संग्रह गर्नुहोस्।
संग्रहित

आज घटस्थापना, यस्तो छ फिनल्यान्ड बस्ने नेपालीको दसैं तयारी

नेपालबाट हजारौं किलोमिटर टाढा भए पनि फिनल्यान्ड बस्ने धेरै नेपालीहरूले बडादशैं विशेष रूपमा मनाउने तयारी गर्दैछन्।

.संक्षेपमा.


  • फिनल्यान्डमा पनि सुरू भयो दसैंको चहलपहल।
  • नयाँ र पुराना पुस्ताले फरक-फरक तरिकाले चाडको तयारी गर्दै।
  • हेलसिन्की क्षेत्रका दक्षिण एसियाली पसलहरू पनि दसैंका कारण व्यस्त।

नेपालीहरूको महान चाड बडादसैं आजबाट सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ।

फिनल्यान्डमा बस्ने नेपालीहरूले पनि आफ्नो परम्परा र संस्कृतिलाई निरन्तरता दिँदै दसैं मनाउन सुरु गरेका छन्।

नेपालमा जस्तै यहाँ पनि जौको जमरा राखेर दसैंको सुरुवात गरिन्छ। दुर्गा देवीको प्रिय वस्तु मानिने जौको अंकुरलाई विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकको रूपमा ग्रहण गरिन्छ।

यस वर्षको दशैंको टीका असोज १६ गते, अर्थात् अक्टोबर २ तारिखमा परेको छ।

यस वर्षको दशैंको टीका असोज १६ गते, अर्थात् अक्टोबर २ तारिखमा परेको छ।

यस्तो छ फिनल्यान्ड बस्ने नेपालीको दसैं तयारी

फिनल्यान्डमा रहेका नेपालीहरूको दसैं मनाउने तरिका भने मिश्रित देखिन्छ।

“हरेक वर्ष जस्तै यो वर्ष पनि परिवार र साथीभाइसँगै दसैं मनाउने हो। कामबाट एक दिनको बिदा मिलाएको छु, त्यसैले खासै नयाँ योजना छैन।” लामो समयदेखि हेलसिन्कीमा बस्दै आएका एक नेपालीले नेपालीलाइनेनलाई भने।

नेपालीलाइनेनले कुरा गरेका अर्का एक युवाले साथीभाइ मिलेर खसी ल्याउने, तास खेल्ने र रमाइलो गर्ने योजनामा रहेको बताए।

“साथीहरू मिलेर काटेको खसी सिङ्गै किनेर ल्याउने, तास खेल्ने, र सामुहिक टिका लगाउने तयारी छ।” उनले भने। “नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले मन खल्लो भए पनि दसैंको रमाइलोलाई निरन्तरता दिने योजना छ।”

यसै वर्ष नेपालबाट आएकाहरूका लागि भने यो विदेशको पहिलो दसैं हो।

हेलसिन्कीको एक दक्षिण एसियाली पसलमा किनमेलका क्रममा भेटिएका एक नवआगन्तुकले दसैंको मुखमै विदेसिन पर्दा खल्लो लागेको बताए।

“विदेशको पहिलो दसैं अलि अनौठो महसुस हुँदो रहेछ। काम पाएको छैन, पैसा पनि खासै छैन र धेरै मानिसहरूसँग चिनजान पनि छैन।” उनले भने। “त्यसैले सामान्य रूपमा घरमै मनाइन्छ होला। स्टुडेन्ट हाउजिङमा केही नेपालीहरू हुनुहुन्छ, उहाँहरूसँगै मिलेर मनाउने विचार छ।”

दशैंको आगमनसँगै हेलसिन्की क्षेत्रका नेपाली र अन्य दक्षिण एसियाली पसलहरूमा पनि चहलपहल बढेको छ। यी पसलहरूले ग्राहकहरूलाई जमराको लागि जौ निःशुल्क उपलब्ध गराउने गरेका छन्। जौ लिन जाने ग्राहकले मिठाई, चामल र मासु जस्ता अन्य सामानहरू पनि किन्ने हुँदा दसैंको समयमा उनीहरूको व्यापार पनि बढ्ने गरेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप