📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- सन् २०२५ मा सबैभन्दा धेरै विद्यार्थी भिसा पाउनेमा नेपाली अगाडि।
- कुल २५४७ नेपालीले पाए फिनल्यान्डको पहिलो आवासीय अनुमति।
- विद्यार्थी र पारिवारिक भिसामा आकर्षण, ३५६ को आवेदन अस्वीकृत।
सन् २०२५ मा फिनल्यान्डमा आवासीय अनुमति (रेसिडेन्स पर्मिट) पाउने विदेशीहरूमध्ये नेपाली विद्यार्थीको सङ्ख्या उल्लेख्य रहेको पाइएको छ।
सन् २०२५ मा फिनल्यान्ड आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमध्ये नेपाल पहिलो नम्बरमै परेको छ। गत वर्ष १२३८ जना नेपाली विद्यार्थीले अध्ययनका लागि फिनल्यान्डको आवासीय अनुमति पाएका छन्।
विद्यार्थी भिसामा नेपालपछि बङ्गलादेश दोस्रो स्थानमा रहेको छ। त्यहाँबाट १०४१ जना विद्यार्थी फिनल्यान्ड आएका थिए। त्यसपछि क्रमशः भारत, पाकिस्तान, श्रीलङ्का र चीनबाट विद्यार्थीहरू अध्ययनका लागि यहाँ आएका थिए।
समग्र तथ्याङ्क पनि उच्च
विद्यार्थीको सङ्ख्यामा नेपाल अगाडि भए पनि समग्र आप्रवासीको सङ्ख्यामा भने नेपाल पाँचौँ स्थानमा रहेको छ। समग्रमा भारत, फिलिपिन्स, बङ्गलादेश र श्रीलङ्कापछि नेपालबाट सबैभन्दा धेरै मानिस फिनल्यान्ड भित्रिएका हुन्।
मिग्रीको तथ्याङ्कअनुसार गत वर्ष मात्रै २५४७ जना नेपालीले पहिलो पटक फिनल्यान्डको आवासीय अनुमति प्राप्त गरेका थिए।
तथ्याङ्कअनुसार नेपालबाट विद्यार्थी भिसा मात्र नभई पारिवारिक सम्बन्ध अर्थात् फेमिली टाइजका आधारमा आउनेको सङ्ख्या पनि ठुलो छ। गत वर्ष १०९२ जना नेपालीले पारिवारिक सम्बन्धका आधारमा आवासीय अनुमति पाएका छन् भने २१७ जनाले कामदार भिसा प्राप्त गरेका छन्।
धेरैले अनुमति पाए पनि केही आवेदनहरू भने अस्वीकृत भएका छन्। गतवर्ष कुल ३५६ जना नेपालीको आवासीय अनुमति आवेदन अस्वीकृत भएको तथ्याङ्कले देखाएको छ।
यसमा सबैभन्दा धेरै १४७ जनाको विद्यार्थी भिसा आवेदन अस्वीकृत भएको छ। त्यस्तै ९२ जनाको कामदार भिसा र ११५ जनाको पारिवारिक भिसाको आवेदनमा अध्यागमनले रोक लगाएको थियो।
फिनल्यान्डले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष कामदार भित्र्याउन आफ्नो अध्यागमन नीतिलाई केही लचिलो बनाएको छ।
विशेष गरी दक्ष जनशक्तिको अभाव पूर्ति गर्न र शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्न फिनिस सरकारले ‘ट्यालेन्ट बुस्ट’ जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसको प्रत्यक्ष लाभ नेपाली विद्यार्थीहरूले उठाइरहेका छन्।
तर आर्थिक रुपमा संकट भोगिरहेको फिनल्यान्डले विद्यार्थी भिसालाई फेरी कडाई गर्ने तयारी गरेको छ।








