विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

भान्तामा नेपाली पढाउने शिक्षकको जागिर खुल्यो: स्थायी रोजगारी, तलब महिनाको तीन हजार युरो

भान्ता नगरपालिकाले मातृभाषाको रुपमा नेपाली पढाउने पूर्णकालीन शिक्षक नियुक्त गर्न दरखास्त आह्वान गरेको हो।

संक्षेपमा


  • भान्ताका विद्यालयमा नेपाली भाषा पढाउने शिक्षकका लागि आवेदन खुला।
  • काम १ अगस्ट २०२६ देखि सुरु हुने, स्थायी र पूर्णकालीन पद।
  • शिक्षकसँग फिनल्यान्डको शैक्षिक योग्यता वा समकक्षता प्रमाणपत्र हुनुपर्ने।

फिनल्यान्डको भान्ता नगरपालिकाले नेपाली विद्यार्थीहरूलाई उनीहरूको मातृभाषा सिकाउनका लागि एकजना पूर्णकालीन शिक्षकको माग गरेको छ।

भान्ताको कुसिक्को विद्यालय अन्तर्गत रहने यो पदमा आगामी अगस्ट महिनादेखि स्थायी नियुक्ति हुनेछ।

छनौट भएका शिक्षकले भान्ताका विभिन्न विद्यालयहरूमा पुगेर नेपाली भाषा पढाउनुपर्ने हुन्छ। कक्षा प्रायः बिहान ८ देखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। यो रोजगारी स्थायी र पूर्णकालिन हुने विज्ञापनमा उल्लेख छ।

शिक्षकले मुख्यतः विद्यार्थीलाई नेपाली भाषा पढाउनु पर्नेछ। तर आवश्यकता बमोजिम अन्य विषयमा पनि सहयोग पुर्‍याउनु पर्ने नगरपालिकाले जनाएको छ। एकै कक्षामा विभिन्न तहका विद्यार्थीहरू समावेश हुन सक्नेछन्।

इच्छुक उम्मेदवारसँग फिनल्यान्डको शिक्षक योग्यता हुनुपर्नेछ। विदेशी शैक्षिक प्रमाणपत्र भएमा फिनल्यान्डको शिक्षा प्रशासन अर्थात् Opetushallitus बाट समकक्षता प्राप्त गरेको हुनु पर्नेछ।

विज्ञापन
विज्ञापन सकियो

यसका साथै उम्मेदवारमा नेपाली भाषाको उत्कृष्ट ज्ञान र फिनिस भाषाको आधारभूत सीप हुन जरुरी छ। कम्प्युटर प्रणाली चलाउन सक्ने क्षमतालाई पनि विशेष महत्त्व दिइनेछ।

आवेदन दिने अन्तिम मिति जनवरी ३०, २०२६ को अपराह्न ४ बजेसम्म तोकिएको छ। छनौट प्रक्रियामा भिडियो अन्तर्वार्ता पनि समावेश हुन सक्नेछ।

नियुक्त हुने शिक्षकलाई नगरपालिकाले यातायात, भोजन र स्वास्थ्य उपचार जस्ता सुविधाहरूमा सहुलियत दिनेछ। यो पदको मासिक तलब फिनल्यान्डको शिक्षक सेवा (OVTES) को नियम अनुसार हुनेछ।

भर्खरै पढाउन सुरू गरेका शिक्षकका लागि उक्त तलब करिब तीन हजार युरो हुनेछ भने अनुभवी शिक्षकले थप रकम पाउनेछन्।

इच्छुक व्यक्तिले भान्ता नगरपालिकाको अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। थप जानकारीका लागि प्रधानाध्यापक मिर्या-रिक्का किल्पोनेनलाई सम्पर्क गर्न सकिनेछ।

फिनल्यान्डको शिक्षा प्रणालीमा आप्रवासी बालबालिकालाई उनीहरूको आफ्नै मातृभाषा सिक्ने अधिकार दिइएको छ। यसले विद्यार्थीको पहिचान जोगाउन र दुईवटा संस्कृतिमा सहजै हुर्कन मद्दत पुर्‍याउने विश्वास गरिन्छ।

भान्ता जस्ता बहुसांस्कृतिक सहरहरूमा नेपाली समुदायको उपस्थिति बढ्दै गएकाले स्थानीय विद्यालयहरूमा नेपाली भाषा शिक्षकको आवश्यकता बढेको हो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप