संक्षेपमा
- हेलसिन्की महानगरका १५ प्रतिशतभन्दा बढी कर्मचारीहरू विदेशी मूलका।
- स्वास्थ्य र शिक्षा क्षेत्रमा आप्रवासी महिलाहरूको रोजगारीमा उच्च संलग्नता।
- कामकै सिलसिलामा फिनिस भाषा सिक्ने क्रम बढ्यो।
फिनल्यान्डमा सरकारी जागिर खाने आप्रवासीको सङ्ख्यामा उच्च वृद्धि देखिएको छ। आप्रवासन बढेसँगै पछिल्लो दस वर्षमा यस्तो ‘ट्रेन्ड’ देखिएको हो। खासगरि फिनल्यान्डका ठूला सहरहरूमा यो वृद्धि स्पष्ट देखिएको छ।
उदाहरणका लागि हेलसिन्की महानगरपालिकामा कार्यरत कर्मचारीहरूमध्ये करिब प्रत्येक सात जनामा एक जना आप्रवासी पृष्ठभूमिका छन्। फिनल्यान्डको सबैभन्दा ठूलो रोजगारदाताको रूपमा रहेको यो सहरमा विदेशी मूलका मानिसहरूको उपस्थिति तीव्र गतिमा बढिरहेको छ।
सन् २०२३ को तथ्याङ्क अनुसार महानगरका ४० हजार कर्मचारीमध्ये झण्डै ६ हजार आप्रवासी मूलका छन्। यो सङ्ख्या सन् २०१७ देखि तीव्र गतिमा बढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ।
हेलसिन्कीमा काम गर्ने उमेरका कुल जनसंख्यामध्ये २२ प्रतिशत विदेशी मूलका छन्। छिमेकी सहर एस्पूमा २७ र भान्तामा ३१ प्रतिशत यस्ता जनसंख्या रहेका छन्।
स्थानीय कर्मचारीहरू अवकाश हुने क्रम बढेकाले विभिन्न सहरहरुमा नयाँ जनशक्तिको आवश्यकता देखिएको हो।
हेलसिन्की लगायतका ठुला महानगरले खासगरि स्वास्थ्य र प्रारम्भिक शिक्षा क्षेत्रमा विदेशबाटै सक्रिय रूपमा कामदारहरू भर्ना गरिरहेका समेत छन्। यसरी बोलाइएका सयौँ फिलिपिनोहरुले फिनल्यान्डमा काम गर्छन्।
प्रारम्भिक शिक्षा क्षेत्र अर्थात् डे-केयरहरूमा काम गर्न स्पेनबाट समेत शिक्षकहरू ल्याइएको छ।
यसरी काम गर्ने आप्रवासीहरू धेरैजसो महिला (करिब ८०%) छन्। उनीहरु खासगरि स्वास्थ्य सेवा, नर्सिङ, र शिक्षाजस्ता क्षेत्रमा कार्यरत छन्। विज्ञहरुका अनुसार यो वृद्धिले आप्रवासी महिलाहरूको सशक्तिकरणमा ठूलो मद्दत पुर्याएको छ।
फिनल्यान्डमा काम गर्ने धेरै नेपाली आप्रवासीहरू पनि यिनै क्षेत्रमा आवद्ध छन्।
हेलसिन्की महानगरमा ११ प्रतिशतभन्दा धेरै कर्मचारीहरू फिनिस वा स्वीडिस बाहेकका अन्य भाषा बोल्ने छन्। कर्मचारीको भाषा सीप विकास गर्न महानगरले काम गर्ने स्थलमै सहयोग गर्ने नीति लिएको छ। यद्यपी फिनिस भाषा धेरैका लागि अझै पनि चुनौतिकै रुपमा रहेको छ।
फिनल्यान्डमा आप्रवासीहरूको बढ्दो संख्याले यहाँको श्रम बजारको स्वरूप परिवर्तन गरिरहेको छ।
फिनल्यान्डमा “विदेशी मूलका” भन्नाले जसका दुवै अभिभावक विदेशमा जन्मिएका हुन् त्यस्ता व्यक्तिहरूलाई जनाउँछ। यसमा विदेशमा जन्मिएर फिनल्यान्ड आएका र फिनल्यान्डमै जन्मिएका आप्रवासीका सन्तान दुवै पर्छन्।





