📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goकुनै सामुदायिक अभियान अप्ठ्यारोमा पर्दा हामीसँग सामान्यतः दुई विकल्प हुन्छन्: किनारामा बसेर कमजोरी गन्ने, वा पहिले त्यसलाई डुब्नबाट जोगाउने र त्यसपछि कमजोरी सच्याउने।
फिनल्यान्डमा आगामी अगस्ट ८ मा आयोजना हुन लागेको ‘नेपाल डे फिनल्यान्ड २०२६‘ अहिले आर्थिक सङ्कटमा छ। आयोजक गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) फिनल्यान्ड र फिनिस–नेपाली सोसाइटीका अनुसार कार्यक्रमको अनुमानित लागत २० हजार युरोभन्दा बढी छ।
खाद्य स्टल, व्यावसायिक सहभागिता र प्रायोजनबाट खर्च जुटाउने योजना अपेक्षाअनुसार सफल हुन नसकेपछि आयोजकले समुदायसँग आर्थिक सहयोग मागेका छन्। स्वैच्छिक सहयोग सङ्कलनका लागि फिनल्यान्ड प्रहरीबाट अधिकतम १० हजार युरोसम्मको अनुमति पनि लिइएको छ।
बिस हजार युरो सानो रकम होइन। खर्च किन यति धेरै भयो? बजेट पहिल्यै सुरक्षित नगरी यति ठुलो कार्यक्रम किन तय गरियो? दुई संस्थाले मात्र सबै नेपालीको प्रतिनिधित्व कसरी गर्न सक्छन्? कार्यक्रम समुदायको हो भने समुदायलाई योजना निर्माणदेखि नै किन व्यापक रूपमा सहभागी गराइएन?
यी सबै प्रश्न जायज छन्। प्रश्न उठाउनु नकारात्मकता होइन; बरू सार्वजनिक र सामुदायिक काममा प्रश्न उठ्नु नै स्वस्थ संस्कृतिको सङ्केत हो। तर प्रश्नको समय, उद्देश्य र परिणाम पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
आज कार्यक्रम रद्द हुने वा कमजोर रूपमा प्रस्तुत हुने जोखिममा हुँदा केवल आलोचनाको आगो तापेर बस्नु जिम्मेवार व्यवहार हुँदैन।
हामीलाई लाग्छ अहिलेको प्राथमिकता नेपाल डेलाई सफल बनाउनु हो। गम्भीर हिसाबकिताब, संरचनागत समीक्षा र भविष्यको बाटोबारे बहस अगस्ट ८ पछि गर्नुपर्छ।
दुई संस्थाको मात्र कार्यक्रम होइन
नेपाल डेको अवधारणा अघि सार्ने, पहिलो पटक त्यसलाई मूर्त रूप दिने र यो वर्ष ठुलो मञ्चमा लैजाने साहस एनआरएनए फिनल्यान्ड र फिनिस–नेपाली सोसाइटीले गरेका हुन्। यसको श्रेय उनीहरूलाई जान्छ र भविष्यमा पनि जानेछ।
सपना देख्नु सजिलो छ, तर त्यसलाई कार्यक्रमको रूप दिनु कठिन हुन्छ। गत वर्षको सफल सुरुवातले फिनल्यान्डको नेपाली समुदायमा यस्तो साझा उत्सवको आवश्यकता र सम्भावना दुवै प्रमाणित गरेको थियो।
तर नेपाल डे केवल आयोजक संस्थाहरूको नामसँग जोडिएको कार्यक्रम होइन। आयोजक जो भए पनि मञ्चमा त आखिर नेपालको झन्डा उठ्छ, नेपाली सङ्गीत बज्छ, नेपाली खाना र संस्कृति प्रस्तुत हुन्छ, अनि दर्शकले आयोजकको लोगोभन्दा पहिले नेपालको नाम देख्छन्। त्यसैले यसको सफलता आयोजकको मात्र सफलता होइन; यसको कमजोरी पनि उनीहरूको मात्र कमजोरी रहँदैन।
नेपाल डेले फिनल्यान्डमा हुर्किरहेको नयाँ पुस्तालाई आफ्नो जरासँग जोड्ने अवसर दिन्छ। यसले नेपाली भाषा नबोल्ने नेपाली मूलका बालबालिकालाई पनि उनीहरूको सांस्कृतिक परिचय देखाउँछ। यसले फिनिस समाजलाई नेपाल भनेको हिमाल र पर्यटनको पोस्टर मात्र होइन भाषा, कला, सङ्गीत, भोजन, विविधता र जीवन्त समुदाय भएको देश हो भन्ने अनुभूति गराउँछ।

त्यसैले अहिले यो कार्यक्रम सङ्कटमा पर्दा “उनीहरूले आयोजना गरेका हुन्, उनीहरूले नै बेहोरुन्” भन्नु सजिलो भए पनि उचित हुँदैन। सपना उनीहरूले सुरु गरेका हुन्, तर त्यसले बोकेको राष्ट्रिय पहिचान हामी सबैको हो।
त्यसैले यो सङ्कटका बेला जति सकिन्छ आर्थिक सहयोग गरौँ- १०, २०, ३०, ४०, ५० युरो वा त्यो भन्दा धेरै। आयोजकका अनुसार अहिले हरेक सानो-सानो सहयोगको पनि ठुलो अर्थ छ।
त्यसपछि आफ्नो उपलब्धता अनुसार स्वयंसेवा गरौँ। कार्यक्रमको प्रचार गरौँ, फिनिस साथीहरूलाई निम्त्याऔँ, सम्भावित प्रायोजकसँग सम्पर्क गराऔँ वा कम्तीमा निरुत्साहित गर्ने वातावरण नबनाऔँ।
आयोजकका अनुसार आफूले सक्ने सहयोग मोबाइल पेबाट सजिलै 044 0233778 मा पठाउन सकिन्छ। रकम पठाउँदा मेसेजमा Nepal Day 2026 लेख्न भने नभुल्नु होला। यदि बैङ्क ट्रान्सफर मार्फत पठाउँदै हुनुहुन्छ भने खातावालाको नाम Non-Resident Nepali Association Ry र खाता नम्बर FI62 1745 3000 0865 30 प्रयोग गर्नुहोला। त्यसको मेसेजमा पनि Nepal Day 2026 लेख्नु होला।
अगस्ट ८ सम्म हाम्रो साझा लक्ष्य नेपाल डेलाई सफल बनाउनु हो। अगस्ट ८ पछि हाम्रो साझा दायित्व यसलाई अझ पारदर्शी, समावेशी, व्यावसायिक र दीर्घकालीन बनाउनु हो।
अहिले हातेमालो, पछि गम्भिर आत्मसमीक्षा
अहिले सहयोग गरौँ भन्नुको अर्थ कुनै पनि निर्णयमाथि प्रश्न नउठाऔँ भन्ने होइन।
यो वर्षको अनुभवले एउटा वास्तविकता स्पष्ट पारेको छ: २० हजार युरोको कार्यक्रम दुई संस्थाको काँधमा मात्र राखेर दीर्घकालसम्म चलाउन सकिँदैन। गत वर्ष सानो स्थान र कम लागतमा कार्यक्रम सम्भव भयो। तर हेलसिन्कीको केन्द्रमा ठुलो मञ्च, ध्वनि व्यवस्था, सुरक्षा, अनुमति, पूर्वाधार र व्यापक प्रस्तुति चाहने हो भने त्यसअनुसारको संस्थागत संरचना पनि चाहिन्छ।
ठुलो सपना देख्नु गल्ती होइन। तर सपनाको आकार बढाउँदा स्वामित्व, योजना, स्रोत र उत्तरदायित्वको घेरा पनि बढाउनुपर्छ।
नियत जतिसुकै राम्रो भए पनि दुई संस्थाले मात्रै सबैलाई प्रतिनिधित्व गर्न सक्दैनन्। त्यसैले नेपालीलाइनेनको स्पष्ट मत छ: कुनै कार्यक्रमलाई “सबै नेपालीको” भन्नु मात्र पर्याप्त हुँदैन; सबैले आफ्नो आवाज, भूमिका र स्वामित्व महसुस गर्ने संरचना बनाउनुपर्छ।
एनआरएनए फिनल्यान्डका अध्यक्ष योगेन्द्र सङ्ग्रौलाले भविष्यमा नेपाल डेका लागि छुट्टै कन्सोर्टियम वा दर्ता भएको साझा छाता संस्था बनाउनु उपयुक्त हुन सक्ने नेपालीलाइनेनसँगको कुराकानीमा बताएका छन्। हामीलाई लाग्छ त्यो मार्ग नै सबैभन्दा उपयुक्त हुनेछ।
त्यस्तो संरचनामा एनआरएनए र फिनिस–नेपाली सोसाइटी मात्र होइन, फिनल्यान्डमा सक्रिय अन्य नेपाली सङ्घसंस्था, क्षेत्रीय तथा सांस्कृतिक समूह, विद्यार्थी, पेसाकर्मी, कलाकार, व्यवसायी, सञ्चारकर्मी, फिनिस मित्रहरू र नेपालसँग काम गर्ने संस्थाहरूको प्रतिनिधित्व हुन सक्छ। स्पष्ट विधान, जिम्मेवारी बाँडफाँट, बहुवर्षीय योजना, खुला बजेट, र स्वार्थको द्वन्द्व व्यवस्थापनको स्पष्ट रेखा पनि कोरिएको हुनुपर्छ।
फिनल्यान्डमा नेपाललाई माया गर्ने नेपाली मात्र छैनन्। नेपालमा काम गरेका, यात्रा गरेका, अध्ययन–अनुसन्धान गरेका, नेपालीसँग पारिवारिक सम्बन्ध भएका वा नेपाली संस्कृति र प्रकृतिप्रति आकर्षित धेरै फिनिस नागरिक पनि छन्। विश्वविद्यालय, पर्यटन व्यवसाय, विकास सहकार्यका संस्था, रेस्टुरेन्ट, बहु सांस्कृतिक सङ्गठन, कलाकार, नगर निकाय र निजी कम्पनीहरूलाई जोड्न सकिने ठुलो सम्भावना छ।
इन्डिया डे जस्ता कार्यक्रमले ठुलो आकार लिन सक्नुको कारण जनसङ्ख्या मात्र होइन; तिनले समुदाय बाहिरका साझेदार, व्यवसाय, स्थानीय निकाय र मूलधारका दर्शकलाई पनि जोड्न सकेका छन्। नेपाल डेले पनि त्यही दिशामा सोच्नुपर्छ, जानुपर्छ।
नेपाल डे केवल फिनल्यान्डमा रहेका नेपाली आप्रवासीले नेपालीका लागि गर्ने कार्यक्रम बनिरह्यो भने यसको आर्थिक र सामाजिक दायरा सीमित हुन्छ। तर यसलाई नेपाल र फिनल्यान्डबिचको सांस्कृतिक सेतु बनाइयो भने सम्भावना धेरै फराकिलो हुन्छ।
नेपाल डेमा नेपाली खाना र मनोरञ्जनात्मक प्रस्तुति मात्र होइन, पर्यटन, व्यापार, शिक्षा, साहित्य, चलचित्र, हस्तकला, वातावरण, विकास सहकार्य र नेपाल–फिनल्यान्ड सम्बन्धका आयाम पनि समेट्नु पर्छ। कार्यक्रम जति बहु-आयामिक हुन्छ, त्यति नै यसको साझेदारी र आर्थिक आधार बलियो बन्छ।
छुट्टै संरचना बनाउनु भनेको संस्थापक संस्थाहरूको योगदान मेटाउनु होइन; उनीहरूले रोपेको बिरुवालाई समुदायको साझा वृक्ष बनाउनु हो। संस्थापकको सम्मान स्वामित्व बन्द गरेर होइन, अभियानलाई दीर्घजीवी बनाएर हुन्छ।
एनआरएनए फिनल्यान्डलाई नेपाल र फिनल्यान्ड दुवैतर्फ मान्यता प्राप्त साझा संस्था र हामी सबैको अभिभावकका रूपमा यो प्रक्रियाको नेतृत्व लिन नेपालीलाइनेन आग्रह गर्दछ।
समुदाय संकटमा पर्दा सहयोग र आलोचनालाई एक अर्काका विरोधी ठान्ने हाम्रो पुरानो बानी छ। कसैले सहयोग माग्यो भने प्रश्न नसोधी समर्थन गर्नुपर्ने, र कसैले प्रश्न उठायो भने ऊ कार्यक्रम विरोधी ठहरिने प्रवृत्ति स्वस्थ होइन।
तर हामीलाई लाग्छ हामी दुवै काम गर्न सक्छौँ। अहिले कार्यक्रम जोगाउन सहयोग गर्ने र पछि त्यसको संरचना सुधार्न कठोर प्रश्न सोध्ने, र सुधारमा सहभागी हुने।
अगस्ट ८ सम्म हाम्रो साझा लक्ष्य नेपाल डेलाई सफल बनाउनु हो। अगस्ट ८ पछि हाम्रो साझा दायित्व यसलाई अझ पारदर्शी, समावेशी, व्यावसायिक र दीर्घकालीन बनाउनु हो।
त्यसैले हाम्रा सम्पूर्ण पाठकहरूलाई हाम्रो आग्रह छ: यस पटक आयोजकलाई एक्लै नछोडौँ। मञ्चमा दुई संस्थाको नाम भए पनि त्यसमा प्रस्तुत हुने पहिचान नेपालको हो। नेपाल डे बचाउनु हाम्रो आजको जिम्मेवारी हो, र नेपाल डेलाई सबैको बनाउनु भोलिको दायित्व हो।
त्यसैले जति सकिन्छ सहयोग गरौँ।
तर कार्यक्रम सम्पन्न भएपछि “सफल भयो” भन्दै ताली बजाएर विषय बन्द पनि नगरौँ। किनकि राष्ट्रिय प्रतिष्ठाको नाममा चल्ने कार्यक्रम उत्साहले मात्र होइन, सुशासन र साझा स्वामित्वले मात्र टिक्छ। र अगस्ट ९ का दिनदेखि नै नेपाल डे ‘रिफर्म’ को काम पनि सुरु गरौँ।








