संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा नेपाली मोमो ब्रान्डिङ्ग गरिहेको ‘मोमो म्याजिक’को कथा

विदेशमा नेपाली वा एसियाली खाद्यवस्तु प्रायः एथनिक पसलमै भेटिन्छन्। तर मोमो म्याजिकको महत्त्वपूर्ण उपलब्धि भनेको त्यहाँबाट बाहिर निस्केर फिनल्यान्डका मूलधारका स्टोरसम्म पुग्नु हो। यस्तो छ घरको भान्साबाट सुरु भएको र अहिले फिनल्यान्डका सुपरमार्केटमा नेपाली स्वाद पस्किरहेको ‘मोमो म्याजिक’को ब्रान्ड यात्रा।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

नेपालीहरूको जमघट होस्, सानो पारिवारिक उत्सव होस् वा साथीभाइसँगको साँझ टेबलमा बाफ उडिरहेको मोमो आइपुग्दा माहोल नै बदलिन्छ। मोमो नेपालीका लागि प्रिय परिकार त हो नै, त्यो भन्दा धेरै भेटघाट, आत्मीयता र सामूहिक आनन्दसँग जोडिएको स्वाद हो।

यही परिचित स्वाद अहिले फिनल्यान्डका ठूला सुपरमार्केटसम्म पुगेको छ। प्रिज्मा, के–सुपरमार्केट र हेर्कु फुड मार्केटजस्ता फिनिस स्टोरमा प्याकेटबन्द नेपाली मोमो पनि किन्न पाइन्छ। त्यसको पछाडि छ गान्धिव केसीले स्थापना गरेको मोमो म्याजिक

घरमा हातले मोमो बनाएर खाने नेपाली परम्पराभन्दा मोमो म्याजिकको उत्पादन शैली फरक छ। यसले फिनल्यान्डमै मेसिन प्रयोग गरेर ठूलो परिमाणमा मोमो उत्पादन गर्छ। एथनिक पसलमा मात्र सीमित नरही मूलधारका फिनिस सुपरमार्केटसम्म पुगेको यो व्यवसायले नेपाली स्वादलाई अन्तर्राष्ट्रिय ब्रान्डमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ।

मोमो म्याजिकको कथा कुनै ठूलो उद्योगको बैठक कक्षबाट सुरु भएको होइन। यसको सुरुवात नेपालीहरूको सामान्य जमघट र घरको भान्साबाट भएको हो।

विज्ञापन

“तपाईंले पनि अनुभव गर्नुभएको होला, हामी नेपालीहरू जम्मा हुँदा प्रायः मोमो बनाएर खान्छौँ। त्यो हाम्रो सानो रमाइलोको एउटा हिस्सा हो। हामी पनि त्यसै गर्थ्यौँ,” केसी पुराना दिन सम्झँदै भन्छन्। “करिब तीन वर्षअघि हामीले घरमै मोमो बनाएर पिएतासारीका विभिन्न ‘स्ट्रिट इभेन्ट’मा बेच्न थालेका थियौँ।”

सुरुमा त्यो सानो प्रयास थियो। कार्यक्रममा आउने मानिसलाई नेपाली मोमो चखाउने र उनीहरूको प्रतिक्रिया बुझ्ने। तर क्रमशः केसीले त्यसमा ठूलो सम्भावना देखे।

मोमो नेपाली तथा दक्षिण एसियाली समुदायभित्र मात्र सीमित रहनुपर्ने परिकार होइन; यसको स्वाद फिनिस ग्राहकले पनि मन पराउन सक्छन् भन्ने आत्मविश्वास बढ्दै गयो।

त्यसपछि एउटा स्पष्ट उद्देश्य बन्योः मोमोलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने, र त्यसको सुरुवात फिनल्यान्डबाट गर्ने।

केसीले पर्यटन तथा आतिथ्य व्यवस्थापन अध्ययन गरेका हुन्। तर उनको व्यावहारिक कार्यानुभव खाद्य उत्पादनसँग जोडिएको थियो। उनले सलाद तथा मासुजन्य खाद्यवस्तुको उत्पादन प्रणालीमा लामो समय काम गरेका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

यही अनुभव मोमो म्याजिक स्थापना गर्दा उपयोगी बन्यो।

घरमा स्वादिलो मोमो बनाउन सक्नु र व्यावसायिक रूपमा हजारौँ उपभोक्ताका लागि सुरक्षित, समान गुणस्तरको खाद्यवस्तु उत्पादन गर्नु फरक कुरा हो। ठूलो परिमाणको उत्पादनमा कच्चा पदार्थको छनोट, तापक्रम नियन्त्रण, स्वच्छता, प्याकेजिङ, भण्डारण, लेबलिङ र वितरणसम्म हरेक चरण व्यवस्थित हुनुपर्छ।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

केसीसँग खाद्य उत्पादन संयन्त्रको अनुभव भएकाले घरेलु परिकारलाई व्यावसायिक उत्पादनमा बदल्ने प्रक्रिया बुझ्न सहज भयो। तर अनुभव मात्र पर्याप्त थिएन। फिनल्यान्डको कडा खाद्य कानुन र नियमन पार गर्नु अर्को ठूलो चुनौती थियो।

यसरी हुन्छ उत्पादन

फिनल्यान्ड खाद्य सुरक्षाका दृष्टिले कडा नियमन भएको देश हो। यहाँ खाद्य उत्पादन व्यवसाय सुरु गर्न इच्छाशक्ति र राम्रो ‘रेसिपी’ भएर मात्र पुग्दैन। उत्पादनस्थल, सरसफाइ, कच्चा पदार्थ, परीक्षण, अभिलेख र बिक्री प्रक्रियासम्बन्धी विभिन्न मापदण्ड पूरा गर्नुपर्छ।

“सुरुवात सजिलो थिएन,” केसी सम्झन्छन्, “फिनल्यान्डमा खाद्य उत्पादन व्यवसाय निकै नियमनमा चल्छ। हामीलाई धेरै किसिमका अनुमतिहरु आवश्यक परे।”

तर यही कडा प्रक्रिया मोमो म्याजिकको विश्वसनीयताको आधार पनि बनेको छ।

कम्पनीका अनुसार फिनल्यान्डमा उत्पादन हुने भएकाले मोमोको प्रत्येक ब्याच सूक्ष्मजीव/माइक्रोबायोलोजी परीक्षणबाट गुज्रिन्छ। उत्पादनमा फिनिस सामग्री प्रयोग गरिन्छ। खाद्यवस्तु कहाँबाट आयो, कहिले उत्पादन भयो र कुन बजारमा पठाइयो भन्ने पहिचान गर्न सकिने ‘ट्रेसबिलिटी’ प्रणाली पनि अपनाइएको छ।

कुनै उत्पादनमा समस्या देखिए बजारबाट फिर्ता बोलाउन सकिने ‘रिकल सिस्टम’समेत रहेको केसीले नेपालीलाइनेनलाई बताए। अर्थात्, मोमोको स्वादसँगै उपभोक्ताको सुरक्षा पनि उत्पादन प्रक्रियाको केन्द्रमा छ।

नेपाली समाजमा मोमो बनाउनु आफैँमा एउटा सामूहिक गतिविधि हो। कसैले पिठो मुछ्छ, कसैले किमा तयार गर्छ, कसैले बेल्छ र कसैले आकार दिन्छ। मोमोको प्लेट तयार हुँदासम्म गफगाफ र रमाइलो चलिरहन्छ।

मोमो म्याजिकले भने औद्योगिक माग पूरा गर्न मेसिनबाट मोमो उत्पादन गर्छ। यसले छोटो समयमा धेरै मोमो बनाउन, आकार र तौलमा समानता कायम गर्न तथा स्वच्छ उत्पादन प्रक्रिया सञ्चालन गर्न सहयोग पुर्‍याउँछ।

मेसिनबाट बनेको भन्दैमा मोमोको सांस्कृतिक कथा हराउँदैन। बरु, घरको भान्सामा सीमित परिकारलाई ठूलो बजारसम्म पुर्‍याउने माध्यम बन्छ। घरेलु स्वादलाई व्यावसायिक स्तरमा पुनःउत्पादन गर्नु नै मोमो म्याजिकको मुख्य प्रयोग हो।

कुनै समय पिएतासारीका सडकमा घरमै बनाएको मोमो बेच्दै सुरु गरेको यात्रा आज फिनल्यान्डका ठूला स्टोरका र्‍याकसम्म पुगेको छ।

कस्तो छ स्वाद, कसरि र कहाँ किन्ने?

अहिले कम्पनीले चिकेन र शाकाहारी गरी दुई विकल्पमा मोमो उपलब्ध गराउँछ। प्याकेटभित्र हल्का स्वादको अचार पनि समावेश गरिएको छ। उपभोक्ताले प्याकेट किनेर निर्देशनअनुसार तताएर वा पकाएर खान सक्छन्।

कम्पनीको वेबसाइटमा मोमो पकाउने विधि र विभिन्न रेसिपी राखिएका छन्। प्याकेटको लेबल पनि स्पष्ट बनाइएको छ।

विदेशमा नेपाली वा एसियाली खाद्यवस्तु प्रायः एथनिक पसलमै भेटिन्छन्। तर मोमो म्याजिकको महत्त्वपूर्ण उपलब्धि भनेको त्यहाँबाट बाहिर निस्केर फिनल्यान्डका मूलधारका स्टोरसम्म पुग्नु हो।

यसका उत्पादन प्रिज्मा, के–सुपरमार्केट र हेर्कु फुड मार्केटजस्ता स्टोरमा उपलब्ध छन्। उपभोक्ताले momomagic.fi मा गएर आफू नजिकको कुन पसलमा मोमो पाइन्छ भनेर खोज्न सक्छन्। एथनिक स्टोरमा उपलब्ध ठूलो प्याकेट भने तुलनात्मक रूपमा सस्तो पर्ने कम्पनीले जनाएको छ।

प्रिज्मा, सिटी मार्केटजस्ता पसलहरूमा १० वटा मोमो र ५० ग्राम अचार/सस भएको प्याकेट पाइन्छ जसको मूल्य ५ देखी ५.५० युरो पर्छ। नेपाली लगायतका एसियन पसलहरूमा पाइने ५७० ग्रामको ठुलो प्याकेटमा २३ वटा मोमो र ५० ग्राम अचार/सस हुन्छ। पैसा चाहिँ १०.५० देखि ११.५० युरोसम्म पर्ने गर्छ। 

नेपालीका लागि परिचित भए पनि फिनिस उपभोक्ताका लागि मोमो अझै नयाँ खाद्य अनुभव हो। तर फिनिस ग्राहकबाट पनि सकारात्मक प्रतिक्रिया आएको केसी बताउँछन्।

मोमो म्याजिकले ‘बिजनेस टु बिजनेस’ अर्थात् बीटुबी बजारमा विशेष ध्यान दिएको छ।

मोमो म्याजिकका चिकेन र भेज मोमो प्याकेटहरु। फोटोः मोमो म्याजिक

रेस्टुरेन्ट, कार्यक्रम आयोजक, साना खाद्य व्यवसायी वा निजी समारोह आयोजना गर्ने व्यक्तिले ठूलो परिमाणमा मोमो किन्न सक्नेछन्।

“तपाईं निजी पार्टी आयोजना गर्दै हुनुहुन्छ, मोमो व्यवसाय सुरु गर्न चाहनुहुन्छ वा कुनै कार्यक्रममा बेच्न चाहनुहुन्छ भने हामीबाट ठूलो परिमाणमा मोमो किन्न सक्नुहुन्छ। बाँकी काम आफैँ गर्न सक्नुहुन्छ। यो निकै सजिलो र उपयोगी हुन्छ,” केसी भन्छन्।

यसले मोमो बेच्न चाहने व्यक्तिलाई उत्पादनस्थल बनाउने, मेसिन खरिद गर्ने वा सुरुदेखि सम्पूर्ण खाद्य अनुगमन प्रक्रिया पूरा गर्ने बोझ कम गर्न सक्छ। तयार उत्पादन लिएर पकाउने, सर्भ गर्ने र बिक्री गर्ने काममा केन्द्रित हुन सकिन्छ।

कम्पनीले भविष्यमा चिज र पोर्क मोमो पनि बजारमा ल्याउने योजना बनाएको छ। विभिन्न स्वाद र उपभोक्ता समूहअनुसार उत्पादन विस्तार गर्दै जाने लक्ष्य छ।

चुनौती छन् बाँकी, धेरै छन् सपना

फिनल्यान्डमा मोमोको सम्भावना भए पनि बजार बनाउनु सजिलो छैन। सबै उपभोक्ता फ्रोजन मोमो किनेर घरमा पकाउन अभ्यस्त छैनन्। मोमो चिनेका कतिपय नेपाली भने घरमै बनाएर खान रुचाउँछन्।

यसले कम्पनीलाई दुई फरक चुनौती दिएको छ। नयाँ ग्राहकलाई मोमो चिनाउने र पुराना मोमोप्रेमीलाई प्याकेटबन्द उत्पादन पनि भरपर्दो विकल्प हो भनेर विश्वस्त बनाउने।

मोमो म्याजिकका मोमोबाट तयार पारिएको मोमोको प्लेट। फोटोः मोमो म्याजिक

केसी घरमा मोमो बनाउने संस्कृतिलाई प्रतिस्पर्धाका रूपमा मात्र हेर्दैनन्। घरमा मोमो बनाउनुको आफ्नै आनन्द रहेको उनी स्वीकार गर्छन्। तर समय कम हुँदा, ठूलो जमघट हुँदा वा सजिलो विकल्प चाहिँदा तयार मोमो उपयोगी हुने उनको विचार छ।

त्यसमाथि फिनल्यान्डमै नियमन अनुसार उत्पादन, प्रत्येक ब्याचको परीक्षण, स्थानीय सामग्रीको प्रयोग तथा ट्रेसबिलिटी र रिकल प्रणालीले उत्पादनलाई सुरक्षित र भरपर्दो बनाउने उनको दाबी छ।

मोमो म्याजिकको अहिलेसम्मको यात्रा केवल मोमो बेच्ने व्यवसायको कथा मात्र भने होइन। यो एउटा आप्रवासीले आफ्नो संस्कृति र व्यावसायिक अनुभवलाई जोडेर नयाँ देशमा बजार सिर्जना गरेको कथा हो।

कुनै समय पिएतासारीका सडकमा घरमै बनाएको मोमो बेच्दै सुरु गरेको यात्रा आज फिनल्यान्डका ठूला स्टोरका र्‍याकसम्म पुगेको छ। प्रगति तीव्र नभए पनि स्थिर छ। एकपछि अर्को पसल, एकपछि अर्को ग्राहक र एकपछि अर्को स्वाद थपिँदै छ।

केसीको सपना स्पष्ट छ: मोमोलाई नेपाली समुदायको सीमाभन्दा बाहिर पुर्‍याउने र अन्तर्राष्ट्रिय रूपमा चिनिने ब्रान्ड बनाउने।

मोमो म्याजिकको लोगो।
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप