📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- फिनिस नेपाली समाजद्वारा नयाँ वर्ष २०८३ को अवसरमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना।
- हेलसिन्कीमा शुक्रबार आयोजित कार्यक्रममा सहभागीहरूको बाक्लो उपस्थिति।
- स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति र भजन मुख्य आकर्षण।
फिनिस नेपाली समाजको आयोजनामा फिनल्यान्डमा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार हेलसिन्कीको माल्मीमा आयोजित शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा फिनल्यान्डको राजधानी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको बाक्लो उपस्थिति थियो। बेलुका सात बजेतिर कार्यक्रम स्थल सहभागीहरूले खचाखच भरिएको थियो।
समाजकी अध्यक्ष रुक्मिनी भट्टराईको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। भट्टराईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन्।
कार्यक्रममा अतिथीको रुपमा उपस्थित भएका गैर आवासीय नेपाली संघ (NRNA) फिनल्यान्डका अध्यक्ष योगेन्द्र संग्रौला, समाजका सल्लाहकार तथा नेपालीलाइनेनका प्रधान सम्पादक मनोज भुसाल, र समाजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार नविन भट्टराई लगायतले शुभकामना मन्तव्य दिएका थिए।
कार्यक्रमको संचालन समाजकै सुरज भट्टराईले गरेका थिए भने भरत गिरीले स्वागत मन्तव्य राखेका थिए।
यस्ता थिए मुख्य आकर्षण
कार्यक्रममा स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। एमआरआर फिनल्यान्ड समूह र स्थानीय भजन टोलीले मनमोहक आध्यात्मिक भजन प्रस्तुत गरेका थिए। गायक शिव पाण्डे र प्रविन खरेलले पनि सांगीतिक प्रस्तुति दिएका थिए।
कार्यक्रममा स-साना बालबालिकाले समेत नृत्य प्रस्तुत गरेका थिए।
“फिनल्यान्डमै जन्मेका बालबालिकाहरु यसरी नेपाली गितमा नाचेको देख्दा निकै खुसी लाग्यो।” कार्यक्रममा सहभागी हुन पुर्वी हेलसिन्कीदेखि आएका एक पुरुषले नेपालीलाइनेनलाई प्रतिक्रिया दिदै भने। “जहाँ जन्मे पनि, जहाँ हुर्के पनि हाम्रो पहिचान नेपाली हो। हाम्रो भाषा नेपाली हो। त्यसलाई भुल्नु हुँदैन।”
नृत्यमा सहभागी कलाकारहरूलाई राभिन्तोला डालिकाले पुरस्कार स्पोन्सर गरेको आयोजकले जनाएको छ।
कार्यक्रमको फुड पार्टनरको रूपमा हेलसिन्कीको परिकार रेस्टुरेन्ट रहेको थियो। उक्त रेस्टुरेन्टले कार्यक्रम स्थलमा मोमो, समोसा र नेपाली चिया लगायतका परिकारहरू बिक्री गरेको थियो।
आयोजक फिनिस नेपाली समाजले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगीहरू प्रति आभार व्यक्त गरेको छ।
फिनिस नेपाली समाज फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूको हकहित र सांस्कृतिक प्रवर्द्धनका लागि करिब २० वर्ष अघि स्थापना भएको सक्रिय संस्था हो। उक्त संस्थाले तीज, दसैँ, नेपाली नयाँ वर्ष लगायतका महत्वूर्ण नेपाली पर्वहरूमा नियमित रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ।








