संक्षेपमा
- आप्रवासीले लामो समयसम्म फिनिस भाषा नसिकेकोमा पुर्राको आलोचना।
- सफल एकीकरणका लागि आप्रवासीकै आफ्नै पहल आवश्यक रहेको जिकिर।
- वर्तमान सरकारको कडा अध्यागमन नीतिको गरिन् बचाउ।
फिनल्यान्डकी अर्थमन्त्री तथा आप्रवासीहरुप्रति अनुदार मानिने फिन्स पार्टी अर्थात् पेरुस-सुओमालाइसेतकी अध्यक्ष रिक्का पुर्राले आप्रवासीहरुप्रति कडा टिप्पणी गरेकी छन्। उनले आप्रवासीको फिनिस भाषा सीप र एकीकरणको विषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राखेकी हुन्।
पुर्राका अनुसार यदि कोही व्यक्ति २० वर्षसम्म फिनल्यान्डमा बसेर पनि भाषा सिक्दैन भने त्यो प्रणालीको दोष होइन। उनले फिनिस समाज बहुभाषिक बन्दै गएको र आप्रवासीलाई विशेष व्यवस्था गरिएको भन्दै असन्तुष्टि जनाइन्।
एकीकरण हुन आप्रवासी आफैंले पहल गर्नुपर्ने उनको भनाइ छ। पहल नभएसम्म कल्याणकारी राज्यले दिने पैसा र सुविधाहरूले मात्र कुनै काम नगर्ने उनले बताइन्।
बहुभाषिक समाजले एकीकरणमा बाधा पुर्याउने पुर्राको तर्क छ। उनका अनुसार यस्तो वातावरणले आप्रवासीलाई फिनिस समाजमा भन्दा आफ्नै समुदायमा मात्र सीमित राख्ने जोखिम बढाउँछ।
यसका साथै उनले वर्तमान सरकारको अध्यागमन नीतिको बचाउ पनि गरिन्। सरकारको नीति नियम र दायित्वमा आधारित कडा अध्यागमन नीति भएको उनले स्पष्ट पारिन्।
यसले एकीकरणलाई बलियो बनाउने र राज्यको खर्च घटाउने उनको दाबी छ। तर उनको फेसबुक पोस्टको अन्तिम वाक्यले सबैभन्दा धेरै ध्यान तानेको छ।
“यदि यहाँको व्यवस्था मन पर्दैन भने, यो देश छाडेर जान सकिन्छ,” पुर्राले रुखो शैलीमा लेखेकी छन्।
पुर्रा फिनल्यान्डको दक्षिणपन्थी राष्ट्रवादी पार्टी पेरुस-सुओमालाइसेत की अध्यक्ष हुन्। उनको पार्टीले लामो समयदेखि फिनल्यान्डमा कडा अध्यागमन नीतिको वकालत गर्दै आएको छ।
हालको गठबन्धन सरकारले उनकै पार्टीको अग्रसरतामा आप्रवासीका लागि नागरिकता, स्थायी बसोबास र सामाजिक सुरक्षाका नियमहरु कडा बनाउँदै लगेको छ।
यो पनि पढ्नुहोस्








