📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- कामको चाप र कठिन निर्णयहरूका कारण मन्त्रीद्वारा पदत्याग।
- अर्थमन्त्री पुर्राद्वारा युसोको निर्णयको सम्मान, नयाँ मन्त्रीको नाम गोप्य।
- सामाजिक सेवामा कटौतीको तयारी असफल भएपछि मन्त्रीको बहिर्गमन।
फिनल्यान्डकी सामाजिक मामिला तथा स्वास्थ्य मन्त्री काइसा युसोले बिहीबार आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनी फिन्स पार्टी अर्थात् पेरुस-सुओमालाइसेत पार्टीकी नेतृ पनि हुन्।
अर्थमन्त्री रिका पुर्राले संसद भवनमा आकस्मिक पत्रकार सम्मेलन गर्दै मन्त्री युसो बिरामी बिदामा बसेको र पद छोडेको जानकारी दिइन्।
मन्त्री युसोले एक विज्ञप्ति जारी गर्दै कामको अत्यधिक चापका कारण पदबाट राजीनामा दिएको बताएकी छन्। उनले भनिन्, “मैले मन्त्री पदबाट राजीनामा बुझाएको छु, मलाई यो काम निकै बोझिलो भयो।”
“नागरिकका लागि महत्त्वपूर्ण सेवाहरू सुरक्षित गर्न हामीले निकै कठिन निर्णयहरू गर्नुपरेको थियो। मैले आफ्नो तर्फबाट सक्दो प्रयास गरें, तर अब अरू कसैले यो जिम्मेवारी सम्हाल्ने बेला आएको छ,” युसोले अगाडि भनेकी छिन्।
राजीनामा दिएपछि उनी बिरामी बिदामा बसेको जनाइएको छ। फिनल्यान्डमा कामको तनाव वा चाप धेरै भएपनि बिरामी बिदामा बस्न पाउने प्रचलन छ।
अर्थमन्त्री पुर्राका अनुसार युसोले बिहीबार नै प्रधानमन्त्री पेत्तेरी ओर्पो र उनलाई यसबारे जानकारी गराएकी थिइन्। यो खबर सार्वजनिक हुनुअघि ‘फिन्स पार्टी’को संसदीय दललाई पनि यसबारे जानकारी दिइएको थियो।
“यो मन्त्री युसोको आफ्नै निर्णय हो। फिनल्यान्डको हितमा उनले गरेको कामको म कदर गर्छु र काइसालाई धन्यवाद दिन्छु।” अर्थमन्त्री पुर्राले पत्रकार सम्मेलनमा स्थानीय मिडियालाई भनिन्।
पुर्राले युसोको स्थानमा कसलाई ल्याउने भन्नेबारे आफूसँग सोच रहेको तर अहिले नै नाम सार्वजनिक नगर्ने बताएकी छन्। मन्त्रीलाई काममा पर्याप्त सहयोग नभएको हो कि भन्ने प्रश्नमा पुर्राले त्यसो नभएको बताइन्।
उनले पार्टीभित्र मन्त्री र संसदीय दलमा एक–अर्कालाई सधैं सहयोग गर्ने प्रयास गरिएको दाबी गरिन्।
कठिन थियो काम
युसोको नेतृत्वमा हालै सामाजिक सेवाहरूमा कटौतीको तयारी भइरहेको थियो, जुन निकै कठिन सावित भएको छ।
मन्त्रालयको कार्यदलले बुधबार कटौतीको प्रस्ताव पेश गरे पनि त्यसले सरकारले तोकेको लक्ष्य पूरा गर्न सकेको थिएन।
सरकारको मुख्य साझेदार दल ‘कोकोमुस’का सांसद युक्का कोप्राले मन्त्रीको राजीनामाले सत्ता गठबन्धनको सहकार्यमा कुनै असर नपर्ने बताएको हेलसिन्की सानोमातले लेखेको छ।
फिनल्यान्डको राजनीतिमा सामाजिक मामिला तथा स्वास्थ्य मन्त्रालय (SOTE) सम्हाल्नु अहिले सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारी मानिन्छ।
सरकारले बढ्दो बजेट घाटा कम गर्न स्वास्थ्य र सामाजिक सेवामा भारी कटौती गर्ने योजना बनाएको छ, जसको चौतर्फी आलोचना भइरहेको छ। काइसा युसो फिन्स पार्टीकी सांसद् हुन् र उनी ल्यापल्याण्ड क्षेत्रबाट प्रतिनिधित्व गर्छिन्।








