विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

३४ वर्षे सोफिया बनिन् फिनल्याण्डको ग्रिन पार्टी अध्यक्ष, यस्तो छ उनको विगत

उनले व्यक्तिगत चन्दाबाट उठेको २,५०० युरो भन्दा कम बजेटमा चुनावी अभियान चलाएर पहिलो पटक सांसद निर्वाचित भएकी थिइन्।

३४ वर्षीय नेतृ सोफिया भिर्ता फिनल्याण्डको ग्रिन पार्टीको अध्यक्षमा पुनः निर्वाचित भएकी छिन्। सन् २०२३ को जुनमा पहिलो पटक पार्टी अध्यक्ष पदमा निर्वाचित भएकी भिर्ताले पार्टीको नेतृत्वलाई निरन्तरता दिनेछिन्। उनी सन् २०१९ देखि फिनल्यान्डको सांसद पनि छिन्।

ग्रिन पार्टी १३ सांसद सहित फिनल्यान्डको संसद्मा पाँचौ ठूलो दल हो। अहिले प्रतिपक्षमा रहेपनि बिगतमा यो पार्टी पटक-पटक सरकारमा सामेल भएको छ। सान्ना मारिनको सरकारमा त्यो बेलाकी ग्रिन पार्टी अध्यक्ष मारिया ओहिसालो फिनल्यान्डको गृह मन्त्री थिइन्।

पार्टी अध्यक्षमा पुनः निर्वाचित भएपछि भिर्ताले फिनल्यान्डमा नयाँ लिबरल सरकारको आवश्यकता रहेको विचार व्यक्त गरिन्। उनी उग्र राष्ट्रवादी फिन्स पार्टीकी कट्टर आलोचक हुन्।

फिनल्यान्डमा बस्ने आप्रवासीहरू प्रति भिर्ता नरम धारणा राख्छिन् र फिनल्यान्डमा अझै आप्रवासी ल्याउनुपर्छ भन्ने मान्यतामा विश्वास गर्छिन्।

सन् १९९० मा फिनल्यान्डको तुर्कु नजिकैको कारिना शहरमा जन्मेकी भिर्ताले बाल शिक्षामा स्नातकोत्तर गरेकी छिन्। उनले शिक्षिका र परिवार सल्लाहकारका रूपमा पनि काम गरेकी छिन्।

विज्ञापन
विज्ञापन सकियो

समाधान-केन्द्रित मनोचिकित्सा तालिम पनि पूरा गरेकी भिर्ताले विशेष बाल संरक्षण, चुनौतीपूर्ण पारिवारिक सहयोग, शिक्षण, वृद्धवृद्धा सेवा, अपाङ्गता भएका व्यक्तिहरूसँग काम, र मानसिक स्वास्थ्य तथा लागुऔषध दुर्व्यसनीका आफन्तहरूलाई सहयोग गर्ने तेस्रो क्षेत्रको संस्थामा परियोजना कार्यकर्ताको रूपमा काम गरेकी छिन्। सांसद बन्नुअघि उनी थेरापी र तालिम चलाउने उद्यमी पनि थिइन्।

भिर्ता पहिलो पटक सन् २०१९ को चुनावमा भर्सिनाइस-सुओमी निर्वाचन क्षेत्रबाट ४,२८९ मतका साथ फिनल्याण्डको संसद्मा निर्वाचित भएकी थिइन्। उनले व्यक्तिगत चन्दाबाट उठेको २,५०० युरोभन्दा कम बजेटमा आफ्नो अभियान चलाएकी थिइन्। उनी २०२३ मा पुनः निर्वाचित भइन् र आफ्नो जिल्लाबाट पार्टीकी एक मात्र प्रतिनिधि हुन्।

भिर्ताको राजनीतिमा मुख्य विषयवस्तुहरू सुरक्षित बाल्यकाल, मानसिक स्वास्थ्य सेवा, विपन्नहरूको उत्थान, पशु अधिकार, वातावरणीय मुद्दाहरू, र साना तथा मझौला उद्यमहरूलाई समर्थन गर्नुपर्ने जस्ता रहेका छन्। उनी प्रमाणमा आधारित निर्णय प्रक्रियामा जोड दिन्छिन्।

आफ्नो संसदीय भूमिकाका अतिरिक्त भिर्ता कारिना नगर परिषद् र दक्षिण पश्चिम फिनल्याण्ड क्षेत्रीय परिषद्की सदस्य हुन्। उनले स्थानीय ग्रिन पार्टी समूहहरूमा विभिन्न नेतृत्वदायी पदहरू सम्हालेकी छिन्।

संसद्मा भिर्ता सामाजिक मामिला तथा स्वास्थ्य समिति र रोजगार तथा समानता समितिकी सदस्य, र भविष्य समितिकी उप-सदस्य हुन्। उनी बाल रणनीति र प्रहरी मामिला सम्बन्धी समितिहरूमा पनि सक्रिय रूपमा संलग्न छिन्।

फिनल्यान्डमा बस्ने आप्रवासीहरू प्रति भिर्ता नरम धारणा राख्छिन्।

भिर्ताकी सन् २०१९ मा जन्मेकी एक छोरी छिन्। २०१४ देखि २०२० सम्म उनी एक पुरुषसँग सम्बन्धमा थिइन् जसलाई पछि डिसेम्बर २०२२ मा उनीमाथि आक्रमण गरेको आरोपमा तीन महिनाको निलम्बित जेल सजाय सुनाइएको थियो। उक्त पुरुषलाई सन् २०२२ र २०२३ मा भिर्ताका नजिक नजान निषेधाज्ञा जारी गरिएको थियो।

विभिन्न अन्तर्वार्ता र पोडकास्टहरूमा भिर्ताले एकल आमा हुनुका कठिनाई र मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्ने गरेकि छिन्। उनले आफू किशोरी हुँदा ‘पार्टी गर्ल’ रहेको पनि बताउने गरेकि छिन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप