संग्रह गर्नुहोस्।
संग्रहित

आज बडादसैं: फिनल्यान्डमा बढे नेपाली, बढ्यो दसैंको रौनक

नेपालीहरूको महान चाड बडादसैँको मुख्य दिन विजयादशमी फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूले पनि हर्षोल्लासका साथ मनाइरहेका छन्। फिनल्यान्डमा नेपालीहरूको सङ्ख्या बढेसँगै दसैँको रौनक पनि बढेको छ।

.संक्षेपमा.


  • नेपालमा टीकाको उत्तम साइत बिहान ११:५३ बजे।
  • फिनल्यान्डमा स्थानीय समयअनुसार बिहान ९ बजेको साइत अनुमानित।
  • फिनल्यान्डमा नेपालीको संख्या बढ्दा चाडको माहोल पनि बढ्यो।

आज बडादसैँको मुख्य दिन विजयादशमी। नेपालमा जस्तै फिनल्यान्डमा रहेका नेपालीहरूले पनि मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी यो पर्व मनाइरहेका छन्।

काम र व्यस्तताका बाबजुद पनि समुदायका सदस्यहरू एक आपसमा जम्मा भई शुभकामना आदानप्रदान गरिरहेका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालका लागि टीकाको उत्तम साइत बिहान ११:५३ बजे तोकेको छ। समितिले फिनल्यान्डका लागि आधिकारिक साइत नतोके पनि नर्वेको ओस्लोका लागि भने साइत तोकेको छ।

समितिले तोकेको ओस्लोको साइतलाई आधार मान्दा फिनल्यान्डमा स्थानीय समयअनुसार बिहान ९ बजेको आसपासमा टीका लगाउनु उपयुक्त हुने देखिन्छ। यद्यपि दिनभरि नै आफ्नो अनुकूल समयमा टीका लगाउन सकिने समितिले जनाएको छ।

विगत ४-५ वर्षमा फिनल्यान्डमा नेपालीहरूको सङ्ख्या बढेसँगै दसैँको रौनक पनि बढेको छ। हाल करिब १३,००० नेपालीहरू फिनल्यान्डमा बसोबास गरिरहेको आकलन छ। पछिल्लो समय पनि धेरै नेपाली विद्यार्थीहरू पढ्नका लागि फिनल्यान्ड आइरहेका छन्।

टिका र जमरा लगाएर हिँडेका नेपालीहरू पनि सार्वजनिक यातायात र मलहरूमा प्रशस्तै देखिन थालेका छन्। पहिले पहिले यस्तो बिरलै देखिन्थ्यो।

हिजो हेलसिन्की क्षेत्रका विभिन्न एसियाली पसलहरूमा दसैँका लागि आवश्यक सामग्री खरिद गर्ने नेपालीहरूको उल्लेख्य उपस्थिति देखिन्थ्यो।

हेलसिन्की माल्मीनकार्तानोका एक पाकिस्तानी मुलका पसलेले नेपालीहरूको ठुलो चाड आएको आफूलाई थाहा भएको र पसलमा राखेको खसीको मासु तुरुन्तै बिक्री भएको बताए।

“हिजो मात्र खसीको मासु टन्नै ल्याएका थियौँ, तर तुरुन्तै सकियो,” उनले भने। “भोली फेरी थप ल्याउने तयारी छ।”

नेपाली समुदाय आफ्नो मुख्य ग्राहक समुदाय मध्येका एक रहेको उनले बताए।

कामबाट बिदा मिलाउन नसक्नेहरूले पनि आफ्नो समय अनुकूल मिलाएर परिवार र साथीभाइसँग भेला भई दसैँ मनाइरहेका छन्।

कामबाट बिदा मिलाउन नसक्नेहरूले पनि आफ्नो समय अनुकूल मिलाएर परिवार र साथीभाइसँग भेला भई दसैँ मनाइरहेका छन्।

हिजो साँझ भान्ताको म्युरमाकीमा भेटिएका चार युवाको एक समूहले देशको अवस्था सम्झँदा मन खिन्न भए पनि दसैँ भने रमाइलोसँग मनाउने तयारीमा रहेको सुनाए। उनीहरूले स्यान्डल बियरको एउटा कार्टुन बोकेर पसलबाट कोठातर्फ जाँदै थिए।

तपाईँहरू त सबै जेनजी पुस्ताको जस्तै हुनुहुन्छ, नेपालको परिस्थितिलाई कसरी हेर्नुभएको छ भन्ने नेपालीलाइनेनको प्रश्नमा उनीहरू सुरुमा गलल्ल हाँसे अनि अलि भावुक बने।

“हामीमध्ये तीन जना त जेनजी नै हो,” एक जनाले अर्का सँगै रहेका साथीलाई देखाउँदै भने। “वहाँ चाहिँ जेन वाई पर्नु भो।”

“नेपालको कुरा त के गर्नु र खै” उनले थपे। “दुःख लाग्छ। गम्भीरता कसैमा देखिएन।”

त्यसपछि जेन वाईका युवा बोले। उनी भने अलि आशावादी देखिए। दुःखलाग्दो स्थिति रहे पनि युवाहरू आफ्नो भविष्यको लागि सचेत र जागरूक रहनु सकारात्मक रहेको उनले सुनाए।

“अब सत्तामा जोसुकै जाओस्, पहिलेजस्तो युवाहरूलाई राजनीतिको मतलबै छैन भनेर जे पायो त्यही गर्ने छुट हुनेछैन।” उनले थपे।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप