विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

मिग्री भन्छ-फिनल्यान्डमा वन क्षेत्रको काम जोखिमपूर्ण, नेपालीको सङ्ख्या भने बढेको बढै

फिनल्यान्डको अध्यागमन विभागले वन तथा काठ कटानी क्षेत्रलाई मानव बेचबिखन र श्रम शोषणको उच्च जोखिमपूर्ण क्षेत्रका रूपमा लिएको बताएको छ।

.संक्षेपमा.


  • वन क्षेत्रमा काम गर्न आउने नेपालीको संख्या गत वर्षको तुलनामा ह्वात्तै बढ्यो।
  • नेपाल फिनल्यान्ड प्रवेश गर्ने अवैध आप्रवासनको प्रमुख स्रोत मुलुकमध्ये एक।
  • दलालले मोटो रकम असुल्ने र झूटो बोल्न सिकाउने प्रवृत्ति व्याप्त।

फिनल्यान्डको अध्यागमन विभाग (Migri) का अनुसार यो वर्ष वनसम्बन्धी कामका लागि नेपालबाट आउने मानिसहरूको संख्या अघिल्ला वर्षहरूको तुलनामा कैयौँ गुनाले बढेको छ।

विभागका सूचना सेवा निर्देशक योहान्नेस हिर्भेलाले फिनिस समाचार एजेन्सी STT लाई बताए अनुसार वन क्षेत्र र काठ कटानी कामदारमाथि हुने शोषण र मानव बेचबिखनको जोखिमपूर्ण क्षेत्र हो।

फिनल्यान्डको वन क्षेत्रमा काम गर्ने भनेर ल्याइएका दर्जनौँ नेपालीहरू ठगिएको र अलपत्र पारिएको विषयमा नेपालीलाइनेनले लेख्दै आएको छ। उक्त विषयले अहिले फिनिस प्रेसमा पनि उच्च प्राथमिकता पाएको छ। उक्त प्रकरणमा मुछिएको एक कम्पनीले आफ्नो वेभसाइट समेत नेपालीमा बनाएको थियो।

हिर्भेलाका अनुसार पछिल्लो समय वन क्षेत्रमा काम गर्न आउनेको लर्को लागेको छ। गत वर्ष केही दर्जन मात्र नेपाली यो काममा आएका थिए भने यो वर्ष एक सयभन्दा बढी आइसकेका छन्।

नेपालबाहेक भियतनाम र थाइल्यान्ड जस्ता अन्य एसियाली देशबाट पनि वन क्षेत्रमा कामदारहरू आउने गरेका छन्।

विज्ञापन
विज्ञापन सकियो

हिर्भेलाले नेपाललाई फिनल्यान्डमा हुने अवैध आप्रवासनको एक प्रमुख स्रोत मुलुक भएको समेत बताएका छन्। यो समस्या सबै प्रकारका आवासीय अनुमति आवेदनमा देखिएको उनको भनाइ छ।

अध्यागमन विभागले अहिले सरकारी निकायहरूबीच सूचना आदानप्रदानलाई तीव्र बनाएको छ। विशेष गरी परराष्ट्र मन्त्रालयको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले दूतावासहरूमा आवेदकको अन्तर्वार्ता लिइने पनि STT लाई बताएका छन्।

अन्तर्वार्ताका क्रममा आवेदकलाई आफू गर्न लागेको काम र त्यसको सेवा–सुविधाबारे कत्तिको जानकारी छ भनेर जाँच गरिनेछ।

युरोप छिर्ने चाहना राख्ने मानिसहरूको संख्या ठूलो भएकाले यो समस्या निम्तिएको मिग्रीको बुझाई छ।

दलालले असुल्छन् मोटो रकम

काम पाउनका लागि दलाललाई मोटो रकम बुझाउने समस्या एसियाली देशहरूमा निकै व्याप्त रहेको हिर्भेलाले बताएका छन्।

“त्यहाँ धेरै एजेन्ट र बिचौलियाहरू सक्रिय छन्, जसलाई नियन्त्रण गर्न गाह्रो छ,” हिर्भेला भन्छन्।

दलालहरूले भिसा अन्तर्वार्तामा ‘कुनै एजेन्ट प्रयोग नगरेको’ र ‘पैसा नतिरेको’ भन्न आवेदकलाई पहिल्यै सिकाएका हुन्छन्। यद्यपि वास्तविकता भने बेग्लै हुने गर्छ।

युरोप छिर्ने चाहना राख्ने मानिसहरूको संख्या ठूलो भएकाले यो समस्या निम्तिएको मिग्रीको बुझाई छ। आप्रवासनको उच्च चापले गर्दा यो एक निरन्तर चलिरहने ‘प्रतिस्पर्धा’ जस्तै बनेको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप