विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

कुनै बच्चा भोको नरहुन्ः यस्तो छ फिनल्यान्डका स्कुलमा ‘सुरक्षित भोजन’को नयाँ प्रयोग

खानेकुरा छान्न र खान गाह्रो हुने तथा कुनै खाना मन नपराएर नखाने बालबालिका समेत भोकै नरहुन् भनी फिनल्यान्डका विद्यालयहरूले विशेष भोजनको व्यवस्था गर्न सुरु गरेका हुन्।

संक्षेपमा


  • खानपानमा समस्या भएका बालबालिकालाई मनपर्ने निश्चित खानाको व्यवस्था।
  • युभास्कुलामा यस्तो सेवा लिने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि।
  • शारीरिक विकास र ऊर्जा जोगाउन स्वास्थ्य विशेषज्ञको सिफारिस।

बालबालिकालाई खाना खुवाउने काम सजिलो हैन। कुनै बालबालिकाले त आफूलाई मन पर्ने बाहेक अरू खाना नै खाँदैनन्। तर बच्चा भोकै रहनु भन्दा ‘कम्तीमा केही त खाउन्’ भनेर फिनल्यान्डका विद्यालयहरूमा नयाँ प्रयोग सुरु भएको छ।

अहिले फिनल्यान्डको युभास्कुला क्षेत्रका विद्यालय र शिशु कक्षाहरूले खानेकुरामा विशेष संवेदनशीलता भएका बालबालिकाका लागि ‘तुर्भा रुओका’ अथवा ‘सुरक्षित भोजन’ को अवधारणा कार्यान्वयनमा ल्याएका हुन्।

यो कार्यक्रमले खाना खान गाह्रो हुने बालबालिकाहरू भोको नपरुन् र उनीहरूमा ऊर्जाको कमी नहोस् भन्ने कुराको सुनिश्चित गर्छ।

योजना अन्तर्गत बालबालिकालाई माछाको स्टिक, पास्ता वा पालकको प्यानकेक जस्ता उनीहरूले सधैं रुचाउने निश्चित खाना उपलब्ध गराइन्छ।

यो सेवा विशेष गरी ADHD जस्ता न्युरो-साइक्याट्रिक समस्या वा खानेकुराप्रति डर (ARFID) भएका विद्यार्थीका लागि लक्षित गरिएको हो।

विज्ञापन
विज्ञापन सकियो

ARFID समस्या भएका मानिसहरूले खानाको गन्ध, स्वाद वा बनावटका कारण नयाँ खानेकुरा खान डराउँछन्।

युभास्कुलामा मात्रै करिब १०० जना बालबालिकाले अहिले यो सेवा लिइरहेका छन्। पछिल्लो दुई वर्षमा यस्तो खानाको माग विद्यालयहरूमा निकै बढेको छ।

नियमित खाना खान नसक्दा बालबालिकामा थकान, छटपटी र शारीरिक विकासमा अवरोध देखिन सक्छ। सुरक्षित भोजनले उनीहरूलाई आवश्यक शक्ति प्रदान गरी कक्षामा ध्यान केन्द्रित गर्न मद्दत गर्छ।

यो सेवा सामान्यतया ३ देखि ६ महिनाका लागि स्वास्थ्यकर्मीको सल्लाहमा सुरु गरिन्छ। यसको मुख्य लक्ष्य बिस्तारै बालबालिकालाई नयाँ स्वादहरूसँग अभ्यस्त गराउनु हो।

यो खाना तयार गर्न र व्यवस्थापन गर्न सामान्यभन्दा दोब्बर खर्च लाग्ने सेवा प्रदायकहरू बताउँछन्। तर बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यका लागि यो लगानी आवश्यक मानिएको छ।

फिनल्यान्डमा सबै विद्यालय र शिशु कक्षाका बालबालिकालाई सरकारले नि:शुल्क खाना उपलब्ध गराउँछ। विद्यालयहरूले बालबालिकाको एलर्जी, धार्मिक विश्वास वा स्वास्थ्य स्थितिका आधारमा समेत छुट्टै खानाको प्रबन्ध गर्ने गर्छन्।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप