विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

प्रविधिले फेर्‍यो संसार: फिनल्यान्डका सडकमा पनि छिट्टै गुड्ने छन् टेस्लाका स्वचालित कार

युरोपेली युनियन (इयु) को निर्णय आउनुअघि नै फिनल्यान्डले टेस्लाको 'फुल सेल्फ ड्राइभिङ' प्रणालीलाई अनुमति दिने तयारी गरेपछि यो सम्भावना देखिएको हो।

संक्षेपमा


  • टेस्लाको एफएसडी (FSD) प्रणालीलाई स्वीकृति दिनेबारे अनुसन्धान जारी।
  • अक्टोबरमा हुने इयुको मतदान अघि नै फिनल्यान्डले दिन सक्छ अनुमति।
  • चालकले स्टेयरिङ छोड्न मिल्ने, तर निरन्तर निगरानी भने अनिवार्य।

फिनल्यान्डको ताम्पेरेमा स्वचालित बस गुड्न थालेको समाचार त पढिसक्नु भयो होला। अब भने फिनल्यान्डका सडकमा छिट्टै टेस्ला कारहरू पनि चालकको प्रत्यक्ष नियन्त्रणविना नै गुड्न सक्नेछन्।

युरोपेली युनियन (इयु) को निर्णय आउनुअघि नै फिनल्यान्डको यातायात प्राधिकरण (ट्राफिकम) ले यसलाई अनुमति दिने तयारी थालेको समाचार यसै साता सार्वजनिक भएको हो।

ट्राफिकमले हाल टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी) सुपरभाइज्ड’ प्रणालीलाई फिनल्यान्डमा स्वीकृति दिने विषयमा अध्ययन गरिरहेको जनाएको छ

यद्यपि, यो पूर्ण रूपमा स्वचालित भने हुने छैन। चालकले गाडी चलिरहँदा सिटमा बसेर निरन्तर निगरानी गर्नु पर्नेछ।

आवश्यकता पर्दा गाडीको नियन्त्रण लिन चालक तयार हुनुपर्ने ट्राफिकमका विशेष विशेषज्ञ युक्का युहोलाले विज्ञप्तिमा बताएका छन्। यो प्रणालीले चालकको ध्यान गाडी चलाउनमा छ वा छैन भनेर पनि निगरानी गर्नेछ।

विज्ञापन
विज्ञापन सकियो

अरु देशमा के छ व्यवस्था?

गत अप्रिलमा नेदरल्यान्ड्सको यातायात प्राधिकरणले टेस्लाका स्वचालित कारलाई ससर्त अनुमति दिइसकेको छ।

नेदरल्यान्ड्सपछि डेनमार्क, बेल्जियम, लिथुआनिया र इस्टोनियाले पनि यो प्रणालीलाई अपनाइसकेका छन्। युरोपेली आयोगले सदस्य राष्ट्रहरूलाई इयु स्तरको मतदान अघि नै राष्ट्रिय स्वीकृति दिने छुट दिएको छ।

फिनल्यान्डले पनि ट्राफिकमको निर्णयमार्फत तत्काल स्वीकृति दिन सक्छ, तर अहिले सुरक्षा अनुसन्धान भइरहेको छ।

इयुका सदस्य राष्ट्रहरूबीच यो विषयमा आगामी अक्टोबरमा मतदान हुने कार्यक्रम छ।

यदि इयुमा यो प्रणाली अस्वीकृत भएमा भने राष्ट्रिय रूपमा दिइएका अनुमतिहरू ६ महिनाभित्र खारेज गर्नु पर्नेछ।

हाल फिनल्यान्डमा एफएसडी क्षमता भएका करिब ६,५०० टेस्ला कारहरू रहेको जनाइएको छ। गाडीमा सुविधा भएपनि सरकारी नीति नभएका कारण चालकहरूले उक्त सुविधा प्रयोग गर्न सकेका थिएनन्।

नेपालीलाइनेनले नेदरल्यान्ड्स, अस्ट्रेलिया, र अमेरिकी सहरहरुमा एफएसडी प्रयोग गरि चलाएका गाडीमा बसेर बनाइएका कैयौँ भिडियो हेरेको छ। ती भिडियोहरूमा ड्राइभरको सामान्य निगरानीमा र लगभग पूर्ण स्वचालित अवस्थामा एम्सटरड्यामजस्तो व्यस्त सडकमा पनि गाडी गुडाएको देखिन्छ।

अमेरिका र क्यानडामा प्रयोगमा आइसकेको यो प्रणालीमा गन्तव्य राखेपछि कार आफैँले क्यामेरा र नक्साको मद्दतले बाटो तय गर्छ।

चालकले स्टेयरिङबाट लामो समयसम्म हात हटाउन पाए पनि गाडीको गल्ती सच्याउन भने सतर्क हुनुपर्छ।

एम्सटरड्यामको व्यस्त सडकमा स्वचालित टेस्ला कार गुडाउँदै एक चालक।

फिनल्यान्डमा अटोपाइलट वा स्वचालित गाडीको प्रयोगसम्बन्धी सुरक्षा चुनौतीका समाचारहरू बेलाबेलामा आउने गरेका छन्।

गत वर्ष लाप्पेनरान्ताको राजमार्ग ६ मा एक मादक पदार्थ सेवन गरेका चालक अटोपाइलट अन गरेर स्टेयरिङमै निदाएको घटना समाचारमा आएको थियो। उक्त कारमा ‘लेन किप असिस्ट’ र ‘एडप्टिभ क्रुज कन्ट्रोल’ जस्ता सुविधाहरू मात्र थिए, जसले पूर्ण स्वचालित ड्राइभिङको सुविधा दिँदैनथ्यो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप