिले हामीलाई महसुस भयो, हामी हाम्रो त्यो सपना यहाँ पूरा गर्न सक्दैनौँ।”
ठिक १२ वर्षअघि १९ वर्षका उनी आँखामा ‘युरोपियन ड्रिम’ र मनमा अनौठो उत्साह बोकेर मेक्सिकोबाट फिनल्यान्ड ओर्लिएका थिए। एक दशकभन्दा बढी समयमा उनले यहाँ धेरै थोक पाए। दुई वटा डिग्री, एउटा सम्मानजनक जागिर, मायालु श्रीमती र शान्त जीवन।
“फिनल्यान्डले मलाई मैले मागेभन्दा धेरै दियो,” उनी सम्झन्छन्। तर आज उनी र उनकी श्रीमती भारी मन लिएर आयरल्यान्डतर्फ लाग्दै छन्। किन? किनकि ‘खुसी देश’ को तथ्याङ्कले उनीहरूको भान्साको चिन्तालाई समेट्न सकेन।
पछिल्लो समय रोजगारीको बजारमा आएको अस्थिरताले उनीहरूलाई धेरै मानसिक तनाव दियो।
“मेरो जागिर महिनौँदेखि ले-अफको खतरामा थियो, र मेरी श्रीमती विगत चार वर्षदेखि एउटा जागिरबाट अर्कोमा भौँतारिरहेकी छिन्,” उनी लेख्छन्।
हेलसिन्कीको कुनै कुनामा आफ्नै घर बनाउने र पछाडिको आँगनमा बच्चाहरू हुर्काउने उनीहरूको सपना आर्थिक अनिश्चितताको तुषारोका कारण अब सपना नै रहने भयो।
अन्ततः उनीहरूले शून्यबाट फेरि सुरु गर्ने जोखिम मोल्दै फिनल्यान्ड छोड्ने निर्णय गरे।
फिनल्यान्ड छोड्नेहरूले फिनल्यान्डलाई घृणा गरेर छोडिरहेका छैनन्, बरु यहाँका सम्झनालाई लिएर र तीतो मन बनाएर छोडिरहेका छन्। उनीहरूमा फिनिस संस्कृति, यहाँको समाज, र प्रकृतिप्रति पनि अगाध प्रेम रहेको देखिन्छ।
कुओपियोमा अध्ययनरत एक पाकिस्तानी मुस्लिम छात्राको अनुभव यसको ज्वलन्त उदाहरण हो। केही वर्ष अघि मात्र फिनल्यान्ड आएकी उनी यहाँको व्यक्तिगत स्वतन्त्रता र सुरक्षाबाट मन्त्रमुग्ध थिइन्।
“म एउटा यस्तो पारिवारिक वातावरणमा हुर्किएँ जहाँ ‘व्यक्तिगत स्पेस’को कुनै गुञ्जायस थिएन,” उनी लेख्छिन्। “तर यहाँ दुई जना फिनिस फ्ल्याटमेटहरूसँग बस्दा मैले जुन खुलापन र स्वीकार्यता पाएँ, त्यो मेरो लागि वरदान थियो।”
उनका बिचारमा इमानदारिता र निस्वार्थ सहयोग फिनिस समाजको एक सुन्दर पक्ष हो, जुन उनले यहाँ मज्जाले भोगिन्।
तर उनलाई पनि जागिरको अभावले उनको यो फिनल्यान्डप्रतिको प्रेमलाई लामो समय टिक्न दिएन।
“अहिलेको रोजगारीको अवस्थाले गर्दा यहाँ बाँच्न धेरै गाह्रो भएको छ,” उनी दुखेसो पोख्छिन्, “फिनल्यान्ड छोड्ने निर्णयले मेरो मुटु खुम्चिएर दुखेको महसुस भइरहेको छ।”
यहाँको समाजले व्यक्तिलाई त स्वागत गर्छ, संस्कृतिले लोभ्याउँछ, तर अर्थतन्त्रले टिकाउन सकिरहेको छैन।
लुकेको रोजगार बजारले दिएको पिडा
फिनल्यान्डमा बस्ने आप्रवासीहरूको अनुभव सुन्दा र पढ्दा लाग्छ विदेशीका लागि यहाँ सबैभन्दा ठुलो पर्खाल भाषा र ‘लुकेको रोजगार बजार’ हो।
अर्थात् फिनल्यान्डमा धेरैजसो जागिरहरू विज्ञापन नै गरिँदैनन्, बरु नेटवर्किङ र सिफारिसका आधारमा भरिन्छन्। श्रम बजारको तथ्याङ्क पनि त्यसै भन्छ। र विदेशी समुदायका व्यक्तिहरूका लागि त्यो ठूलो कठिनाई रहेको देखिन्छ।
“तीन महिनाअघि मैले अन्तिम पटक जागिर खोज्ने प्रयास गरेको थिएँ। तर धेरै असफल प्रयासहरूपछि मैले हार मानेँ। म यो सप्ताहान्त घर फर्किँदै छु,” ९ वर्ष फिनल्यान्डमा बिताएका अर्का एक आप्रवासीले आफ्नो पीडा व्यक्त गर्छन्।
९ वर्ष छोटो समय होइन। यो लगभग एउटा दशक हो। एक दशकमा मानिसले संस्कृति सिक्छ, कर तिर्छ, र समाजको अङ्ग बन्छ। तर फिनल्यान्डको श्रम बजारले यी अनुभवी आप्रवासीहरूलाई पनि ‘आफ्नो’ मान्न नसकेको देखिन्छ।
फिनिस भाषाको क्लिष्टता र रोजगारदाताहरूको रूढिवादी सोचले गर्दा धेरै दक्ष विदेशीहरू यहाँको सिस्टमबाट बाहिरिन बाध्य छन्।
फर्किनै पर्नेहरू पनि पिडामा
फिनल्यान्ड छोड्नेहरू बाध्यात्मक अवस्थाका मात्र छैनन्। कोही कोही त छोटो समयका लागि आएकाहरूका लागि पनि यो देश छाडेर जानु भारी परिरहेको देखिन्छ।
“मलाई साल्मियाक्की निकै मन पर्यो, क्रिसमसका बेला योलुतोर्तु (क्रिसमस टार्ट) त दिनमा ५ वटा सम्म खाएँ,” फ्रान्सबाट आएका एक इरास्मस विद्यार्थी फिनल्यान्डप्रति आफ्नो मायाको बयान गर्छन्। “सबैभन्दा धेरै त मलाई यहाँको ‘अन्तर्मुखी स्वभाव’ मन पर्छ। अपरिचितलाई हाइ हेलो गर्न पनि नपर्ने, कस्तो गज्जब!”
युभास्कुलादेखि देखि ल्यापल्याण्डसम्मको यात्रामा उनले फिनिस प्रकृतिको मात्र होइन, यहाँको ‘मौनता’सँग पनि प्रेममा परे।
एक फ्रान्सेली नागरिक भएर पनि उनी फिनल्यान्डको शान्त र नियम पालना गर्ने समाजमा आफूलाई बढी ‘फिट भएको’ महसुस गरे।
“बस स्टपमा भेटिएका ६० वर्षीय वृद्धदेखि बारका युवा युवतीहरूसम्मको अन्तरक्रियाले मलाई यहाँ आफूलाई स्वागत गरिएको महसुस गरायो,” उनी भन्छन्। ” म एक्सचेन्जमा आएकाले आफ्नै देश फर्किनु त पर्छ नै, तैपनि फर्किन मनले मानिरहेको छैन।”
किन रित्तिँदै छ संसारकै ‘खुसी’ देश?
फिनल्यान्डको जनसङ्ख्या बुढ्यौलीतर्फ ढल्किँदै छ। अर्थतन्त्र बचाउन आप्रवासी कामदारहरूको आवश्यकता छ भनेर नीतिगत तहमा बारम्बार बहस हुने गरेको छ। तर, नीति र व्यवहारको खाडल गहिरो छ।
विश्वव्यापी आर्थिक मन्दी र प्रविधि क्षेत्रमा आएको गिरावटले नोकियाको देशलाई पनि अछुतो राखेको छैन। स्टार्टअपहरू सङ्घर्ष गरिरहेका छन् भने ठुला कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका छन्।
आप्रवासीप्रति अनुदार सरकार र एआईको दबदबा पनि समस्याको रुपमा देखिएको छ।
अर्कोतर्फ ‘फिनिस भाषा नजान्नेलाई जागिर छैन’ भन्ने अघोषित नियमले अङ्ग्रेजी बोल्ने दक्ष जनशक्तिलाई पनि विस्थापित गरिरहेको छ।
फिनल्यान्डमा शिक्षा र स्वास्थ्य सेवा उत्कृष्ट छ, तर बढ्दो महँगी र अस्थिर आम्दानीले मध्यम वर्गीय परिवारलाई, विशेष गरी आप्रवासीहरूलाई, यहाँ टिक्न गाह्रो बनाएको छ।
लाग्छ, हेलसिन्की विमानस्थलबाट उड्ने हरेक जहाजसँगै फिनल्यान्डले केवल एक यात्रु गुमाइरहेको छैन, उसले एउटा सपना, एक दक्षता र एक सम्भावित भविष्य गुमाइरहेको छ।
“यो कठिनाइ छिट्टै एउटा अँध्यारो जाडोको दिन जस्तै बितेर जाओस्,” १२ वर्ष फिनल्यान्ड बिताएर छाड्ने एक आप्रवासी भन्छन्। “जतिसुकै लामो र अँध्यारो जाडो भए पनि वसन्त त आउँछ। हामी त कहाँ भइन्छ थाहा छैन, तर यहाँ सङ्घर्ष गरिरहेका अरु आप्रवासीहरूलाई छिट्टै वसन्त आओस्।”




![हेलसिन्कीमा नव-नाजी समूह र प्रदर्शनकारीबिच झडप, पाँच पक्राउ [भिडियो सहित]](https://nepalilainen.fi/wp-content/uploads/2026/05/sini-musta-liike-police-protests-helsinki-324x235.webp)



