विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा निर्वाचित जनप्रतिनिधीको रुपमा मेरो एक वर्ष: सफलता, चुनौती, र भविष्यको बाटो

चुनाव जितेपछि सुरुमा म केही हदसम्म अत्तालिएको थिएँ। कसको सहाराले यी यावत कुराहरू सिक्ने हो भन्ने अन्योल छदै थियो। आफ्नै दल भित्रका निर्वाचित साथीहरूसँग राम्ररी परिचयसम्म पनि हुन पाएको थिएन। तर, फिनल्यान्डको प्रणाली निकै व्यवस्थित हुनु र पार्टीका सहकर्मीहरूले सोचेभन्दा बढी सहयोग र ढाडस दिएका कारण नयाँ वातावरणमा घुलमिल हुन सजिलो बन्दै गयो।

मानसपटलमा आफू जन्मिएको देशको राजनीतिको पदचाप र केही सुषुप्त चित्रहरू बोकेको मजस्तो आप्रवासीका लागि फिनल्यान्डको, एउटा भिन्न खालको राजनीतिक प्रक्रिया र माहौलमा प्रवेश गर्नु र नीति निर्माण तहसम्मै पुग्नु सहज र साधारण विषय होइन।

फिनल्यान्ड हाम्रा लागि केवल भाषागत तहमा मात्र भिन्न छैन। यहाँको राजनीतिक प्रक्रिया, निर्वाचन प्रणाली र कार्य सञ्चालनको तरिकामा पनि धेरै भिन्न र व्यावसायिक छ।

गतवर्ष सन् २०२५ अप्रिलमा भएको निर्वाचनबाट निर्वाचित स्थानीय प्रतिनिधिको भूमिका जुनको ६ बाट औपचारिक रूपमा सुरु भएको हिसाबले मेरो ‘सिटी काउन्सिल’ र ‘काउन्टी काउन्सिल’ (क्षेत्रीय परिषद्) सदस्यको रूपमा एक वर्ष पुरा भएको छ। यो बिचको अनुभव र सिकाईहरुलाई यही सानो लेखोट मार्फत तपाईँहरू माझ सेयर गर्दैछु। 

मेरो यो यात्रा सन २०२१ मै सुरु हुनुपर्ने थियो। त्यति बेला नै मैले चुनावमा उठ्ने योजना बनाएको थिएँ, तर मनमा कता-कता डर र आत्मविश्वासको कमी थियो। केही दुबिधाहरू पनि थिए। “के म यो राजनीतिक परिदृश्यमा भिज्न सक्छु?”, “के आप्रवासीका रूपमा हामीलाई यहाँ राजनैतिक दलभित्र सम्मानजनक स्थान मिल्ला?” यस्तै यस्तै। फलस्वरूप अघिल्लो चुनावमा मैले आँट गर्न सकिनँ।

गतवर्ष भने मैले साहस बटुलेँ। यद्यपि, मसँग फिनिस राजनीतिको कुनै ठुलो सञ्जाल, चिनजान वा अनुभव थिएन।

विज्ञापन
विज्ञापन सकियो

मेरा शुभचिन्तकहरू र नजिकका साथीहरूको निरन्तर हौसलाले मलाई चुनावी मैदानमा होमिन प्रेरित गर्‍यो। नेपाली समुदाय र विभिन्न देशबाट आएर यहाँ बसोबास गर्ने साथीहरूको अटुट विश्वास र समर्थनले नै म आज यो जिम्मेवारीमा आइपुगेको हुँ। यो मेरो व्यक्तिगत जित मात्र नभई, सम्पूर्ण नेपाली समुदायको गर्वको विषय थियो, र रहिरहने छ।  

चुनौतीको चाङ, अनवरत सिकाई  

फिनल्यान्डमा नहुर्किएको र यहाँको राजनीतिमा कुनै पूर्व अनुभव नभएका कारण मेरा लागि सुरुवाती दिनहरू निकै चुनौतीपूर्ण रहे। पार्टीभित्र मेरा कोही चिनजानका व्यक्ति थिएनन्। मैले आफ्नो परिचय र सम्बन्धको प्रत्येक इँटा आफैँले एक-एक गर्दै थप्नुपर्ने अवस्था थियो।

स्थानीय चुनावी अभियानका स्थानीय तौर तरिका सम्मको ज्ञान  थिएन। आफ्नो राजनैतिक दलले आयोजना गरेको प्रचार-प्रसार कार्यक्रममा सहभागी हुँदा अरू साथीहरूको अनुहारमा देखा पर्ने आश्चर्यले एक प्रकारको अप्ठेरो अनुभव गराउँथ्यो। 

तर पनि सकेसम्म प्रयास गरीरहेँ। कहिलेकाहीँ सौहार्दपूर्ण कुराकानी भए भने धेरै पटकका प्रयासहरू औपचारिकता निभाउने मेसो मात्र बने। चुनाव जितेपछि सुरुमा म केही हदसम्म अत्तालिएको थिएँ। कसको सहाराले यी यावत कुराहरू सिक्ने हो भन्ने अन्योल छदै थियो। आफ्नै दल भित्रका निर्वाचित साथीहरूसँग राम्ररी परिचयसम्म पनि हुन पाएको थिएन।  

तर, फिनल्यान्डको प्रणाली निकै व्यवस्थित हुनु र पार्टीका सहकर्मीहरूले सोचेभन्दा बढी सहयोग र ढाडस दिएका कारण नयाँ वातावरणमा घुलमिल हुन सजिलो बन्दै गयो।

यो एक वर्ष दलभित्र अपनत्व निर्माण गर्ने, सम्बन्ध बिस्तार गर्ने, र एकअर्कालाई चिन्ने मौका मिलेको छ। तरपनि व्यस्त समय तालिकाका कारण थुप्रै साथीहरूसङ्ग अझै पनि पूर्ण रूपमा सम्बन्ध निर्माण हुन सकेको छैन। आउँदा दिनहरूमा यो सहज हुँदै जाने आशा छ।

आचार्य भान्ता सहरको नगर परिषद् र भान्ता-केराभा कल्याणकारी परिषद्मा निर्वाचित हुने पहिलो नेपाली हुन्।

परिषद् हलमा मेरो आवाज

काउन्सिलको हलमा आफ्ना कुराहरू राख्न मलाई कम्तीमा एक वर्ष लाग्ला भन्ने मैले सोचेको थिएँ। तर, समयको माग र मेरो आत्मविश्वासले मलाई दोस्रो बैठकबाटै आफ्नो बिचार राख्न सक्ने बनायो। हालसम्म मैले सिटी काउन्सिलमा ७ वटा महत्त्वपूर्ण विषयहरूमा आफ्नो धारणा राखिसकेको छु:

  • गाजा (प्यालेस्टाइन) को मानवीय सङ्कटका बारेमा कमसेकम मानवीय समवेदना देखाउनु पर्ने;
  • विद्यालयका विद्यार्थीहरूको सुरक्षा र भविष्यका बारे नगरपालिकाले प्रो-एक्टिभ भएर काम गर्नु पर्ने 
  • विद्यालयमा मोबाइल फोनको प्रयोगमा कडाइ गर्नुका साथै विद्यार्थीहरूलाई अनलाइनमा उपलब्ध हुने हिंसा र यौन जन्य सामग्रीबाट जोगाउनु पर्ने ; 
  • ट्राम (Tram) विकास योजनाका सन्दर्भमा आफ्नो धारणाका साथै ट्राम निर्माणको समर्थनमा मतदान 
  • आप्रवासीहरूको समायोजन (Integration) का सन्दर्भमा रोजगारका नयाँ अवसरहरू उपलब्ध हुनु पर्ने ; 
  • आप्रवासी समायोजन एकतर्फी भन्दा पनि दुईतर्फी हुनुपर्ने ; (जहाँ स्थानीय समाज र आप्रवासी दुवैले एक अर्कालाई बुझ्न जरुरी छ)
  • अन्तराष्ट्रिय विद्यार्थीको शिप र क्षमताको प्रयोग गर्दै भान्ताको विकासमा तिनीहरूको प्रयोग गर्न रणनैतिक कार्ययोजना बनाउनु पर्ने विषयमा।

अन्तर्राष्ट्रिय विद्यार्थीको सिप र क्षमताको प्रयोग गर्ने रणनीतिक कार्य योजना बनाउनु पर्ने विषयमा मैले बोलेको उक्त वक्तव्यको अंश भान्ता एसडीपीको इन्स्टाग्राम पेजमा अहिले सबैभन्दा धेरै हेरिएको पोस्ट हुन गएको छ। तर उक्त पोस्टमा थुप्रै घृणित र जातिवादी कमेन्टहरू पनि आएका कारण कमेन्ट नै बन्द गर्नु पर्ने अवस्था समेत आएको छ।

त्यसै गरी, काउन्टी काउन्सिलमा मेरो ध्यान स्वास्थ्य र आपत्कालीन सेवामा केन्द्रित छ। विशेष गरी नयाँ आउनेहरूका लागि उनीहरूको आफ्नो  भाषामा कमसेकम आपत्कालीन जानकारी उपलब्ध हुनुपर्ने र सेवा शुल्कको जानकारी स्वास्थ्य सेवा पूर्व नै हुनुपर्ने कुरामा मैले जोड दिँदै आएको छु।

‘प्रजातन्त्र र सहभागिता समिति’ को सदस्यको रूपमा मैले आप्रवासी आमाहरूका लागि विशेष सहयोगको आवाज उठाएको छु। विशेष गरी मातृ शिशु स्याहार सन्दर्भमा, आप्रवासी महिलाहरूको सांस्कृतिक आचरणको अध्ययन गरेर उनीहरूलाई के कुरा ठिक हो वा के होइन भनेर सिकाउन नेउभोलाका नर्स र चिकित्सकहरूलाई तालिम दिनु पर्ने कुरामा जोड दिएको छु।  

मैले आप्रवासी आमाहरूका लागि विशेष सहयोगको आवाज उठाएको छु। विशेष गरी मातृ शिशु स्याहार सन्दर्भमा आप्रवासी महिलाहरूको सांस्कृतिक आचरणको अध्ययन गरेर उनीहरूलाई के कुरा ठिक हो वा के होइन भनेर सिकाउन नेउभोलाका नर्स र चिकित्सकहरूलाई तालिम दिनु पर्ने कुरामा जोड दिएको छु।  

राजनीति: एक सेवा, एक जिम्मेवारी

फिनल्यान्डमा स्थानीय राजनीतिलाई जीविकोपार्जनको माध्यम भन्दा पनि एउटा ‘सोख ‘ वा सामाजिक सेवाको रूपमा लिइन्छ। साथै स्थानीय राजनीति कुनै पद र शक्तिको केन्द्र होइन। तसर्थ, एउटा स्थानीय निर्वाचित प्रतिनिधिको रूपमा हामीसँग आवाज उठाउने भन्दा अतिरिक्त कुनै अरु शक्ति निहित हुँदैनन्। 

हामीले हाम्रा यावत समस्याहरूको बारेमा नगर परिषद्लाई जानकारी गराउने, र नगरका अधिकारीहरूबाट उत्तर माग्ने काम गर्न सक्दछौँ। एउटा स्थानीय प्रतिनिधिको रूपमा कार्य सम्पादन गर्दा, स्थानीय वा मतदाताहरूले आफ्ना समस्याहरू भन्ने र जानकारी गराउने नै सबैभन्दा सशक्त माध्यम हो।  

नगर परिषद्को बैठक प्रत्येक महिना एक पटक र कल्याणकारी काउन्टीको बैठक प्रत्येक दुई महिनामा एक पटक भान्ता नगरपालिकाको परिषद् बैठक कक्षमा बस्ने गर्दछ। समाविष्ट विषयवस्तु र त्यसमा हुने बहसका आधारमा बैठकहरू लम्बिन सक्दछन् तर पनि बैठक हरू कमसेकम तीन घण्टा लामा हुन्छन्। बजेट र ट्राम निर्माण सम्बन्धी बैठक झन्डै १२ घण्टा लम्बिएको थियो।

प्रत्येक बैठक पूर्व उपलब्ध श्रोत सामग्रीको अध्ययनले विषय बस्तु बुझ्न र तयारी गर्न सहजीकरण गर्दछन्। उपलब्ध सन्दर्भ सामग्रीहरू सयौँ पन्ना लामा हुने गर्दछन्।

यहाँ नहुर्किएको मान्छेका लागि सहरको भूगोल र ऐतिहासिक पृष्ठभूमिको जानकारी नहुँदा थप मेहनत आवश्यक पर्दछ। लामा-लामा बैठक र सेमिनारहरू कहिलेकाहीँ थकाइलाग्दा हुन्छन्।  

प्रत्येक सदन बैठक बस्नु पूर्व आफ्नो दलको बैठक अनिवार्य रहन्छ। त्यसै गरी बैठक तयारी स्वरूप जानकारी सत्र, प्रश्न उत्तर सत्र र आवश्यकता अनुसार सेमिनारहरूको आयोजना हुने गर्दछन्। आवश्यकता अनुसार हाम्रो पार्टी (SDP) ले पनि यस्ता सत्रहरूको व्यवस्था गरेको हुन्छ। र तिनमा सहभागी हुनु एउटा नैतिक जिम्मेवारी हुन जान्छ। 

सदन भित्र राजनैतिक दलका आफ्ना उद्देश्य भरिएका प्रस्तावहरू पनि पेस गरिन्छन्। साथै नगर परिषद् सदस्यहरूले आ-आफ्नो प्रस्तावहरू पनि पेस गर्न पाउँछन्, जसलाई सदनको नियमावली अनुसरण गर्दै बैठकमा समावेश गर्ने गरिन्छ।  

सदनमा कहिलेकाहीँ यावत विषयमा अनावश्यक बहस पनि चल्दछ, तर SDP समग्रमा एक मध्यमार्गी जस्तो भएर उभिने गरेको छ । हामी विमतिका निम्ति मात्र आवाज उठाउँदैनौँ। हाम्रा आवाजहरू समस्या पहिचान र समाधान उन्मुख हुन्छन। र मलाइ यो पनि गर्व लाग्छ कि हाम्रो आफ्नो पूर्व तयारी र सहमति काउन्सिलको हलमा स्पष्ट रूपमा देखा पर्दछ । तसर्थ, हाम्रो राजनैतिक दल प्रस्ताव पेस गर्नुपुर्ब त्यसका यावत पक्षको अध्ययन गर्दै छलफल पश्चात् निर्णय लिने चलन छ। यो एउटा राम्रो तरिका हो किनभने यसले नगरपालिका माथि अनावश्यक आर्थिक बोझ थप्दैन।  

यो पटकको सदन भित्र मेरो आफ्नो व्यक्तिगत उद्देश्य चाहिँ आप्रवासी समुदायको आवाजलाई अर्थपूर्ण रूपमा प्रस्तुत गर्नु हो। र नेपाली समुदायलाई प्रतिनिधित्व गर्ने काउन्सिलरको एउटा बेग्लै पहिचान पनि बनाउनु हो जसले गर्दा भोलिका दिनमा हामीलाई हेर्ने दृष्टिकोण अझ सम्मानजनक होस्। 

चुनावको प्रचार प्रसारको समयमा मैले वाचा गरेको थिएँ कि म यहाँका स्थानीय बासिन्दालाई यो कुरा स्पष्ट रूपमा बुझाउन चाहन्छुः “हामी आप्रवासीहरू यहाँ समस्या थप्न होइन, यो देशको विकासमा मूल्य र मान्यता थप्न आएका हौँ।”, र यो प्रयास निरन्तर जारी छ।  

बाँकी तीन वर्षको कार्यकालमा मैले आफ्नो सिकाइलाई अझ निखार्दै लैजाने र अनजानमा भएका साना-साना  गल्तीहरूलाई सुधार्ने प्रण गरेको छु। म विशेष गरी नेपाली समुदायका युवाहरूलाई फिनिस राजनीतिमा सक्रिय हुन आग्रह गर्दछु।

विशेष गरी परिषद्मा अन्य समुदायका प्रतिभाशाली युवा पार्षदहरु (nuoristo valtutettu) हरू देख्दा मलाई हाम्रो समुदायबाट पनि त्यस्तै नेतृत्व आइदिए हुन्थ्यो जस्तो लाग्दछ ।

यदि कोही राजनीतिमा लाग्न चाहनुहुन्छ भने, मार्ग निर्देशन गर्न र मेरो अनुभव बाँड्न सधैँ तत्पर छु। मेरो बाटो जति कठिन थियो, अब आउने नयाँहरूको  त्यति कठिन नहोस् भन्ने मेरो चाहना हो

यदि कोही राजनीतिमा लाग्न चाहनुहुन्छ भने, मार्ग निर्देशन गर्न र मेरो अनुभव बाँड्न सधैँ तत्पर छु। मेरो बाटो जति कठिन थियो, अब आउने नयाँहरूको त्यति कठिन नहोस् भन्ने मेरो चाहना हो।

भान्ता जस्तो विविधतापूर्ण सहरमा पहिलो प्रयासमै नेपाली प्रतिनिधिलाई जिताउनलाई हाम्रो समुदायले खेलेको भूमिका अनुकरणीय छ। यसले वास्तवमा एउटा इतिहास पनि रचेको  छ। यो सदभाव र यो विश्वासको लागि ब्यक्तिगत रूपमा म यहाँहरू प्रति कृतज्ञता जाहेर गर्दछु। तपाईँहरूको विश्वासलाई अझै मजबुत बनाउन र हाम्रो समुदायलाई गौरवान्वित तुल्याउन मेरो  यो यात्रा जारी रहनेछ। 

शेखर आचार्यका अन्य लेखहरू पढ्न यहाँ जानुहोस्

यो पनि पढ्नुहोस्ः

शेखर आचार्य
शेखर आचार्य
शेखर आचार्य फिनल्यान्डको भान्ता नगरपालिकाको निर्वाचित नगर परिषद् सदस्य (सिटी काउन्सिलर) तथा भान्ता र केराभा कल्याणकारी क्षेत्रको निर्वाचित क्षेत्रीय परिषद् सदस्य (काउन्टी काउन्सिलर) हुन्। उनले अमेरिकाबाट एमबिए र फिनल्यान्डको भासा विश्वविद्यालयबाट रणनैतिक व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका छन्।

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप