विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

‘बिहेका लागि सुशीलाले आफैँ तिलहरी किनेर ल्याइन, गिरिजा र मनमोहन बने अभिभावक’

सुशीला कार्की आफ्नो परिवारजनले सोचेजस्तो धन–सम्पत्ति सम्पन्न त हुन नसके पछि न्यायाधीश हुँदै देशको प्रथम महिला प्रधानन्यायाधीशसम्म भएर इमानदार न्यायमूर्तिका रुपमा स्थापित हुन सफल भइन्। मसँग भएको विजातीय रोजी विवाह सुखद रह्यो। मलाई पनि यसमा गौरव छ।

दुर्गा सुवेदी

पुस्तक अंश

मैले सुशीला (कार्की) जीलाई विराटनगरमा जनता प्राथमिक पाठशालाको प्रधानाध्यापक हुँदादेखि नै चिनेको हुँ।

काठमाडौंमा मावलीमा बसेर पढेपछि पाँच कक्षामा भर्ना हुन त्यही स्कुलमा पुग्दा उनलाई पहिलोपटक देखेको थिएँ। पछि जनता स्कुल प्राथमिक र माध्यमिक भनेर छुट्टियो।

मोरङ कलेजमा पढ्दा पनि स्ववियु निर्वाचनमा प्रजातान्त्रिक पक्षको चुनावी अभियानमा उनी संलग्न थिइन्। त्यसपछि म हवाई अपहरणमा संलग्न भई भारतमा भूमिगत बसेँ। जेल परेर मुद्दा खेप्दै थुप्रै वर्ष बिते। भारतीय जेलबाट जमानतमा छुटेर नेपाल फर्किंदा सुशीला वकालत पेसामा स्थापित भई व्यस्त थिइन्।

म मानव अधिकार सङ्गठन, एमनेस्टी इन्टरनेसनलजस्ता संस्थामा सक्रिय भएँ। मेरै सक्रियतामा कृष्ण पहाडी, प्रदीप पोखरेल, शम्भु कार्की र सुशीलाहरू पनि संस्थामा संलग्न भए। यिनै संस्थाको कार्यक्रममा मेरो सुशीलासँग भेट भइरहन्थ्यो।

विज्ञापन
विज्ञापन सकियो

एक दिन अचानक सुशीलाले नै मसँग विवाहको प्रस्ताव राखिन्।

त्यस दिन मैले केही जवाफ दिन सकिनँ। वैवाहिक जीवनमा बाँधिएर घर–परिवार चलाउने मेरो अवस्था थिएन। उनको प्रस्तावले म तरङ्गित भएँ।

विवाहपछिको जीवन कस्तो होला, के गर्ने, के नगर्ने भन्ने कुरा मनमा खेलाउँदै एक हप्ता बित्यो। यस्तो कुरामा कसैसँग सल्लाह लिनु पनि उचित थिएन। त्यसैले उहाँसँगै बसेर खुला विचार–विमर्श गर्ने निधो गरेँ। धरानस्थित उनको ल फर्म पुगेर छलफल गर्दा ज्यादै सरल रुपमा प्रस्तुत भइन्।

‘मैले सबै कुरा सोच–विचार गरेर प्रस्ताव राखेको हो। वकालतको आयबाट परिवार चलाउन सजिलै सम्भव छ। तपाईंको सादगीपूर्ण जीवन र स्वभाव मसँग मिल्छ। हामी मिलेपछि कसले के गर्ने, के भन्ने? म विवाह गरेर विलासी जीवनयापन गर्ने पक्षमा भएको भए उहिल्यै बिहे भइसक्ने थियो,’ उनले भनिन्।

खुला र हार्दिक छलफलपछि हामी विवाह गर्ने टुङ्गोमा पुग्यौँ।

१३ साउन २०४६ मा विराटनगरमा बिहे गर्ने निर्णय भयो। त्यतिबेला विराटनगरको महेन्द्र चोकमा मेरा अनन्य मित्र टीकाप्रसाद उप्रेतीको एउटा रेस्टुराँ थियो। त्यसैको छतमा विवाह समारोह गर्ने कुरा भयो। जलपानको प्रबन्ध टीकाजीले आफ्नै तर्फबाट गरिदिनुभयो।

हाम्रो विवाह समारोहमा उपस्थित हुन गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, नोना कोइराला, शैलजा आचार्य, मञ्जु कोइराला (मातृकाप्रसाद कोइरालाकी पत्नी), विराटनगर पञ्चायतकी भूतपूर्व प्रधानपञ्च शान्ता पोखरेल आदिलाई मौखिक आमन्त्रण गरेको थिएँ।

सुशीलाले पनि भरतमोहन अधिकारी, देवी घिमिरे, माधव भट्टराई, शान्तिराम भण्डारीसहित ६० जनाजति आफ्ना वकिल मित्रलाई बोलाएकी थिइन्।

बोलाएका प्रायः उपस्थित थिए। पत्रकार मोहन भण्डारी, सुवास ढकाल र रामरिझन यादव पनि विवाह समारोहमा आएका थिए।

विवाहमा हामी दुवै परिवारका कोही पनि उपस्थित नभएकाले कसैले अभिभावकत्व लिनुपर्ने कुरा उठ्यो। त्यसपछि गिरिजाप्रसाद कोइराला मेरो र मनमोहन अधिकारी सुशीलाको अभिभावक बन्नुभयो।

विवाहमा कुनै धार्मिक रीति–रिवाज भएन। माला लगाउने र सिन्दूर लगाइदिने मात्र काम भयो। सुशीलाले एउटा सानो तिलहरी बनाएर ल्याएकी थिइन्, यो मैले उनलाई लगाइदिएँ। मैले मेरा तर्फबाट केही पनि लगेको थिइनँ।

हाम्रो समाजमा आदिकालदेखि नै मागी विवाह गर्ने चलन छ। रोजी विवाह त्यति प्रचलनमा छैन। जात, उमेर, धर्म र धन–सम्पत्ति हेरेर मात्र मागी विवाह हुन्छ। जुन बेला हामीले विवाह गर्यौँ, त्यसबेला पनि हामी दुईमा मेल खाने कुरा निकै थोरै थिए। यसैले होला, हाम्रो विवाहमा परिवारका कोही पनि उपस्थित भएनन्। न सुशीलाका, न त मेरो परिवारका।

सुशीला कार्की र मैले २०४६ सालमा रोजी विवाह गरेका हौं। यस्तो विवाहमा मात्र मनको मिलन जरुरी हुन्छ।

सुशीला सम्पन्न क्षत्री परिवारकी उच्च शिक्षा प्राप्त नारी, म ब्राह्मण कूलको पुरुष। त्यसमा पनि राजनीतिक विद्रोहमा सामेल हुँदा सर्वस्वहरणमा परेको। भारतमा जेलनेल र यातना भोगेर आएको। विमान अपहरणको मुद्दामा तारेखमा छुटेको। विवाह हुँदा मुद्दा फिर्ता भइसकेको थिएन। काङ्ग्रेस पार्टी छोडिसकेको र कुनै पेसा–व्यवसाय नभएको। हामीबीच यस्तो विजातीय विवाह हुँदा उनको परिवारले स्वीकार्ने कुरै थिएन।

सुशीलाका माता–पिताले आफ्नी शिक्षित छोरीको बिहे धन–सम्पत्तिले परिपूर्ण पुरुषसँग होस् भन्ने इच्छा राखेका थिए होलान्। तर, उनीहरूले सोचेभन्दा विपरीत सम्बन्ध छोरीले स्थापित गर्दा परिवारबाट उनले तिरस्कारको पीडा भोग्नुपर्यो।

नेपाली समाज जात–भात र उच–निचको कुरालाई लिएर अहिलेसम्म उदार छैन भने त्यो त पञ्चायतकालको कुरा थियो। मसँग विवाह गरेपछि माइती पक्षले सुशीलासँग सम्बन्ध नै तोड्यो। बिहेपछि सुशीला माइती गएकी छैनन्। प्रधानन्यायाधीश भएपछि बल्ल उनका भाइ भेट्न आए।

मेरा दुवै भाइले सुशीलालाई भाउजूका रूपमा स्वीकार गरे। तर, उनीहरूका कट्टर ब्राह्मणी पत्नीहरूले अझै स्वीकार गर्न सकेका छैनन्। उनीहरू अहिले पनि सुशीलाले पकाएको खाँदैनन्।

मेरो परिवारमा पनि त्यस्तो सोच अझै छ। मेरा दुवै भाइले सुशीलालाई भाउजूका रूपमा स्वीकार गरे। तर, उनीहरूका कट्टर ब्राह्मणी पत्नीहरूले अझै स्वीकार गर्न सकेका छैनन्। उनीहरू अहिले पनि सुशीलाले पकाएको खाँदैनन्।

नेपालको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास बनाएकी, सम्पूर्ण नारीका लागि प्रेरणाकी स्रोत भए पनि घरभित्रै उनको कदर भएन। नेपाली समाज कति पछौटे छ र नारीहरूले कस्तोसम्म सहनुपर्छ भन्ने कुराको यो एउटा उदाहरण हो।

बिहे भएको भोलिपल्टैदेखि सुशीला अदालतमा बहस गर्न जान थालिन्। म भने घरको काममा लागेँ। मैले जेल बस्दा नै खाना पकाउने काम सिकेको थिएँ। सुशीलालाई भान्साको काममा फुर्सद पनि हुँदैनथ्यो। र, उनलाई यसबारे त्यति ज्ञान पनि थिएन।

त्यसबेला उनको ल फर्म धरान अञ्चल अदालतछेउ थियो। वकालतको आयबाट उनले त्यहाँ एकतले पक्की घर बनाएकी थिइन्। मोरङको मझोर गाउँको एक सन्थाल युवकलाई घरमा राखेर पढाएकी पनि थिइन्। उसैले भान्सा पनि चलाउँथ्यो। विराटनगरमा सानो दुई कोठाको टिनको छानो भएको मेरो घर थियो। विवाहपछि हाम्रो बसाइ कहिले धरान त कहिले विराटनगरमा हुन थाल्यो।

विराटनगरको यो घर बनाउँदाको पनि कथा छ।

भारतीय जेलबाट जमानतमा छुटेपछि जब म विराटनगर आएँ, मलाई कसैले डेरा दिएनन्। एक त पञ्चायतको बेलाको काङ्ग्रेस, त्यसमाथि विमान अपहरणको मुद्दा लागेको। मानिसहरु प्रशासनको त्रासले मलाई डेरा दिन डराउँथे।

पञ्चायतकालमै विराटनगरको मेयर भएका ठाकुर कोइराला र म सँगै विराटनगर जेलमा बसेका थियौं। नगरपालिकामा भएको भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेकाले म पक्राउ परेको थिएँ। उहाँ हाम्रै आन्दोलनले गर्दा पक्राउ पर्नुभएको थियो।

पछि मैले डेरा नपाएको कुरा गरेपछि उहाँले भन्नुभयो, ‘किन डेरा खोज्दै हिँड्नुहुन्छ। यहाँ मेरो जति पनि जग्गा छ। म तपाईंलाई जमिन दिन्छु, घरै बनाउनूस्।’

त्यसबेला म भारतका पत्र–पत्रिकामा निकै धेरै लेख लेख्थेँ। एउटा लेखको दुई सय भारुजति आउँथ्यो। जोगवनीको युको बैंकमा मेरो खाता थियो, त्यसैमा पैसा आउँथ्यो। त्यसबेला मेरो बैंकमा १५ सयजति भारु थियो। मैले त्यति पैसामा खरले छाएको काठेघर बनाउने योजना बनाएँ। तर, मित्र टीका उप्रेतीले भने, ‘किन त्यस्तो घर बनाउने, इँटाको दिवाल उठाएर टिनले छाउनूस्। हामी सहयोग गर्छौं।’

मेरो कलेजका गुरु इन्द्रमणि न्यौपानेको इँटाभट्टा थियो। उहाँले भन्नुभयो, ‘इँटालाई पैसा हाल्न पर्दैन। मेरोमा बिग्रेका इँटा टन्नै छन्, लैजाऊ।’

मैले तिनै इँटा ल्याएँ। भारतीय पत्रिकाले दिएको पैसाले टिन किनेँ।

बाबुराम भट्टराई र हिसिला यमीसँग मेरो दोस्ती थियो। माओवादी नेता हुनुभन्दा पहिले हिसिला आर्किटेक्ट इन्जिनियर हुनुहुन्थ्यो। उहाँले नै कटेज बनाउनूस् भनेर घरको नक्सा बनाई दिनुभयो। हिसिलाले बनाएको नक्सा अनुसार नै मैले घर बनाएको हुँ। विवाहको एक वर्षपछि धरानको घर बेचेर हामी विराटनगर बस्न थाल्यौं।

हाम्रो विवाह भएको सात महिनापछि २०४६ सालमा प्रजातन्त्र पुनःबहालीका लागि काङ्ग्रेस र वाममोर्चा मिलेर संयुक्त जनआन्दोलन प्रारम्भ गरे। त्यसको पक्षमा देशभरका वकिलहरुले प्रदर्शन गर्न थाले। विराटनगरमा भएको वकिलको प्रदर्शनमा सुशीला पनि सहभागी हुँदा उनलाई पक्राउ गरेर जेल चलान गरियो। म भने भारततर्फ लागेर दिल्लीमा आन्दोलनको प्रवक्ता भई काम गर्न हृषीकेश शाह र प्रदीप गिरीको टिममा सामेल भएँ। आन्दोलन सफल भएर सुशीला जेलमुक्त भएकै दिन म विराटनगर आइपुगेको थिएँ।

नेपालको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा इतिहास बनाएकी, सम्पूर्ण नारीका लागि प्रेरणाकी स्रोत भए पनि घरभित्रै उनको कदर भएन। नेपाली समाज कति पछौटे छ र नारीहरूले कस्तोसम्म सहनुपर्छ भन्ने कुराको यो एउटा उदाहरण हो।

त्यसपछिका दिन धेरै नै अविस्मरणीय रहे।

सुशीला कार्की आफ्नो परिवारजनले सोचेजस्तो धन–सम्पत्ति सम्पन्न त हुन नसके पछि न्यायाधीश हुँदै देशको प्रथम महिला प्रधानन्यायाधीशसम्म भएर इमानदार न्यायमूर्तिका रुपमा स्थापित हुन सफल भइन्। मसँग भएको विजातीय रोजी विवाह सुखद रह्यो। मलाई पनि यसमा गौरव छ।

सुशीलाले आफ्नो वैवाहिक जीवनमा बुहारीको भूमिका निर्वाह गर्नुपरेन। हाम्रो विवाह हुँदा मेरा माता–पिताको मृत्यु भइसकेको थियो। मेरा दुई भाइ कालीदास र सीताराम सुवेदी आ–आफ्नो तरिकाले जीवनयापन गरिरहेका थिए, जसले गर्दा उहाँ वकिल, न्यायाधीश, प्रधानन्यायाधीश, पत्नी र आमाको भूमिका निर्वाह गर्न अत्यन्तै सफल भइन्।

नारीका रुपमा जन्मिएपछि हाम्रो समाजमा आदिकालदेखि नै छोरी, बुहारी र आमा हुँदै सासूसम्मको दायित्व निर्वाह गर्नुपर्छ। सुशीलाले आमासम्मको भूमिका निर्वाह गर्न सफल भइन्। अब सासूको भूमिका बाँकी छ। त्यो पनि सुखद र सफलै हुनेमा म विश्वस्त छु।

(नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका पति दुर्गा सुवेदीको प्रकाशित पुस्तक ‘विमान विद्रोह’को सम्पादित अंश। यो पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो।)

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप