संक्षेपमा
- पछिल्लो समय नेपालीहरूको भिसा अस्वीकृत हुने दरमा उल्लेख्य वृद्धि।
- सन् २०२६ मा हालसम्म कुल ७५८ आवेदनमध्ये २०१ अस्वीकृत।
- विद्यार्थी र पारिवारिक सम्बन्धका आधारमा पठाइएका आवेदनमा बढी कडाइ।
फिनल्यान्ड आउन चाहने नेपाली नागरिकहरूको पहिलो रेसिडेन्स परमिट (भिसा) स्वीकृत हुने दरमा पछिल्ला महिनाहरूमा व्यापक गिरावट आएको छ।
फिनिस आप्रवासन विभाग मिग्रीको पछिल्लो तथ्याङ्क अनुसार नेपालीहरूको आवेदन अस्वीकृत हुने दर प्रतिशतका हिसाबमा करिब-करिब अफगानिस्तान, इराक र सिरियाजस्ता देशका नागरिकको लेभलमा पुगेको छ।
यो गणनामा फिनल्यान्ड आइसकेर दोस्रो/तेस्रो पटकका लागि रेसिडेन्ट परमिट नवीकरण गर्नेको तथ्याङ्क भने समावेश छैन।
सन् २०२१ मा तत्कालीन सान्ना मारिन सरकारले खास गरि विदेशी विद्यार्थीका लागि नीति खुकुलो बनाएपछि नेपालीहरूको भिसा स्वीकृति दर उच्च रहने गरेको थियो।
तर फिनल्यान्डमा विदेशी विद्यार्थीहरूले भोगिरहेको आर्थिक सङ्कट लगायतका विषय लगातार समाचारको विषय बनेपछि अहिले यो ‘ट्रेन्ड’ उल्टिएको देखिएको छ।
सन् २०२६ को हालसम्मको तथ्याङ्क हेर्दा कुल ७५८ नेपालीले पहिलो रेसिडेन्स परमिटका लागि आवेदन दिएका छन्। जसमा ४६५ जनाले सकारात्मक र २०१ जनाले नकारात्मक निर्णय पाएका छन्। ९२ जनाले आवेदन बिचैमा फिर्ता लिएका छन्।
मिग्रीको निर्णय आउन ढिलाइ लगायतका कारण बिचैमा आवेदन फिर्ता लिने नेपाली आवेदकहरूको सङ्ख्या गत वर्ष र यो वर्ष उच्च रहेको देखिन्छ। पहिलेका वर्षहरूमा आवेदन फिर्ता लिनेको सङ्ख्या निकै न्यून हुने गर्थ्यो।
यो वर्ष कुल आवेदकमध्ये करिब ६१% प्रतिशतले मात्र सकारात्मक निर्णय पाएको देखिन्छ, जबकि सन् २०२५ को सफलता दर ८४.८% र सन् २०२४ को ९५.२% रहेको थियो।
यो वर्ष विद्यार्थी भिसातर्फ कुल ४८० आवेदनमध्ये ३१२ स्वीकृत र ८७ अस्वीकृत भएका छन्।
यो वर्ष पारिवारिक सम्बन्ध/डिपेन्डेन्टका आधारमा दिइएका १९२ आवेदनमध्ये १०३ स्वीकृत र ७८ अस्वीकृत भएका छन्। रोजगारमा आधारित ८५ आवेदनमध्ये भने ५० स्वीकृत र ३५ अस्वीकृत भएका छन्।
विगतका वर्षहरूको तुलनामा यो अस्वीकृति दर निकै बढी हो। सन् २०२४ मा कुल २ हजार ८४१ आवेदन परेकोमा मात्र १३१ अस्वीकृत भएका थिए।
त्यस्तै, सन् २०२५ मा कुल ३ हजार ५ आवेदनमध्ये ३५६ वटा आवेदन मात्र अस्वीकृत सूचीमा परेका थिए। सन् २०२३ मा पनि १ हजार ९२५ आवेदनमा १४१ वटामा मात्र नकारात्मक निर्णय आएको थियो।
फिनल्यान्डमा बस्ने नेपाली आप्रवासीहरूका लागि यो बदलिँदो नीति र तथ्याङ्क चासोको विषय बनेको छ। सन् २०२१ यता फिनल्यान्डलाई सुरक्षित र सहज गन्तव्य मानेर फिनल्यान्डका विभिन्न सहरमा आउने नेपाली विद्यार्थी र कामदारको सङ्ख्या ठुलो थियो।
तर पछिल्लो समय यहाँ बढेको आर्थिक मन्दी र महँगीका कारण धेरै विदेशी विद्यार्थीहरूले काम नपाएर आर्थिक अभाव झेल्नुपरेको छ। यही वित्तीय सङ्कट र कडा पारिएको आप्रवासन नीतिका कारण भिसा स्वीकृति दर पनि घटेको आकलन गर्न सकिन्छ।
फिनल्यान्डबाट पढाई बिचमै छाडेर नेपाल वा अन्य मुलुक जाने वा ‘डिपोर्ट’ समेत गरिएका घटनाहरू समेत पछिल्लो समय सुनिँदै आएका छन्। आर्थिक स्रोत जुटाउन सक्नेहरूका लागि भने फिनल्यान्ड अहिले पनि आकर्षक शैक्षिक गन्तव्य मानिन्छ।
यो पनि पढ्नुहोस्



![हेलसिन्कीमा नव-नाजी समूह र प्रदर्शनकारीबिच झडप, पाँच पक्राउ [भिडियो सहित]](https://nepalilainen.fi/wp-content/uploads/2026/05/sini-musta-liike-police-protests-helsinki-324x235.webp)




