विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा बन्यो विश्वकै सबैभन्दा ठुलो पानीजहाज, तुर्कुबाट सुरु गर्‍यो पहिलो यात्रा

फिनल्यान्डको तुर्कुमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रुज पानीजहाजले युरोपेली जलक्षेत्रको यात्रा गर्दै स्पेनतर्फ आफ्नो पहिलो समुद्री यात्रा सुरु गरेको छ।

संक्षेपमा


  • विश्वकै विशाल पानीजहाजको तुर्कुबाट यात्रा सुरु।
  • आगामी जुलाईदेखि भूमध्यसागरमा व्यावसायिक क्रुज यात्रा थालिने।
  • लेजर मापनबाट जहाज अघिल्ला संस्करणभन्दा केही मिलिमिटर लामो रहेको पुष्टि।

फिनल्यान्डको तुर्कु शिपयार्डमा निर्माण गरिएको विश्वकै सबैभन्दा ठूलो क्रुज पानीजहाज लेजेन्ड अफ द सिजले आफ्नो यात्रा थालेको छ। बिहीबार बिहान ३ बजे तुर्कुबाट यो जहाज भूमध्यसागरतर्फ प्रस्थान गरेको हो।

यो तुर्कुमा निर्माण भएको ‘आइकन’ क्लासको तेस्रो विलासी जहाज हो। हाल मेयर तुर्कुको शिपयार्डमा चौथो जहाजको निर्माण कार्य पनि भइरहेको छ।

युरोपेली जलक्षेत्रमा क्रुज गर्ने यो पहिलो आइकन क्लास जहाज हुनेछ। आउँदो जुलाईदेखि यसले भूमध्यसागरमा यात्रुहरूलाई सेवा दिनेछ।

गर्मीयाम सकिएपछि आफ्ना अन्य जहाजहरू जस्तै यो पनि क्यारिबियनतर्फ लाग्नेछ। यद्यपि सन् २०२७ को समरमा यो फेरि भूमध्यसागरमै फर्किनेछ।

मरिनट्राफिक वेबसाइटका अनुसार यो जहाज आगामी बुधबार अर्थात् २४ जुन २०२६ मा स्पेनको काडिज पुग्नेछ।

विज्ञापन
विज्ञापन सकियो

३६५ मिटर लामो र ६५ मिटर चौडा यो जहाजमा सामान्यतया ५,६०० यात्रु अटाउँछन्। तर आवश्यकता पर्दा यसले ७,६०० सम्म यात्रु बोक्न सक्छ।

आधिकारिक रूपमा यो अघिल्ला जहाजहरूकै आकारको भए पनि लेजर मापनमा केही मिलिमिटर लामो देखिएको छ।

जहाजभित्र सातवटा स्विमिङ पुल र दसवटा जाकुजी रहेका छन्। साथै सर्फ सिमुलेटर, एक्वाडोम र ब्रोडवे शैलीको थिएटर पनि समावेश छ।

फिनल्यान्डको तुर्कु शिपयार्ड विश्वकै अत्याधुनिक पानीजहाज निर्माण गर्ने प्रमुख केन्द्र हो। जहाज निर्माण उद्योग फिनल्यान्डको अर्थतन्त्र र निर्यातको एक महत्त्वपूर्ण हिस्सा मानिन्छ। यहाँ हजारौँ स्थानीय, आप्रवासी कामदार र प्राविधिकहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप