📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- भान्तामा ‘जनप्रतिनिधीसँग नेपालीलाइनेन’ कार्यक्रम सम्पन्न।
- शेखर आचार्य र सोइले एरिक्सनले गरे नेपाली समुदायसँग खुलस्त छलफल।
- सन् २०२७ को फिनिस संसदीय निर्वाचन र नगरका विकास परियोजनाबारे चर्चा।
फिनल्यान्डको भान्तास्थित कोइभुक्युलामा जनप्रतिनिधिसँग नेपालीलाइनेन कार्यक्रम अन्तर्गत नेपाली समुदाय र स्थानीय जनप्रतिनिधिबिच विशेष संवाद कार्यक्रम सम्पन्न भएको छ।
हिजो साँझ सम्पन्न कार्यक्रममा भान्ता सिटी काउन्सिलर तथा भान्ता-केराभा कल्याणकारी क्षेत्रका काउन्टी काउन्सिलर शेखर आचार्य र नगर परिषद तथा नगर बोर्ड सदस्य सोइले एरिक्सनसँग आप्रवासीका समस्या, स्थानीय विकास र भविष्यका योजनाबारे गहन छलफल भएको थियो।
एरिक्सन एसडीपी पार्टीका तर्फबाट फिनल्यान्डको आगामी संसदीय निर्वाचनमा सांसदकी उम्मेदवार समेत हुन्।
कार्यक्रमको पहिलो चरणमा नेपालीलाइनेनका प्रधान सम्पादक मनोज भुसालले काउन्सिलर आचार्यसँग संवाद गरेका थिए। छलफलमा आचार्यले भान्ता सिटी काउन्सिल र भान्ता-केराभा कल्याणकारी क्षेत्रमा बिताएको एक वर्षे अनुभव तथा नगर परिषद्को क्षेत्राधिकारबारे जानकारी गराएका थिए।
भान्ताको वार्षिक बजेट, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र रोजगारीको अवस्थाबारे बोल्दै आचार्यले आप्रवासीहरूले सामना गरिरहेका प्रमुख समस्याहरूका बारे पनि उजागर गरेका थिए।
“नेपाली समुदायमा खास गरि विद्यार्थीहरू अफ्ठेरोमा परेका छन्,” आचार्यले कार्यक्रममा भने। “मैले हरेक साता प्राप्त गर्ने फोन कलहरुमा इमिग्रेसन क्षेत्रका र त्यसमा पनि डिपोर्टेसन सम्बन्धी समस्या र बेरोजगारीका समस्या धेरै सुन्ने गरेको छु।”
नेपाली समुदायका लागि फिनल्यान्डमा आफ्नै सतगत वा अन्तिम संस्कार गर्ने स्थान निर्माणका लागि आफूले गरिरहेको पैरवी र त्यसको आवश्यकताबारे उनले प्रस्ट पारेका थिए।
फिनल्यान्डका मूलधारका मिडियामा भान्तालाई अलि गरिब र आप्रवासीले भरिएको नगरका रूपमा चित्रित गरिने विषयमा पनि संवाद भएको थियो।
“हेलसिन्की र एस्पोजस्ता सहरको नजिकै हुँदा भान्ता अलि गरिब र कमजोर देखिएको होला,” आचार्यले भने। “तर नगरपालिकाले निकै ठुला पूर्वाधारमा लगानी पनि गरिरहेको छ, र आर्थिक अवस्था सुधार्ने अरू प्रयास पनि जारी छन्।”
आचार्यले भान्ता ट्राम, भान्ता एरिना, र भान्तालाई हेलसिन्कीमा गाभ्ने प्रस्ताव लगायतका विषय र तिनका विवादबारे आफ्ना धारणा राखेका थिए।
नगर परिषद् बैठकहरूमा देखिने रङ्गभेदी भाषा र व्यवहारबारे सोधिएको प्रश्नमा उनले अन्य पार्षद्हरूसँग आफ्नो राम्रो सम्बन्ध रहे पनि आप्रवासनको मुद्दालाई राजनैतिक विषय बनाएर चर्का भाषण गर्ने प्रवृत्ति देखिएको बताएका थिए।
फिनल्यान्डको आर्थिक परिदृश्य, नेपाली राजनीतिक संस्कृति र फिनिस राजनीतिक प्रणालीबिचको भिन्नताबारे पनि आचार्यले चर्चा गरेका थिए।
संवादपछि टिप्पणीकर्ता नीराजन थापाले छलफलका विषयमा आफ्नो टिप्पणी प्रस्तुत गरेका थिए। उनले संवाद समग्रमा राम्रो रहे पनि स्थानीयका स-साना दैनिक जीवनका समस्याहरू र फिनल्यान्डमा हुर्किरहेको नेपाली दोस्रो पुस्ताका बारेमा पनि विमर्श केन्द्रित रहेको भए अझै उत्तम हुने बताएका थिए।
कार्यक्रमको अन्तिम सत्रमा सहभागीहरूले चिया/कफी पिउँदै जनप्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट र अनौपचारिक कुराकानी गर्ने अवसर पाएका थिए।
पैसाभन्दा प्राथमिकतामा समस्या: नेतृ एरिक्सन
कार्यक्रमको दोस्रो चरणमा नेपाली समुदायसँग अन्तर्क्रिया गरेकी भान्ता सिटी काउन्सिलर तथा नगर बोर्ड सदस्य सोइले एरिक्सनले फिनल्यान्डको अर्थ राजनैतिक परिदृश्य र बदलिँदो राजनैतिक वास्तविकताबारे बोलेकी थिइन्।

“पैसा छैन भनेर स्वास्थ्य र सामाजिक क्षेत्रमा बजेट काटिएको छ। तर जब व्यावसायिक अनुदानहरू दिनुपर्छ, पैसा भेटिन्छ,” उनले भनिन्। “हामीलाई यो खाले राजनैतिक स्वीकार्य छैन, र हामी परिवर्तन चाहन्छौँ।”
आफ्नो पुरै जीवन भान्तामा बिताएको बताएकी उनले भान्तालाई हेलसिन्कीमा गाभ्ने प्रस्तावको पनि आफू खरो समर्थक नभएको प्रस्ट पारेकी थिइन्।
“फिनल्यान्डको हिसाबमा हेर्दा भान्ता पहिल्यै नै ठुलो नगरपालिका हो,” उनले भनिन्। “हेलसिन्कीले के चाहन्छ प्रस्ट छैन। भान्तालाई खालि औद्योगिक क्षेत्र बनाउने हिसाबले एकीकरण गरिने हो भने त्यो स्वीकार्य छैन।”
नेतृ एरिक्सनलाई सहभागीहरूले भान्ताको सुरक्षा अवस्था, विद्यालयहरूको अवस्था, लागु औषध प्रयोगकर्ताको वृद्धिले स्थानीय क्षेत्रमा पुर्याएको समस्या, समुदाय सरसफाइको सम्भाव्यता र राजनैतिक नेतृको रूपमा उनले प्राप्त गर्ने घृणाका मेसेजहरू लगायतका अनेकौँ विषयमा प्रश्न गरेका थिए।
आगामी फिनिस संसदीय निर्वाचनका लागि एसडीपी पार्टीकी उम्मेदवार समेत रहेकी एरिक्सनले भान्ताको समृद्धि, आप्रवासीको एकीकरण, फिनल्यान्डको आर्थिक पुनरुत्थान लगायतका विषयमा आफ्नो धारणा राखेकी थिइन्।
कार्यक्रमको अन्तिम सत्रमा सहभागीहरूले चिया/कफी पिउँदै जनप्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट र अनौपचारिक कुराकानी गर्ने अवसर पाएका थिए।
कार्यक्रममा उपस्थित धेरैले फिनल्यान्डका नेपालीहरूलाई स्थानीय नीति निर्माणकर्तासँग जोड्न जनप्रतिनिधिसँग नेपालीलाइनेनको अवधारणा ल्याई प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गरेकोमा नेपालीलाइनेनलाई धन्यवाद दिएका थिए।
हेर्नुहोस् तस्विरमा।





यो पनि पढ्नुहोस्ः








