📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goफिनल्यान्डको प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार भान्ता, युभास्कुला र ताम्पेरे फिनल्यान्डका सबैभन्दा असुरक्षित सहरहरू बनेका छन्।
सार्वजनिक स्थानमा हुने हत्या, आक्रमण, यौनजन्य अपराध र तोडफोड जस्ता घटनाहरूमा आधारित ‘डिस्टरबेन्स इन्डेक्स’ अनुसार यो सूची तयार पारिएको हो। राजधानी हेलसिन्की इन्डेक्सको चौथो स्थानमा परेको छ।
प्रहरीले यो सूचकाङ्क तयार पार्दा सार्वजनिक स्थानमा भएका अपराधका उजुरीलाई आधार मान्ने गर्छ। अपराधको गम्भीरता अनुसार अंक दिइन्छ र जनसंख्याको आधारमा समायोजन गरिन्छ।
भान्ता केही वर्षदेखि यो सूचीको शीर्ष स्थानमा रहँदै आएको छ। प्रहरीका अनुसार भान्तामा हुने हिंसात्मक घटनाहरू प्रायः लागूऔषध जस्ता आपराधिक समूहहरू बीचको विवादसँग सम्बन्धित छन्।
युभास्कुलाको सुरक्षा स्थितिमा भने एकै वर्षमा ठूलो गिरावट आएको छ। यो सहर छैटौं स्थानबाट दोस्रोमा उक्लिएको छ।
प्रहरीका अनुसार जुलाई महिनामा भएका हत्या प्रयासका केही गम्भीर घटनाले सूचकाङ्क बढाएको हो। युभास्कुलाले सुरक्षा अवस्था सुधार गर्न सिटी सेन्टरमा सुरक्षा गार्ड परिचालन गर्ने जस्ता कदम चालेको छ, जसको सकारात्मक प्रतिक्रिया पनि आएको छ।
नेपालीहरूको बाक्लो बसोबास रहेको राजधानी हेलसिन्की सूचीको चौथो स्थानमा छ भने एस्पोलाई तुर्कु र पोरीभन्दा सुरक्षित मानिएको छ।
नेपालीहरूको बाक्लो बसोबास रहेको राजधानी हेलसिन्की सूचीको चौथो स्थानमा छ भने एस्पोलाई तुर्कु र पोरीभन्दा सुरक्षित मानिएको छ।
गत वर्ष आप्रवासीहरूलाई लक्षित गरी भएका हिंसाका कारण दोस्रो स्थानमा रहेको औलु सहरको अवस्थामा सुधार आएर यस पटक सातौं स्थानमा झरेको छ।
यद्यपि, यी तथ्याङ्कका बावजुद ‘वर्ल्ड पपुलेसन रिभ्यु’का अनुसार फिनल्यान्ड युरोप र विश्वकै सबैभन्दा सुरक्षित देशहरूमध्ये एक हो।
अधिकारीहरूले सर्वसाधारण र पर्यटकहरूका लागि फिनल्यान्डका सबै सहरहरू सुरक्षित रहेको र हिंसात्मक घटनाहरू प्रायः आपराधिक विवादमा सीमित हुने कुरामा जोड दिएका छन्।








