📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- अगस्ट २०२६ देखि रेस्सु स्कुलमा नयाँ कक्षा सुरु हुने।
- अंग्रेजी भाषा परीक्षा बिना नै दुई वर्षसम्म अध्ययन गर्न पाइने।
- हेलसिन्कीमा अस्थायी रूपमा बस्ने विदेशी बालबालिकालाई विशेष प्राथमिकता।
हेलसिन्कीस्थित रेस्सु कम्प्रिहेन्सिभ स्कुलले अगस्ट २०२६ देखि अस्थायी रूपमा फिनल्यान्डमा बसोबास गरिरहेका बालबालिकाका लागि नयाँ मुख्यतः अंग्रेजी भाषामा सञ्चालन हुने कक्षा सुरु गर्ने भएको छ।
यो व्यवस्था कक्षा १ देखि ९ सम्मका अर्थात् करिब ७ देखि १६ वर्ष उमेर समूहका विद्यार्थीका लागि लक्षित छ। विद्यार्थीलाई यस्ता कक्षामा बढीमा दुई वर्षसम्मका लागि भर्ना गरिनेछ।
यो नयाँ कक्षा विशेषतः सीमित अवधिका लागि फिनल्यान्ड आएका छन् र हेलसिन्कीमा बसिरहेका परिवारका बालबालिकाका लागि हो।
विद्यालयका अनुसार यो व्यवस्था रेस्सुको हाल सञ्चालनमा रहेको नियमित अंग्रेजी-भाषा कार्यक्रमभन्दा फरक हुनेछ।
नियमित अंग्रेजी कार्यक्रमका लागि विद्यार्थीले भाषा परीक्षण पास गर्नुपर्ने हुन्छ, तर अस्थायी भर्नाको यो नयाँ कक्षाका लागि अंग्रेजी दक्षताको परीक्षण गरिने छैन। त्यस्तै, यसअघि अंग्रेजी माध्यममा अध्ययन गरेको अनुभव पनि अनिवार्य मानिने छैन।
एउटै कक्षामा विभिन्न उमेर र तहका विद्यार्थीहरू समावेश हुन भने सक्नेछन्।तर सम्भव भएसम्म ती विद्यार्थीलाई आफ्नो उमेर समूहअनुसार विद्यालयका अन्य अंग्रेजी अध्यापन समूहसँगै अध्ययन गराउने व्यवस्था मिलाइनेछ।
यस्ता छन् सर्तहरू
अस्थायी रूपमा अंग्रेजी-भाषामा पढाइने कार्यक्रममा भर्ना हुन केही सर्तहरू भने पूरा गर्नुपर्नेछ। यसरी पढ्ने विद्यार्थी अस्थायी रूपमा फिनल्यान्डमा बसिरहेको हुनुपर्छ र हेलसिन्कीमा बसोबास गरेको प्रमाण दिनुपर्नेछ।
साथै, विद्यार्थी फिनल्यान्डको नागरिक हुनु हुँदैन, फिनल्यान्डमा जन्मिएको पनि हुनु हुँदैन, र फिनिस भाषामा अध्ययन गर्न आवश्यक योग्यता नपुगेको हुनुपर्छ।
विद्यार्थीको अंग्रेजी भाषा सीप नियमित अंग्रेजी-भाषा शिक्षाका लागि पर्याप्त नभएको, वा अन्य कारणले नियमित अंग्रेजी-भाषा कार्यक्रमका मापदण्ड पूरा नगरेको हुन सक्नेछ।
आवेदन प्रक्रिया वर्षैभरि खुला रहनेछ। निवेदनहरू हरेक दुई हप्तामा हेरिने छन्। कक्षामा स्थान खाली भएमा र आवेदकले सबै मापदण्ड पूरा गरेमा सकारात्मक निर्णय दिइनेछ। त्यसपछि विद्यालयले परिवारलाई सम्पर्क गरेर बालबालिकाले कहिलेदेखि विद्यालय सुरु गर्न सक्ने जानकारी दिनेछ।
विद्यालयले दिएको स्थान भने तुरुन्त स्वीकार गर्नुपर्ने छ।
आवेदन दिँदा विद्यार्थीको पछिल्लो शैक्षिक प्रमाणपत्र र फिनल्यान्डमा अस्थायी रूपमा बसेको प्रमाण पेस गर्नुपर्छ। अध्यागमनले दिएको ‘ए’ (A) वा ‘बी’ (B) परमिट वा अभिभावकको अस्थायी रोजगारीको सम्झौतालाई प्रमाणको रूपमा लिन सकिनेछ।
दुई वर्षको अध्ययनपछि यो अस्थायी भर्ना स्वतः खारेज हुन्छ। त्यसपछि पनि परिवार फिनल्यान्डमै बस्ने निर्णयमा पुगेमा बालबालिकाको लागि नयाँ स्कुलमा आवेदन दिनुपर्नेछ।
दुई वर्षपछि विद्यार्थीले फिनिस वा स्विडिस भाषा नजानेको खण्डमा तयारी कक्षाको लागि आवेदन दिन सक्छन्। भाषा सिकेको अवस्थामा भने आफ्नो ठेगाना अनुसारको स्थानीय फिनिस वा स्विडिस स्कुलमा जान सकिन्छ।
रेस्सु कम्प्रिहेन्सिभ स्कुल हेलसिन्कीको एक प्रतिष्ठित र पुरानो सार्वजनिक विद्यालय हो।
फिनल्यान्डमा विदेशी कामदार र अनुसन्धानकर्ताहरूको संख्या बढ्दै जाँदा अंग्रेजी माध्यमका निःशुल्क विद्यालयहरूमा भर्ना पाउन निकै प्रतिस्पर्धा हुने गरेको छ।
नियमित अंग्रेजी कक्षाहरूमा भर्ना हुन प्रवेश परीक्षा अनिवार्य हुने भएकाले यो नयाँ अस्थायी कक्षाले काम वा अध्ययनको सिलसिलामा छोटो समयका लागि फिनल्यान्ड आउने विदेशी परिवारलाई आफ्ना बालबालिकाको पठनपाठन सुचारु गर्न ठूलो राहत दिनेछ।








