संक्षेपमा
- फिनल्यान्डमा शतप्रतिशत भिसाको प्रलोभन देखाएर ३१ लाख १५ हजार रुपैयाँ ठगेको आरोप।
- डिल्लीबजारस्थित भद्रकाली अब्रोड स्टडीका २९ वर्षीय सञ्चालक पक्राउ।
- बिना अनुमति भाषा कक्षा सञ्चालन र झुटा बहानामा रकम फिर्ता नगरेको प्रहरीको दाबी।
फिनल्यान्ड पठाइदिने भन्दै पाँच जना युवालाई ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले काठमाडौं डिल्लीबजारस्थित भद्रकाली कन्सल्टेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाए अनुसार पक्राउ पर्नेमा भद्रकाली अब्रोड स्टडी प्रालिका २९ वर्षीय सञ्चालक हुन्।
प्रहरीका अनुसार आरोपितले पीडितहरूलाई फिनल्यान्डमा आकर्षक तलब र उज्ज्वल भविष्यको प्रलोभन देखाएका थिए। उनले शतप्रतिशत भिसाको ग्यारेन्टी दिँदै पीडितहरूबाट कुल ३१ लाख १५ हजार ८७ रुपैयाँ उठाएको प्रहरीको प्रेस विज्ञप्तीमा उल्लेख छ।
गत डिसेम्बरमा उक्त कन्सल्टेन्सीले १५ विद्यार्थीलाई फिनल्यान्ड पठाउने भन्दै ठगी गरेको भन्दै विद्यार्थीको एउटा समुहले त्यो बेलाका शिक्षा मन्त्री डा. महावीर पुन समक्ष सहयोगको याचना गर्दै उजुरी हालेका थिए। उक्त उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB), काठमान्डौँ स्थित फिनिस राजदूतावास, शैक्षिक परामर्शदाताहरूको छाता सङ्गठन ई-क्यान, र नेपालीलाइनेनलाई समेत पठाइएको थियो।
नेपालीलाइनेनले उक्त समाचार प्रकाशन गरेपछि आरोपित कन्सल्टेन्सीका सञ्चालकहरूले पटक-पटक सम्पर्क गरी समाचार हटाउन दबाब दिएका थिए। समाचार नहटाए नेपालको साइबर ब्युरोमा उजुरी दिने र समाचार लेख्ने पत्रकारलाई ४८ घण्टाभित्र नेपाल ‘डिपोर्ट’ गराउने धम्की समेत दिएका थिए।
समाचार नहटाएपछि उनीहरूले नेपालीलाइनेनविरुद्ध फिनिस प्रेस काउन्सिलमा उजुरी दिएका थिए। नेपालीलाइनेनले उक्त समाचार तयार गर्दा पत्रकारिताका सबै मान्य सिद्धान्त पालना गरेको विस्तृत जानकारी सहितको जवाफ काउन्सिललाई दिएको थियो।
नेपालीलाइनेनलाई प्राप्त जानकारी अनुसार उनीहरूले पीडित विद्यार्थीहरू विरुद्ध समेत अदालतमा मुद्दा हालेका थिए।
फिनल्यान्ड आउन उक्त कन्सल्टेन्सीको सेवा प्रयोग गर्ने नेपालीहरुको संख्या ठुलो छ।
नेपालीलाइनेनलाई प्राप्त जानकारी अनुसार उनीहरूले पीडित विद्यार्थीहरू विरुद्ध समेत अदालतमा मुद्दा हालेका थिए।
यसो भन्छ प्रहरी
काठमाडौं प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले विद्यार्थीहरूलाई शतप्रतिशत भिसाको सपना देखाई विदेशी विश्वविद्यालयमा रकम जम्मा गर्न लगाएको अनुसन्धानमा खुलेको हो। साथै नेपाल सरकारसँग अनुमति नलिई भाषा कक्षासमेत सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ।
विद्यार्थीलाई भाषा परीक्षामा सहभागी गराएर ‘अनुत्तीर्ण भएको’ झुटो बहाना बनाई पैसा फिर्ता नगरेको प्रहरीले उल्लेख गरेको छ।
लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडितहरूले पक्राउ परेका व्यक्तिविरुद्ध उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनलाई २०८३ वैशाख २ गते काठमाडौंको वडा नम्बर २९ बाट पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्ति रौतहटका स्थायी बासिन्दा हुन्। उनलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी रामेश्वर कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नेपालीलाइनेनबाट थपः





