विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डबाट नवीन भट्टराईको नयाँ कोसेली: गीतमा झल्कियो परदेशको भोगाई र गाउँको याद

भट्टराईले परदेशको भोगाइ र गाउँको सम्झनामा आधारित लोक गीत 'गूल्मी पाहाँदी मेरो गाऊ' बजारमा ल्याएका हुन्।

संक्षेपमा


  • परदेशको पीडा र गाउँको सम्झना समेटिएको गीत।
  • रुक्मिणी भट्टराईको शब्द र नवीनको संगीत।
  • भिडियोमा छन् गुल्मी र फिनल्यान्डका दृश्यहरू।

फिनल्यान्डमा बसोबास गर्ने नेपाली उद्यमी नवीन भट्टराईले आफ्नो नयाँ गीत ‘गुल्मी पाहाँदी मेरो गाउँ‘ सार्वजनिक गरेका छन्। उनकै स्वर र सङ्गीत रहेको उक्त गीतमा वैदेशिक रोजगारीका लागि घर छाड्न बाध्य नेपालीहरूको कथा छ।

गीतको शब्द रुक्मिणी भट्टराईले लेखेकी हुन्। गीतमा परदेसिएको एउटा युवाको पीडा र जन्म गाउँ प्रतिको मायालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

गुल्मी पाहाँदी मेरो गाउँ ,बिरानो झैँ भयो आजकल मै जन्मेको ठाउँ। …हिँडे पनि परदेशी बाटोमा, जन्मेको हुँ गुल्मीको माटोमा जस्ता शब्दहरू गीतमा समेटिएका छन्।

रोजगारीको खोजीमा बिदेसिएका युवाले गाउँमा रहेकी प्रेमिका र परिवारलाई छाड्दा भोगेको पिडा गीतको मुख्य केन्द्रमा छ। आफ्नो देश, गाउँ र साथीभाइको याद आए पनि घर फर्कन नसक्ने बिदेसिएका नेपाली युवाको बाध्यता गीतमा व्यक्त गरिएको छ।

म्युजिक भिडियोमा नेपालको गुल्मी र फिनल्यान्ड दुवै ठाउँका दृश्यहरू समावेश छन्। भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन्।

विज्ञापन
विज्ञापन सकियो

भिडियोमा स्वयं नवीन भट्टराई र जुना कार्कीले अभिनय गरेका छन्। दृश्यहरू करण चैसिर र फिनल्यान्डमै बस्ने राम केसीले खिचेका हुन्।

गीतका एरेन्जर कृष्ण केसी हुन् भने सम्पादन मनोज कार्कीले गरेका हुन्। गीत नवीन भट्टराईको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

भट्टराईले लोक संस्कृति र भाकालाई माया गर्ने भएकाले आफ्नो खुसीका लागि यो प्रस्तुति ल्याएको बताएका छन्। गाउँ र देशको मायाले गर्दा फरक सोचका साथ यो गीत तयार पारेको उनको भनाइ छ।

भट्टराईको गीत गुल्मी पाहाँदी मेरो गाउँ।

को हुन् भट्टराई?

नेपालको गुल्मीमा जन्मे हुर्केर विगत करिब दुई दशकदेखि फिनल्यान्डलाई कर्मथलो बनाइरहेका भट्टराई लामो समयदेखी नेपाली लोकसंगितको क्षेत्रमा सक्रिय छन्। विगतमा पनि विभिन्न गीतहरू सार्वजनिक गरेका भट्टराईको यो आठौँ प्रस्तुति हो।

गत जनवरीमा उनको चर्चित नेपाली लोक गायिका शान्तिश्री परियारसँग गाएको गीत जाम हिँड बम्बै सार्वजनिक भएको थियो।

भट्टराईले नेपालमा छँदै र युवा उमेर देखि नै गीत गाउन सुरु गरेका हुन्। आफ्नै गीत रेकर्ड गराएको चाहिँ करिब सात वर्ष अगाडी हो।

“विदेश आएको वर्षौँसम्म पनि नेपाली गीतमा के ले तानिरहन्छ? के कुराले गीत गाउन प्रेरित गर्छ?” नेपालीलाइनेनले भट्टराईलाई शान्तिश्री परियारसँग गाएको गीत सार्वजनिक भएपछि सोधेको थियो।

“नेपाली गीत-सङ्गीत हाम्रो पहिचान हो। हामी त्यही सुनेर, त्यही गाएर र त्यसैमा रमेर हुर्कियौँ,” भट्टराईले भनेका थिए। “त्यसको जगेर्ना गर्नु हाम्रो कर्तव्य पनि हो।”

“तर मुख्य कुरा चाहिँ विदेशमा हुर्किँदै गरेको हाम्रो नयाँ पुस्ताले नेपाली सङ्गीत सुनोस्। हाम्रा पनि गीतहरू छन् भन्ने थाहा पाओस्, र केही भए पनि त्यसमा रुचि राखोस् भन्ने हो,” भट्टराईले भनेका थिए। “यिनै कुराले मलाई नेपाली सङ्गीतमा सक्रिय हुन प्रेरित गरिरहन्छ।”

फिनल्यान्डमा लामो समय विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय रहेका भट्टराई अहिले पनि नेपाल लोकदोहोरी प्रतिष्ठान अन्तर्गत रहेको कलाकार कल्याणकारी कोषसँग आबद्ध छन्। उक्त कोषले समस्यामा परेका कलाकार र स्रष्टाहरूलाई सहयोग गर्छ।

उनी लोकदोहोरी प्रतिष्ठान युरोप महाशाखाका पूर्व उपाध्यक्ष र फिनिस नेपाली समाजका सल्लाहकार पनि हुन्।

यो पनि पढ्नुहोस्ः

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप