📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Goसंक्षेपमा
- पूर्वी फिनल्यान्डको कुहमो क्षेत्रमा जंगली बेरी टिप्ने आप्रवासीको बाक्लो उपस्थिति।
- बाहिरका कामदारलाई भिसा नदिँदा जङ्गलमा प्रशस्त बेरी।
- आम्दानी सन्तोषजनक तर लामखुट्टेको दियो अत्यधिक सास्ती।
फिनल्यान्डको रोजगार अवस्थामा सुधार नआएका कारण अहिले धेरै आप्रवासीहरू बेरी टिप्ने काममा लागेका छन्।
पूर्वी फिनल्यान्डको कुहमोमा रहेको स्थानीय पत्रिका कुहमोलाइनेनका अनुसार कुहमोमा बेरी टिप्न जानेमा योएन्सुमा बस्ने नेपालीदेखि लिएर विभिन्न देशका नागरिकहरू सहभागी छन्।
पत्रिकाका अनुसार कुहमोको यामासस्थित पुरानो केयर होम आसपासमा अहिले विदेशीहरूको चहलपहल बढेको छ। त्यहाँ बेरी टिप्न गएका आप्रवासीहरूलाई राखिएको छ।
योएन्सुबाट त्यहाँ पुगेका एक नेपालीले आफ्नो अनुभव सकारात्मक रहेको उक्त पत्रिकालाई बताएका छन्। तुर्कुमा पढेका पाकिस्तानका जाइबशाह र जाइघुमको भनाइ पनि उस्तै छ।
काम र कमाइका हिसाबले कुहमोको अनुभव राम्रो भए पनि लामखुट्टेले भने धेरै सताएको उनीहरुको गुनासो छ।
पहिलो पटक बेरी टिप्दै गरेका उनीहरूले आम्दानी ठीकै भए पनि भविष्यमा भने सकेसम्म अरु नै काम खोज्ने उक्त पत्रिकलाई बताएका छन्।
त्यहाँ बेरी टिप्न आएका नेपाली, भारतीय, श्रीलङ्काली, बङ्गलादेशी र नाइजेरिएनहरू सँगै बसेका छन्।
यो वर्ष फिनल्यान्डले विदेशी बेरी टिप्ने कामदारलाई निकै कम मात्र भिसा दिएको थियो। त्यसैले जङ्गलमा प्रशस्त बेरी रहेको तर कामदार नपुगेको समाचार आइरहेका छन्।
कोउभोलाको एक कम्पनीमार्फत उनीहरू त्यहाँ पुगेका हुन्। कम्पनीका अनुसार यो सिजनमा करिब ५० जना बेरी टिप्नेहरू त्यहाँ खटाइएका छन्।
फिनल्यान्डमा विगतका वर्षहरूमा समरका बेला थाइल्यान्ड लगायतका देशबाट सयौँको संख्यामा विदेशी कामदारहरू बेरी टिप्न आउने गर्थे। तर पछिल्लो समय मानव बेचबिखन र श्रम शोषणका घटनाहरू बाहिरिएपछि सरकारले यस वर्ष बाहिरबाट आउने कामदारहरूलाई भिसा दिन निकै कडाइ गरेको छ।
यसै कारणले गर्दा हाल फिनल्यान्डमै रहेका विदेशी विद्यार्थी तथा आप्रवासीहरूले जङ्गलमा बेरी टिप्ने र आम्दानी गर्ने अवसर पाएका हुन्।
यो पनि पढ्नुहोस्ः








