📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- फिनल्यान्डका प्रमुख मानवीय संस्थाहरूले गरे राहत सहयोगको घोषणा।
- भूकम्पका बेला ३० लाख युरो दिएको फिनल्यान्ड सरकार अहिले भने मौन।
- फिनल्यान्डका नेपालीहरूले पठाइरहेका छन् सहयोग।
गत बुधवार नेपालमा गएको भीषण बाढी र त्यसले निम्ताएको विपद्पछि फिनल्यान्डका प्रमुख मानवीय तथा विकास सहयोग संस्थाहरूले विभिन्न राहत सहयोगको घोषणा गरेका छन्।
तर फिनिस सरकारले भने अहिलेसम्म कुनै सहयोगको घोषणा गरेको छैन।
फिनल्यान्डबाट सबैभन्दा ठुलो सहयोगको घोषणा फिनिस रेडक्रसले गरेको छ। रेडक्रसले तत्काल राहतका लागि ५ लाख युरो सहयोग गर्ने निर्णय गरेको हो।
रेडक्रसले उक्त रकम अस्थायी आवास, स्वास्थ्य सेवा, घर गुमाएकाका लागि नगद सहयोग, खानेपानी-सरसफाइ, मनोसामाजिक सहयोग र बिछोडिएका परिवार पुनर्मिलनमा खर्च हुने जनाएको छ।
त्यस्तै फिन चर्च एड, फिडा इन्टरनेशनल, युनिसेफ फिनल्यान्ड, प्लान इन्टरनेशनल फिनल्यान्ड र सेभ द चिल्ड्रेन फिनल्यान्डले सार्वजनिक कोष सङ्कलन अभियानका साथसाथै नेपालस्थित आफ्ना कार्यक्रम र स्थानीय साझेदार मार्फत सामग्रीगत तथा सेवामूलक सहयोग सुरु गरिसकेको जनाएका छन्।
फिनिस मिसन सोसाइटीले ५० हजार युरो र फिन चर्च एडले २० हजार युरो तत्काल नेपाल बाढी पीडित क्षेत्रमा पठाउनका लागि स्वीकृत गरेको जनाएका छन्। फिडा इन्टरनेशनलले पनि केही दिन अघि तत्कालका लागि २० हजार युरो सहयोग गरेको जनाएको थियो।
युनिसेफ फिनल्यान्डले पनि इमर्जेन्सी कोष सङ्कलन अभियान सञ्चालनमा ल्याएको र उक्त सहयोग युनिसेफको १७.२ मिलियन अमेरिकी डलरको विश्वव्यापी अपिलसँग जोडिएको जनाएको छ।
नेपालमा युनिसेफले मनोसामाजिक सहयोग टोली परिचालन, सरसफाइ किट वितरण, बिछोडिएका बालबालिकाको पहिचान-पुनर्मिलन र नेपाल सरकारसँग मिलेर प्रभावित परिवारलाई आपत्कालीन नगद सहयोग उपलब्ध गराउने काम गरिरहेको जनाएको छ। संस्थाका अनुसार बाढीले करिब १७ हजार बालबालिकालाई प्रत्यक्ष असर पारेको छ।
प्लान इन्टरनेशनल फिनल्यान्डले पनि नेपालका बाढी पीडित बालबालिका तथा परिवारका लागि सहयोग सङ्कलन अभियान सुरु गरेको जनाएको छ।
सरकार भने अहिलेसम्म मौन
सन् २०१५ को भूकम्पका बेला करिब ३० लाख युरो सहयोग उपलब्ध गराएको फिनल्यान्ड सरकार अहिले भने मौन देखिएको छ। सरकारी तवरबाट अहिलेसम्म कुनै सहयोगको घोषणा गरिएको छैन।
काठमाडौँस्थित फिनिस दूतावासले पनि ‘पिडाका बेला नेपालसँगै सँगै रहेको’ भन्ने विज्ञप्तिबाहेक सहयोगका बारे केही बोलेको छैन।
सरकारले सहयोगका लागि तयारी गरिरहेको हुनसक्ने भए पनि फिनल्यान्डको फेरिएको राजनीति र आर्थिक अवस्थाले पनि त्यसमा केही भूमिका खेलेको हुनसक्ने आकलन गर्न सकिन्छ।
वर्तमान सरकारका अर्थमन्त्री रिक्का पुर्रा र वैदेशिक सहायता मन्त्री भिल्ले ताभियो दुवै फिन्स पार्टीका नेता हुन्। वैदेशिक र विकास सहयोगलाई घटाउँदै लगी पूर्णतः बन्द गर्नुपर्ने उक्त पार्टीको नीति रहिआएको छ।
सन् २०१५ को भूकम्पका बेला फिनल्यान्डका प्रधानमन्त्री अहिले राष्ट्रपति रहेका अलेक्जेन्डर स्टब थिए भने अर्थमन्त्रीमा सोसल डेमोक्रेटिक पार्टीका नेता आन्ती रिन्ने थिए। दुवै विदेशी विकास सहायता जारी राख्नुपर्छ भन्ने मत राख्ने नेता हुन्।
फिनल्यान्डका नेपालीको छ ठूलो सहयोग
विनाशकारी बाढीपछि उब्जेको मानवीय सङ्कटमा राहत स्वरूप फिनल्यान्डमा रहेका नेपालीहरूले भने तीव्र रूपमा राहत सहयोग पठाइरहेका छन्।
फिनल्यान्डका नेपालीहरूले स्वतःस्फूर्त रूपमा केही सयदेखि एकै जनाले एक लाख रुपैयाँभन्दा बढीसम्म सहयोग पठाएको पाइएको छ।
यसरी सहयोग पठाइएका कैयौँ पेमेन्टका ‘स्क्रिन सट’ नेपालीलाइनेनले हेरेको छ।
हेलसिन्कीमा चौतारी रेस्टुरेन्टका सञ्चालक रहेका विष्णु अर्यालले एक्लैले एक लाख एक हजार युरो पठाएको नेपालीलाइनेनलाई प्राप्त पेमेन्ट ‘स्क्रिन सट’मा देखिन्छ।
त्यस्तै लोक गायक तथा रेस्टुरेन्ट व्यवसायी नवीन भट्टराईले पनि एक लाख सहयोग पठाएको ‘स्क्रिन सट’ सामाजिक सञ्जालमा राख्दै अरूलाई पनि सहयोग पठाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा सेयर गरिएका पेमेन्ट ‘स्क्रिन सट’ हेर्दा फिनल्यान्डबाट सरदरमा प्रतिव्यक्ति ५ हजारदेखि २० हजार नेपाली रुपैयाँसम्म सहयोग पठाइएको देखिन्छ।
सहयोगको वास्तविक आँकडा प्राप्त गर्न कठिन भए पनि कुल रकम दसौँ लाख भएको सहजै आकलन गर्न सकिन्छ।
सहयोग पठाउने सबैले सामाजिक सञ्जालमा पोस्ट नगर्ने हुँदा सबैभन्दा धेरै कसले सहयोग गर्यो र कुल सहयोग कति गयो भनेर ठ्याक्कै भन्न भने नसकिने अवस्था छ।
यो पनि पढ्नुहोस्








